पार्टीले आगामी ६ महिनाभित्र महाधिवेशन गर्नेछ भने करिब एक हजार केन्द्रीय सदस्य रहने छन् । नवगठित पार्टीको चुनाव चिह्न ‘पाँच कुने तारा’ हुनेछ ।
काठमाडौँ — माओवादी, एकीकृत समाजवादी र अन्य साना वाम घटकबीच एकता भएको छ । १० वामपन्थी दल एकीकृत भई ‘नेपाली कम्युनिस्ट पार्टी’ घोषणा भएको हो । बुधबार काठमाडौंको भृकुटीमण्डपमा भएको ‘एकता महाधिवेशन’ ले पार्टी संयोजकमा पुष्पकमल दाहाल र सहसंयोजकमा माधवकुमार नेपाललाई चयन गरेको छ । यसअघि दाहाल माओवादीका संयोजक र नेपाल एकीकृत समाजवादीका अध्यक्ष थिए ।
आगामी ६ महिनाभित्र महाधिवेशन गर्ने तय भएको यो पार्टीमा करिब एक हजार केन्द्रीय सदस्य रहनेछन् । एकतापछि माओवादीले ‘माओवाद’, चुनाव चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’ र समाजवादीले चुनाव चिह्न ‘कलम’ छाडेका छन् । नवगठित पार्टीको चुनाव चिह्न सुभाषराज काफ्लेले निर्वाचन आयोगमा दर्ता गरिसकेको जनसमाजवादी पार्टीको ‘पाँच कुने तारा’ लिइएको छ ।
पार्टीको नामको विकल्पमा नेकपा (समाजवादी) थियो । निर्वाचन आयोगसँग परामर्श गरेपछि ‘नेपाली कम्युनिस्ट पार्टी’ राख्ने निर्णय भएको सचिवालय सदस्य वर्षमान पुनले बताए । ‘पार्टीको नाम दर्ताका लागि निवेदन दिइसकेका छौं,’ उनले भने, ‘विगतमा नेपाल कम्युनिस्ट पार्टी बनाउँदा निर्वाचन आयोगले नेपाली कम्युनिस्ट पार्टी लेख्दा ठीक हुने सुझाव दिएको थियो । त्यही सुझावलाई सम्झेर नाम चयन गरेका हौं ।’
आयोग स्रोतले नवगठित पार्टीका प्रतिनिधिले कानुन शाखामा परामर्श गरेको जनायो । ‘आयोगमा नेपाल कम्युनिस्ट नाम भएका साढे एक दर्जन पार्टी दर्ता छन् । हुबहु नाम मिलेको अवस्थामा नाम दिन मिल्दैन,’ स्रोतले भन्यो । पुनले नवगठित दलको नाम आयोगमा दर्ता नभएको दाबी गरे ।
माओवादी र एमालेबीच जेठ २०७५ मा एकता हुँदा ‘नेपाल कम्युनिस्ट पार्टी’ गठन भएको थियो । तर सर्वोच्च अदालतले फागुन २०७७ मा पहिले नै ऋषि कट्टेलको नाममा उक्त नामको पार्टी आयोगमा दर्ता भइसकेको जनाउँदै एमाले र माओवादीलाई अलग गरिदिएको थियो । हाल ‘नेपाल कम्युनिस्ट पार्टी’ लोकनारायण सुवेदीको नाममा आयोगमा दर्ता छ ।
युवाको चाहना, सपना, आवश्यकतालाई बेवास्ता गरी निजी स्वार्थका लागि भएको एकताको अर्थ छैन, यो एकता आत्मरतिबाहेक केही होइन : बाबुराम भट्टराई, माओवादीका पूर्वउपाध्यक्षएकतामा आएको मुख्य दल माओवादी २०५१ मा गठन भएको थियो भने समाजवादी २०७८ मा एमालेबाट विभाजन भई बनेको थियो । अन्य पूर्वमाओवादी पृष्ठभूमि भएका साना दल छन् । एकतामा तत्कालीन माओवादी सचिवालय सदस्यद्वय जनार्दन शर्मा र राम कार्की, समाजवादीका महासचिव घनश्याम भुसाल, उपाध्यक्ष घनेन्द्र बस्नेत, स्थायी कमिटी सदस्य रामकुमारी झाँक्री आएनन् । शर्मा र भुसालले बृहद् वाम एकता अभियान घोषणा गरेका छन् भने झाँक्री एमालेमा फर्कने तयारीमा छिन् ।
माओवादीका पूर्वउपाध्यक्ष बाबुराम भट्टराईले यो एकता ‘आत्मरति’ का लागि भएको उल्लेख गर्दै मुलुकलाई निकास नदिने टिप्पणी गरे । ‘आम जनता विशेष गरी युवाको चाहना, सपना, आवश्यकतालाई बेवास्ता गरी निजी स्वार्थका लागि भएको एकताको अर्थ छैन,’ उनले भने, ‘यो एकता आत्मरतिबाहेक केही होइन ।’
एकतापछि संयोजक दाहालले जिम्मेवारी बढेको बताए । ‘१० घटकले मलाई संयोजकका रूपमा ठूलो भारी, जिम्मेवारी दिनुभएको छ,’ उनले भने, ‘अब एकढिक्का भएर देशको चुनौती सामना गर्न सक्छौं भन्ने विश्वास पैदा भएको छ ।’ नयाँ पार्टीले नयाँ ढंगले मुलुकको समस्या समाधान गर्ने उनले बताए ।
