बुधबार बसेको पार्टीको महाधिवेशन आयोजक समितिको पूर्ण बैठकले उक्त निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् ।
काठमाडौँ — नेकपा (माओवादी केन्द्र) ले एकीकृत समाजवादीसहित विभिन्न आठ दलसँग पार्टी एकता गर्ने सचिवालय बैठकको प्रस्ताव अनुमोदन गरेको छ ।
बुधबार बसेको पार्टीको महाधिवेशन आयोजक समितिको पूर्ण बैठकले उक्त निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् । सापकोटाका अनुसार एकतापछि पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहनेछ ।
उनले पार्टीको मार्ग निर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद हुने र कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुने बताएका छन् । उनले तात्कालिक कार्यनीति पुँजीवादी, जनवादी क्रान्तिका उपलब्धिहरूको रक्षा, राष्ट्रिय स्वतन्त्रताको संरक्षण, सुशासन, सामाजिक न्याय, सामाजिक–आर्थिक समृद्धि र रूपान्तरण गर्दै समाजवादको आधार तयार गर्ने रहेको बताए ।
सापकोटाले भने, ‘पार्टीको मार्ग निर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद हुनेछ । नेपाली क्रान्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुनेछ । पार्टीको तात्कालिक कार्यनीति पुँजीवादी, जनवादी क्रान्तिका उपलब्धिहरूको रक्षा, राष्ट्रिय स्वतन्त्रताको संरक्षण, सुशासन, सामाजिक न्याय, सामाजिक–आर्थिक समृद्धि र रूपान्तरण गर्दै समाजवादको आधार तयार गरिनेछ ।’
उनका अनुसार पार्टीले अब गर्ने आन्दोलन शान्तिपूर्ण हुनेछ । उनले भने, 'परिस्थितिअनुसार सडक, सदन र सरकार लगायत सबै मोर्चा आन्दोलनका माध्यम बन्नेछन् ।'
सापकोटाले पार्टी एकता राष्ट्रिय सम्मेलन बुधबार काठमाडौँमा आयोजना गरिने जानकारी पनि दिएका छन् । उक्त सम्मेलनबाट पार्टी एकता, घोषणापत्र, अन्तरिम विधान पारित र केन्द्रीय समिति गठन लगायतका कार्यहरू सम्पन्न गरिने उनले बताए ।
