७ पूर्वपदाधिकारीको ‘चक्रव्यूह’ मा कांग्रेस

पार्टी महाधिवेशन निर्वाचन अगाडि गर्ने कि पछाडि भन्ने विवादमा डेढ महिनादेखि अल्झिँदा राष्ट्रिय राजनीति र मुद्दामा कांग्रेसको भूमिका कमजोर 

कार्तिक १७, २०८२

कुलचन्द्र न्यौपाने

Congress in the 'Chakravyuh' of 7 former office bearers

काठमाडौँ — पार्टी महाधिवेशन प्रतिनिधिसभा निर्वाचन अगाडि गर्ने कि पछाडि भन्ने विवादमा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक तीन सातादेखि अल्झिएको छ । नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत नेता पुसमा १५ औं महाधिवेशन गर्नुपर्ने पक्षमा छन् । तर संस्थापन पक्ष त्यसमा तयार देखिएको छैन । 

कार्यवाहक सभापति पूर्णबहादुर खड्का तत्काल महाधिवेशन गर्नेबारे अनौपचारिक कुराकानीमा सकारात्मक धारणा राख्ने गरे पनि औपचारिक बैठकमा खुलेका छैनन् । यसका पछाडि संस्थापन पक्षका सात पूर्वपदाधिकारी रहेको आरोप इतर पक्षले लगाउँदै आएको छ । 

पूर्वपदाधिकारीहरू गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, बिमलेन्द्र निधि, शशांक कोइराला, विजयकुमार गच्छदार, प्रकाशमान सिंह र प्रकाशरण महत महाधिवेशन टार्ने प्रयासमा छन् । श्रेष्ठ उपचारको सिलसिलामा एक सातादेखि भारतमा छन् । अरू ६ पूर्वपदाधिकारी एक ठाउँमै उभिएर प्रतिनिधिसभा निर्वाचनपछि मात्र महाधिवेशनमा जान पार्टीभित्र दबाब बढाइरहेका छन् । उनीहरूमध्ये महत पार्टीका प्रवक्तासमेत छन् । अरू सबै केन्द्रीय सदस्य हुन् । 

१५ औं महाधिवेशनबाट नेतृत्व लिनका लागि सात पूर्वपदाधिकारीले जेन–जी आन्दोलनअघि नै गठजोड गरेका थिए । सातमध्ये एकलाई नेतृत्वमा समर्थन गर्न उनीहरूले सभापति देउवालाई दबाब दिँदै आएका थिए । जेन–जी आन्दोलनपछि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले नेतृत्वमा कायमै रहन कोसिस गरिरहेका बेला देउवाले भने २८ असोजमा उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए । देउवा हाल उपचारका लागि सिंगापुरमा छन् । 

तत्काल महाधिवेशन गर्ने विषयमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का सकारात्मक देखिए पनि सात पूर्वपदाधिकारीको दबाबमा पर्दा औपचारिक निर्णयमा जानै सकेका छैनन् कार्यवाहक सभापति खड्का आफैंले पनि आगामी महाधिवेशनबाट सभापति बन्ने आकांक्षा राखेका छन् । त्यसका लागि देउवा टिमलाई संगठित रूपमा अघि बढाउने चुनौती उनीसामु देखिएको छ । त्यसैले उनी सात पूर्वपदाधिकारीको सहमतिबेगर अघि बढ्न सकिरहेका छैनन् । ‘देउवा टिमलाई संगठित बनाएर त्यसैको बलमा सभापति हुने आकांक्षा भएकाले खड्का पूर्वपदाधिकारीहरूको घेराबन्दीमा पर्नुभएको छ,’ कांग्रेसका एक नेताले भने । 

