जेन-जी आन्दोलनको भ्रष्टाचारविरोधी माग र भावनाविपरीत भइरहेको एकता स्वीकृत गर्न सकेनौँ : जनार्दन शर्मा

उनले नेतातन्त्र र भ्रष्टाचार विरोधी जगमा जेन-जी विद्रोह भएको भन्दै त्यसलाई स्वीकार गर्दै पार्टीलाई रूपान्तरण गर्ने प्रयास पार्टीभित्र असफल भएको बताए ।

कार्तिक १८, २०८२

कान्तिपुर संवाददाता

We could not accept the unity that is going against the anti-corruption demands and sentiments of the Gen-G movement: Janardan Sharma

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले जेन-जी आन्दोलनको भ्रष्टाचारविरोधी माग र भावनाविपरीत माओवादी केन्द्र र एकीकृत समाजवादीबीच हुन लागेको एकतालाई स्वीकृत गर्न नसकेको बताएका छन् ।

मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । शर्माले विगत केही वर्षदेखि माओवादी पार्टीलाई रूपान्तरण गर्ने, पारदर्शी बनाउने, सुशासनको पक्षमा र जनताप्रति जबाफदेही बनाउने, विधि पद्धति लागू गर्ने, पार्टीलाई समग्र रूपमा पुनर्गठन गरेर अगाडि बढ्ने गरी आफू लागे पनि सफल हुन नसकेको बताए ।

उनले नेतातन्त्र र भ्रष्टाचार विरोधी जगमा जेन-जी विद्रोह भएको भन्दै त्यसलाई स्वीकार गर्दै पार्टीलाई रूपान्तरण गर्ने प्रयास पार्टीभित्र असफल भएको बताए । माओवादी अध्यक्ष पुष्पकमल दाहालले भ्रष्टाचारको मुद्दा लागेका एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालसँग पार्टी एकताको नाटक गरेर पार्टीलाई अझ भद्रगोल र विधिविहीन बनाएको आरोप उनले लगाए ।

शर्माले भने, ‘विगत केही वर्षदेखि माओवादी पार्टीलाई रूपान्तरण गर्ने, पारदर्शी बनाउने, सुशासनको पक्षमा र जनताप्रति जबाफदेही बनाउने, पार्टीभित्र विधि पद्धति लागू गर्ने, पार्टीलाई समग्र रूपमा पुनर्गठन र पुनर्संरचना गरेर अगाडि बढाउने भनेर बहस गर्दै आएको कुरा तिमीहरूलाई जानकारी नै छ । पछिल्लो समयसम्म आइपुग्दा जेन-जी आन्दोलनले पनि स्पष्ट गरिसकेको छ— पार्टीभित्र दलतन्त्र, नेतातन्त्र र भ्रष्टाचारका कुराले नै त्यसको जग तयार गर्‍यो । त्यसैले पनि यो यथार्थ कुरालाई रूपान्तरण गर्ने हाम्रो प्रयास पार्टीभित्र सफल भएन । आज झन् भद्रगोल बनाएर, विधिविहीन बनाएर, सीमित एक वा दुई नेताको हातमा सम्पूर्ण शक्ति केन्द्रित गर्ने गरी गरिएको यो एकताको नाटक हामी स्वीकार गर्न सक्दैनौँ । जेन-जी आन्दोलनले उठाएका भ्रष्टाचार विरोधी माग र भावना विपरीत भइरहेको एकताप्रति हामी सहमत हुन सकेनौँ ।’

उनले एकताको नाममा आम जनता, मतदाता र कार्यकर्तालाई भ्रमित पार्दै घृणा फैलाउने प्रयास भइरहेको आरोप पनि लगाए ।

कान्तिपुर संवाददाता

Link copied successfully