वैदेशिक रोजगारीलाई क्रमशः निःशुल्क बनाउँदै लैजानुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री कार्कीले ठगी पूर्ण रूपमा नियन्त्रण गर्न आवश्यक भएको पनि बताइन्।

कार्तिक १८, २०८२

कान्तिपुर संवाददाता

Foreign employment should be gradually made free: Prime Minister

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगारीमा जाने श्रमिकको लागत क्रमशः निःशुल्क बनाउँदै लैजानुपर्ने बताएकी छन्।

श्रम मन्त्रालयको जिम्मेवारी समेत समालेकी प्रधानमन्त्री कार्कीले वैदेशिक रोजगार बोर्डको १८ औँ वार्षिकोत्सवमा सम्बोधन गर्दै वैदेशिक रोजगारीमा जाने श्रमिकको भर्ना प्रक्रियालाई पारदर्शी बनाउन आवश्यक रहेको बताइन्।

‘वैदेशिक रोजगारीलाई क्रमशः निःशुल्क बनाउँदै लैजानुपर्छ,’ उनले भनिन्, ‘वैदेशिक रोजगारीको क्षेत्रलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउनुपर्छ।’

प्रधानमन्त्री कार्कीले ठगी पूर्ण रूपमा नियन्त्रण गर्न आवश्यक भएको पनि बताइन्। ‘अहिलेको वैदेशिक रोजगारी बाध्यता हो। यसको विकल्पका लागि वैदेशिक रोजगारीबाट फर्केका श्रमिकको हितको लागि पुनः एकीकरण कार्यक्रम गर्न आवश्यक छ,’ उनले भनिन्, ‘यसका लागि आवश्यक नीतिगत र संरचनागत व्यवस्था मिलाउन निर्देशन दिन्छु।’

प्रधानमन्त्री कार्कीले वैदेशिक रोजगार बोर्डमा देखिएको बेरुजु फर्स्यौटको व्यवस्थापन गर्न विशेष ध्यान दिन निर्देशन दिएकी छन्।

कार्यक्रममा श्रम सचिव कृष्णहरि पुष्करले प्रधानमन्त्रीको निर्देशन अनुसार बेरुजु फर्स्यौटदेखि पुनः एकीकरणका लागि आवश्यक नीतिगत व्यवस्था गर्ने बताए।

कान्तिपुर

Link copied successfully