दाहालले प्रज्ञा प्रतिष्ठानमा भएको महाधिवेशन आयोजक समितिको मंगलबारको बैठकमा भावुक हुँदै यस्तो आग्रह गरेका हुन् ।
काठमाडौँ — माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालले पार्टी छाडेर ‘प्रगतिशील अभियान’घोषणा गरेका सचिवालय सदस्य जनार्दन शर्मालाई पार्टीमा फर्कन आग्रह गरेका छन् । उनले प्रज्ञा प्रतिष्ठानमा भएको महाधिवेशन आयोजक समितिको मंगलबारको बैठकमा भावुक हुँदै यस्तो आग्रह गरेका हुन् ।
उनले शर्मालाई गरेको आग्रहको सम्पादित अंशः
आज मलाई दुःख लागेको छ । हामी हिजो एकता महाधिवेशनमा,२०४८ सालमा, त्यसपछि जनयुद्धमा,शान्ति सम्झौतामा,त्यसपछि विभिन्न समयका सरकारहरूमा सँगै काम गरेका एकजना सहयोद्धा कम्युनिस्ट आज यहाँ पदाधिकारीको सचिवालयको बैठकमा उपस्थित हुनुहुन्न–कम्युनिस्ट जनार्दन शर्मा ‘प्रभाकर’। यो हामी सबैलाई बडो नमिठो लागेको छ । उहाँ यहीँ हुन पर्थ्यो । इतिहासको सन्दर्भ र पृष्ठभूमिका कारणले र पार्टी लिडरसिपले उहाँलाई अन्तिम समयसम्म,अस्तिको दिनसम्म पनि बोलाएर भनेको थियो–'हामी एक हुनुपर्छ,जे जे भन्नुपर्ने छ,जनवादी वातावरणमा तपाईंलाई कुरा राख्ने पूरै हक छ ।' त्यो वातावरण बनाइयो पनि, लामो परामर्श बैठकहरूमा तपाईंका कुराहरू आम पंक्ति पुर्याउने उद्देश्यले राखिएका थिए । पटक–पटक केन्द्रीय समिति,स्थायी समिति,पदाधिकारी बैठकमा पर्याप्त समयका साथ तपाईंका गुनासा,पीडा,विमति र भावना राख्न हामीले दिएकै थियौँ ।
यस्तो परिस्थितिमा तपाईंले अन्यथा सोच्नु नपर्ने कुरा मैले अस्तिको दिन पनि उहाँलाई भनेको थिएँ । तर उहाँले त्यो दिन मसँग बडो ठण्डा दिमागले,ठन्डा र हल्का हिसाबले कुरा गर्नुभयो । उहाँले भन्नुभयो– 'कति ४० वर्षभन्दा बढी समयदेखि तपाईंको नेतृत्वमा मैले काम गरो, तपाईंलाई नेता मानो । आज पनि म तपाईंलाई नेता नै मान्छु । भोलि केही समय फरक भएछौं भने पनि मेरो नेता तपाईं नै हुनुहुन्छ।' उहाँले भनेका यी शब्दहरू नै म यहाँ तपाईंहरूलाई भनिरहेको छु– बडो मिठो कुरा गर्नुभयो उहाँले । बडो राम्रो । मैले पनि भनेँ– 'तपाईं किन हिँड्न पर्यो? यहीं बसाौ, सँगै बसौँ, छलफल गरौँ।'
मैले तपाईंलाई ४० वर्षभन्दा पहिलेबाटै पार्टीभित्रका तमाम अन्तरसंघर्षहरूमा,विभिन्न खालका झमेलाहरूमा बचाउन गरेको मेहनत सम्झिरहेको छु । तपाईंलाई पनि सम्झना होला– कसले तपाईंलाई पहिले नै पार्टीबाट निकाल्न खोजेको थियो? तपाईंलाई पनि याद छ, मलाई त झन् नेतृत्वमा भएकाले अझै याद छ। तपाईंको सक्रियता र गतिशीलतालाई हेर्दै मैले कतिपय कुरामा विमति र आलोचना पनि गर्थेँ, कडा ढंगले नै । तर पनि म तपाईंलाई माया गर्थेँ, प्रोत्साहित गर्थेँ । तपाईं शान्ति मन्त्री, गृह मन्त्री, अर्थ मन्त्री, ऊर्जा मन्त्री हुनुहुन्थ्यो। यी जिम्मेवारीहरू पार्टी नेतृत्वको इच्छाभन्दा बाहिर भएका थिएनन् ।
तपाईं अहिले जुन हैसियतमा हुनुहुन्छ– 'प्रचण्डसँग लड्ने हैसियत, त्यो कल्ले दिइयो, प्रदान गरियो' भन्दा इतिहास त गवाह छ नि । त्यो कुरा उहाँले अस्वीकार पनि गर्नुभएन । बरु उहाँले अर्को मिठो ढंगले भन्नुभयो– 'म अहिले तपाईंलाई पनि भन्न चाहन्छु,मलाई पनि दुई वर्षदेखि हैरान पारिएको महसुस भइरहेको छ । अध्यक्षले मलाई किन यस्तो पेल्न खोजेझैँ भयो । यो मेरो गल्ती हो कि तपाईंको हो ? अहिले टुंगो लागेको छैन । बरु म केही समय बाहिर बसिदिँदा, मेरो गल्ती कहाँ हो भनेर अलग ढंगले समीक्षा गर्ने अवसर पाउँछु । तपाईंलाई पनि यदि लाग्यो कि प्रभाकर आवश्यक छ, फेरि केही समयपछि भेट भैहाल्छ मेरो नेता तपाईं नै हो ।'
यही हो उहाँको अस्तिको संश्लेषण । अब उहाँले मसँग भनेका कुरा अन्यत्र भनिएका कुरासँग मिल्दैनन् । जे सुन्छु म साथीहरूबाट, ती कुरासँग यी मेल खाँदैनन्। तर मसँग उहाँले गम्भीर ढंगले भनेका यी कुरा सत्य हुन् भन्नेमा म विश्वस्त छु । त्यसैले म यहाँबाट पनि प्रभाकरलाई भन्न चाहन्छु — आज आउनुभएन, अस्ति पनि बैठकमा आउनुभएन, अब केही दिन अलग भइसक्यो — तर तपाईं फर्किनुहोस् । पार्टी भोलि एकता घोषणा सभामा आउनुहोस् भन्ने मेरो अपिल छ ।
मेरो यो अपिललाई हल्का नठान्नोस् । यसले पार्टी र आन्दोलनलाई नयाँ किसिमबाट अगाडि बढाउँछ । व्यक्तिगत रूपमा क्षति हामी सबैलाई हुन्छ । यो कुरा आत्मसात् गर्न म अपिल गर्दछु र अन्य कम्युनिस्ट साथीहरूलाई पनि उहाँलाई फेरि पार्टीमा ल्याउन उत्प्रेरित गर्न अनुरोध गर्दछु । भोलि नआए पनि,अर्को दिन–उहाँ आउनै पर्छ । इतिहासले उहाँलाई जसरी पनि धकेलेर यहीँ ल्याइपुर्याउँछ ।
