माओवादी र एकीकृत समाजवादीसहित आठ दलको एकता घोषणा सभा आज

पार्टी एकतामा फरक मत राख्दै एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले विराट वाम एकताको अभियान सुरु गर्ने भन्दै पत्रकार सम्मेलन राखेका छन् भने रामकुमारी झाँक्री र किसान श्रेष्ठले पनि अलग-अलग पत्रकार सम्मेलन आयोजना गरेका छन्।

कार्तिक १९, २०८२

गंगा बीसी

Eight parties, including the Maoists and Unified Socialists, to hold unity declaration meeting today

काठमाडौँ — नेपालका कम्युनिस्ट पार्टीहरूमा ध्रुवीकरण र टुटफुटको श्रृङ्खला तीव्र भएको छ। नेकपा एमालेबाहेक माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टी लगायत साना कम्युनिष्ट दलहरूमा धुर्वीकरण र टुटफुट जारी छ। जेन-जी आन्दोलनपछि पार्टीहरूको पुनर्गठन अभियानसँगै कम्युनिष्ट पार्टीहरूमा तीव्र विवाद र योसँगै यसअघि विभाजन भएका पार्टीहरूको एकताको श्रृंखला नै चलेको छ।

माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत साना आठ दलको आज काठमाडौँको भृकुटी मण्डपमा एकता घोषणा कार्यक्रम हुँदैछ। उनीहरूले पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी र चुनाव चिन्ह तारा राख्ने सहमति गरेका छन् । नयाँ भन्ने पार्टीको संयोजकमा पुष्पकमल दाहाल र सहसयोजकमा माधवकुमार नेपाल रहने तय भएको छ। 

एकता घोषणा भएपछि उनीहरूले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने तयारी गरेका छन्। उता एकता घोषणा कार्यक्रम भइरहेको बेला माओवादीबाट अलग भएको जनार्दन शर्मा समूहले पारदर्शी नेपाल नामको अभियान सुरु गरेको छ भने नेकपा एकीकृत समाजवादीबाट अलग भएका महासचिव घनश्याम भुसालले आजै पत्रकार सम्मेलन गरी विराट वाम एकताको अभियान सुरु गर्न लागेका छन् ।

त्यस्तै, नेकपा यसबाट अलग भएकी नेता रामकुमारी झाँक्री र पूर्व सांसद किसान श्रेष्ठ लगायतले छुट्टै पत्रकार सम्मेलन गरी एमालेमा जाने जानकारी गराउन लागेका छन् । भुसाल र झाँक्री पक्षको छुट्टाछुट्टै पत्रकार सम्मेलन आयोजना हुन लागेको छ। नेकपा एसका वरिष्ठ नेता झलनाथ खनालले मङ्गलबार बेलुका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी छलफल गरेका छन्।

छलफलमा ओलीले एमालेमा प्रवेश गर्न ढोका खुल्लै भएपनि कुनै शर्त लागू नहुने जानकारी दिएका छन्। खनालले एमालेले बहुदलीय जनवाद छोड्नुपर्ने लगायतका शर्त राखेर एमालेमा प्रवेश गर्ने संकेत गरेका थिए।

गंगा बीसी

Link copied successfully