एमाले चुनावबाट भाग्ने पार्टी होइन : महासचिव पोखरेल

‘पहिलो कुरा चुनाव गराउने सरकार नै संवैधानिक परीक्षणबाट गुज्रनुपर्ने अवस्था छ । केही समय पछाडि सर्वोच्चको फैसला के आउने हो ? त्यसले बाटो तय गर्नेवाला छ ।’

कार्तिक १७, २०८२

कान्तिपुर संवाददाता

UML is not a party that will run away from elections: General Secretary Pokharel

काठमाडौँ — एमाले महासचिव शंकर पोखरेलले चुनाव हुने विश्वासको वातावरण भए एमाले त्यसमा सरिक हुने बताएका छन् ।

‘चुनाव हुन्छ भन्ने विश्वास त हुनु पर्‍यो नि त पहिले । जुन कुरामा विश्वासै छैन । पहिले त चुनाव हुन्छ भन्दै विश्वास हुनु पर्‍यो । विश्वासको वातावरणै बन्या छैन नि त,’ उनले भने, ‘पहिले त चुनाव हुन्छ भन्ने कुराको विश्वसनीय आधार महसुस गर्नुपर्‍यो । हाम्रो पार्टीले गर्‍या छैन । तपाईंहरुलाई मैले यति मात्रै भन्छु– नेकपा एमाले पार्टी चुनावबाट भाग्ने पार्टी होइन ।’

उनले फागुन २१ मा निर्वाचन हुनेमा आशंका गरेका छन् । निर्वाचन गराउनेतिर सरकारको ध्यान नभएको भन्दै उनले अनेक बहाना गरिरहेको आरोप लगाए ।

‘जनताको रोजाईको पहिलो पार्टी जनमतबाट अलग हुने भन्ने त कल्पनै गर्न सकिँदैन तर नहुने चुनावमा हामी भाग लिन्छौँ भन्दै हिँड्ने कुरा केटाकेटीपन हुन्छ,’ उनले सोमबार सञ्चारकर्मीसँग भने,‘पहिलो कुरा चुनाव गराउने सरकार नै संवैधानिक परीक्षणबाट गुज्रनुपर्ने अवस्था छ । केही समय पछाडि सर्वोच्चको फैसला के आउने हो ? त्यसले बाटो तय गर्नेवाला छ ।’

उनले चुनाव गराउने शान्ति सुरक्षाको अवस्था चुनौतीपूर्ण भएको बताए । ‘जनता चुनावमा सहभागी हुन सक्ने वातावरण छ कि छैन ? राजनीतिक दल चुनावमा सामेल हुने वातावरण छ कि छैन ?,’ उनले भने, ‘असहज वातावरण पैदा होस् भन्ने खालको मनसाय सरकारको त होइन ?’

कान्तिपुर संवाददाता

Link copied successfully