१० वाम घटकले मलाई संयोजकका रूपमा ठूलो जिम्मेवारी दिनुभएको छ, अब एकढिक्का भएर देशको चुनौती सामना गर्न सक्छौं भन्ने विश्वास छ: पुष्पकमल दाहाल, संयोजक, नेपाली कम्युनिस्ट पार्टीउनले नयाँ राष्ट्रिय एकता र राष्ट्रिय स्वाधीनताको आधार तयार पार्ने जनाए । ‘जेन–जी आन्दोलनले विशेष परिस्थिति खडा गर्यो । नेपालको इतिहासमा यति ठूलो राष्ट्रिय संकट कहिल्यै पैदा भएको थिएन । संकटबाट देश जोगाउने जिम्मा दलहरूको हो,’ उनले भने, ‘कम्युनिस्टहरू देशभक्त रहँदै आएका छन् । अब कम्युनिस्ट एक भएर नयाँ राष्ट्रिय अभियान चलाएर वैदेशिक चलखेल रोक्नुपर्नेछ । त्यसको सुरुवात यहाँबाट गरिएको छ ।’
उनले विगतको गल्ती सच्याएर अघि बढ्ने जनाए । ‘एक नम्बर पार्टी बन्न कसैले रोक्न सक्दैन । अब एक नम्बर भयो भयो,’ दाहालले भने । आगामी महाधिवेशनमा विधि स्थापना गरेर नेतृत्व हस्तान्तरण गर्ने पनि उनले जनाए ।
सहसंयोजक माधवकुमार नेपालले विगतका गल्ती समीक्षा गरी नयाँ पार्टी बनाएको बताए । ‘अग्निपरीक्षा सुरु भएको छ । विश्वास दिलाउन सक्नुपर्छ । पुरानै रूपको पार्टी होइन,’ उनले एकता सभामा भने, ‘पुराना पार्टीहरूमा रहेका कमीकमजोरीबाट मुक्त भएर, समीक्षा गरेर सुधारेर नयाँपन दिएर, रूपान्तरणको अगुवा भएर क्रान्तिकारी चरित्र भएको पार्टी बनाएका छौं ।’
एक दिनअघिसम्म एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गरेका नेता झलनाथ खनाल माओवादीसँग एकतामा सहभागी भएका छन् । ‘गल्ती–कमजोरी नसच्याए फेरि त्यही अवस्था आउन सक्छ । नयाँ ढंगले सोचौं,’ खनालले भने, ‘सम्पूर्ण कम्युनिस्टको साझा आधार पहिल्याएर अघि बढौं । एउटा कम्युनिस्टले अर्कोलाई गाली गर्न बन्द गरौं । नीतिगत संघर्ष गरौं ।’ बुधबार बिहान अध्यक्ष पुष्पकमल दाहालसँग वार्ता गरी उनी एकता प्रक्रियामा सहभागी हुने निष्कर्षमा पुगेका थिए । उनी नवगठित पार्टीमा तेस्रो वरीयतामा छन् ।
नेता नारायणकाजी श्रेष्ठले एकताले ऐतिहासिक अभिभारा बोकेको बताए । ‘एकीकृत पार्टीले नेपाल समाजवादी क्रान्ति पूरा गर्नुपर्नेछ,’ उनले भने, ‘नेपाली विशेषतासहित समाजवाद स्थापना गर्न प्रतिबद्धता गर्नुपरेको छ । यो लक्ष्य घोषणा गरेर मात्र होइन, मूल कार्यनीति पूरा गर्नुपर्नेछ ।’ उनले सामाजिक न्यायसहित समृद्धि तयार गरी मूल कार्यनीति पूरा हुने बताए ।
२३ बुँदे प्रतिबद्धता
नेता देव गुरुङले एकता घोषणासभामा पार्टीको २३ बुँदे प्रतिबद्धता प्रस्तुत गर्दै संघीयता बलियो बनाउन प्रदेशका प्रतिनिधिहरूको संख्या घटाउने जनाए । ‘संविधानको रक्षा, संघीयताको सबलीकरण गरिनेछ, प्रदेश जनप्रतिनिधिको संख्या घटाइनेछ,’ उनले भने । अन्य प्रतिबद्धतामा उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गरी दोषीलाई कारबाही गर्ने, महिला, दलित, मधेशी, मुस्लिम, जनप्रतिनिधि, अल्पसंख्यकलाई मूल प्रवाह समाहित गरी उनीहरूको अधिकार संरक्षण गर्नेलगायत छन् ।
जेन–जीको आकांक्षा पूरा गर्न प्रतिबद्ध रहने, विगतका गल्ती–कमजारी सच्याएर पार्टीलाई पुनर्गठन गर्ने प्रतिबद्धतामा उल्लेख छ । त्यस्तै, पार्टीमा आन्तरिक लोकतन्त्र स्थापना गर्न आवश्यक विधि बनाउने, पार्टीमा सबै नेता उत्पादन र श्रम कार्यमा संलग्न हुने, कम्युनिस्ट आचरण कडाइ साथ लागू गर्ने र सादा जीवनशैली अवलम्बन पार्टीको प्रतिबद्धता छ ।
नेता बेदुराम भुसालले विधान मस्यौदा प्रस्तुत गरेका थिए । विधानमा युवा, महिलालाई कम्तीमा ३० प्रतिशत सहभागी गराउने, एउटै व्यक्ति एउटै पदमा दुई पटकभन्दा बढी बस्न नहुने, आन्तरिक लोकतन्त्रको अभ्यास हुने र नेपाली विशेषताको समाजवाद निर्माण गर्ने मुख्य उद्देश्य राखिएको छ ।
