विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन गरी बुझाएका नेताहरूसँगको भेटमा कोइरालाले नियमित महाधिवेशन नहुने स्थितिमा आफू विशेष महाधिवेशनकै पक्षमा उभिने बताएको नेता मनोजमणि आचार्यले जानकारी दिए।
काठमाडौँ — कांग्रेस नेता शेखर कोइरालाले नियमित महाधिवेशनको मितिबारे सहमति नजुटे विशेष महाधिवेशनमै जानु उपयुक्त हुने बताएका छन्। उनले नियमित महाधिवेशनको विषयमा सहमति नभए वैधानिकरुपमा नै विशेष महाधिवेशनको सक्रिय हुने बताए।
सोमबार बिहान उनको सम्पर्क कार्यालयमा भेट्न पुगेका नेताहरूसँग कुरा गर्दै नेता कोइरालाले तत्कालै नियमित महाधिवेशनको सम्भावना टर्दै गएको बताएका थिए।
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर संकलन गरी बुझाएका नेताहरूले सोमबार कोइरालालाई भेटेर विशेष महाधिवेशनको पक्षमा उभिन दबाब दिएका थिए । कोइरालालाई विशेष महाधिवेशनको पक्षमा उभिन दबाब दिन गुरुराज घिमिरे, देवराज चालिसे, मनोजमणि आचार्यलगायतका एक दर्जन नेताहरु बिशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमामा पुगेका थिए।
भेटमा कोइरालाले नियमित महाधिवेशन नहुने स्थितिमा आफू विशेष महाधिवेशनको पक्षमा उभिने बताएको नेता मनोजमणि आचार्यले बताए। ‘हामीले उहाँलाई भेटेर १४ औं महाधिवेशनमा तपाईलाई मत हाल्ने बाहुल्य सदस्यहरुले हस्ताक्षर गरेर विशेष महाविधेशनको माग गरेका छन् । यो अभियानमा तपाई कहाँ हुनुहुन्छ ? तपाईले विशेष महाविधेशनको बारेमा के गरिरहनु भएको छ? नियमित महाधिवेशन भन्नु भएको छ। तर, यसलाई परिणाममा पुर्याउन सक्ने नभएपछि तपाईले विशेष महाधिवेशनको पक्षमा लाग्नुहोस् भनेर हामीले कुराहरु राख्यौं,' कोइरालाको भनाइ उद्धृत गर्दै आचार्यले भने, ‘मेरो कोसिस नियमित महाधिवेशन गराउनेमा नै छ। केन्द्रीय कार्यसमितिमा अहिले निर्वाचन अगाडि गर्नेकि पछाडि भन्नेमा दुई थरी प्रस्ताव आएका छन्। त्यसलाई एउटै प्रस्ताव लैजाने दिशामा मेरो पहल रहिरहेको छ। तर, विशेष महाधिवेशनको निवदेन दर्ता भइसकेकाले नियमित महाधिवेशन नुहन साथ यो बाध्यकारी व्यवस्था हो । मलाई कता–कता विशेष महाविधेशन नै हुन्छ जस्तो लागिरहेको छ ।’
अहिले कांग्रेसमा पार्टीको महाधिवेशन निर्वाचन अगाडि गर्ने कि पछाडि भन्नेमा संस्थापन र इतरपक्षबीच विवाद भइरहेको छ। समान धारणा बनाउन नेताहरूले प्रयास गरिरहे पनि सोमबार अपरान्हसम्म त्यसबारे सहमति जुटेको छैन। शुक्रबारदेखि केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरेर सहमति खोज्न शीर्ष नेताहरु सम्मिलित कार्यसम्पादन समितिको बैठक बसिरहेको हो।
ललितपुरको धोवीघाटमा आज बिहानदेखि बसेको बैठकमा साझा कार्यतालिका तय गर्न सहमति जुटाउन नेताहरुबीच ‘वान टु वान’र दुई पक्षीय छलफल चलिरहेको छ । संस्थापन पक्षले फागुन २१ को निर्वाचन अगाडि महाधिवेशन नै गर्न हुन्न भन्ने र इतरपक्षका नेताहरुले निर्वाचन अगाडि नै १५ औं महाधिवेशन सम्पन्न गर्नुपर्ने अडान लिइरहेका छन् ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस १६–१९ मा केन्द्रीय महाधिवेशन गर्ने तालिका अघि सारेका छन् । उक्त कार्यतालिकालाई काउन्टर दिँदै संस्थापन पक्षले मिति उल्लेख नगरेपनि वैशाखमा महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका अघि सारेको छ। महामन्त्रीले केन्द्रीय कार्यसमितिको बैठकमा पुसको कार्यतालिका अघि सारिए संस्थापन पक्षका तर्फबाट सहमहामन्त्री महेन्द्रराय यादवले बैशाखको कार्यतालिका लैजाने तयारी गरेका थिए ।
महामन्त्री थापाले पुस १६–१९ को कार्यतालिका प्रस्तुत गर्न नपाएमा केन्द्रीय कार्यसमिति बैठकमा नै उपस्थित नहुने सम्मको चेतावनी दिँदै आएका छन् । महाविधेशनको कार्यतालिका सहित क्रियाशील सदस्यहरुको वस्तुस्थितिको बारेमा जानकारी दिनका लागि गत बिहीबारको बैठकमा समय माग्दा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समय नदिँदा दुई नेताबीच नोकझोंक समेत भएको थियो ।
त्यसपछि थापा उक्त दिनको केन्द्रीय कार्यसमितिको बैठकमा नै उपस्थित भएनन्। कार्यतालिका प्रस्तुत गर्न नपाएमा शुक्रबारको बैठकमा पनि उपस्थित नहुने चेतावनी दिएपछि खड्काले शुक्रबार र शनिबार बैठक स्थगित गरी आइतबार बोलाएका थिए । तर आइतबार पनि साझा कार्यतालिका बनाउने विषयमा सहमति नभएपछि पुनः सहमति खोज्न भन्दै दुई दिन स्थगित गरी मंगलबारका लागि बैठक स्थगित गरिएको थियो।
धोबीघाटमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक चलिरहेका बेला यता संस्थापन पक्षको केन्द्रीय सदस्यहरुको भेला बानेश्वरस्थित आनन्दभूमिमा चलिरहेको छ । केन्द्रीय सदस्य नैनसिंह महरका अनुसार अधिकांश सदस्यहरुले फागुन २१ को निर्वाचन अगाडि नियमित महाधिवेशनको सम्भावना नरहेको मत प्रकट गरेका छन् । उनीहरुले केन्द्रीय कार्यसमितिलाई बन्धक नबनाउन समेत दबाव दिएका छन् ।