कार्यतालिका प्रस्तुत गर्ने विषयमा कार्यवाहक सभापति खड्कासँग नोकझोंक भएपछि महामन्त्री थापाले बिहीबारको केन्द्रीय कार्यसमिति बैठक नै बहिष्कार गरेका थिए । सहमति जुट्न नसकेपछि थापा एकतर्फी कार्यतालिका प्रस्तुत गर्ने योजनासाथ शुक्रबार पार्टी कार्यालय सानेपा पुगेका थिए । संस्थापन पक्षका सहमहामन्त्री महेन्द्र यादवले त्यसको ‘काउन्टर’ कार्यतालिका प्रस्तुत गर्ने तयारी गरेका थिए । यसले पार्टी विभाजनतर्फ उन्मुख गराउन सक्ने भन्दै सहमति जुटाउन शुक्रबार र शनिबार बैठक स्थगन गरिएको थियो ।

आइतबार पनि केन्द्रीय कार्यसमिति बैठक स्थगित गरेर दिनभर कार्यसम्पादन समिति बैठक राखिएको थियो । दुवै पक्ष टसमस नभएपछि बुधबार बिहान ९ बजे पुनः कार्यसम्पादन समिति बैठक बोलाइएको छ । केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्ने भनिएको छ । 

कांग्रेसभित्र अहिले पुस्तान्तरणको सहज व्यवस्थापनबाट लोकतान्त्रिक चरित्र कायम हुन सक्छ कि आन्तरिक शक्ति संघर्षको चपेटामा परेर पार्टी नै विभाजित हुने अवस्था आउँछ भन्ने सवाल पनि छ । शक्ति संघर्ष चर्काउने मुख्य कारण २१ फागुनमा हुने निर्वाचन अगाडि पार्टीको १५ औं महाधिवेशन गर्ने कि नगर्ने, नियमित महाधिवेशनमा नगई विशेष महाधिवेशन बोलाउने कि नबोलाउने भन्ने नै हो ।

यसअघि मंसिर मसान्तभित्र महाधिवेशन गर्ने कार्यतालिकाको प्रस्ताव गर्दै आएका महामन्त्रीद्वय थापा र शर्माले १६–१९ पुसमा महाधिवेशन गर्नुपर्ने प्रस्ताव शनिबार अघि सारेका छन् । मध्यमार्गमा रहेका नेता शेखर कोइराला पनि महामन्त्रीहरूले प्रस्ताव गरेको मितिमा नियमित महाधिवेशन गर्ने गरी संस्थापन पक्षका नेताहरूलाई सहमत गराउन सक्रिय छन् । उनले सिंगापुरमा रहेका पार्टी सभापति देउवासँग समेत शनिबार परामर्श गरेका थिए । 

पूर्वपदाधिकारी बिमलेन्द्र निधि पार्टी अहिले महाधिवेशनमा नभई प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुनुपर्ने बताउँछन् । महामन्त्रीहरूलाई नेतृत्व लिन हतारो भयो भन्दैमा निर्वाचन अगाडि महाधिवेशन गराउनु प्रत्युत्पादक हुने र त्यसमा साथ दिन नसकिने उनको भनाइ छ । ‘हाम्रो एक मात्रै सवाल निर्वाचनमा असर नपरोस् भन्ने हो । त्यसका लागि निर्वाचन पछाडि महाधिवेशन गरिनुपर्छ । महाधिवेशन अगाडि नेतृत्व परिवर्तन गरिनुपर्छ भन्ने हो भने शेरबहादुरजीले छाडिसक्नुभएको छ । कांग्रेसको अहिलेको मूल एजेन्डा निर्वाचन बन्नुपर्छ,’ उनी भन्छन् ।

पुसमा १५ औं महाधिवेशन गर्ने कार्यतालिका महामन्त्रीबाट प्रस्तुत भए संस्थापन पक्षबाट वैशाखमा महाधिवेशन गर्ने गरी अर्को कार्यतालिका आउने नेता निधिले बताए । ‘सहमतिबेगरको कार्यतालिका महामन्त्रीको व्यक्तिगत हुन्छ, पार्टीको हुन्न । व्यक्तिगत रूपमा प्रस्तुत गर्ने हो भने हामी पनि प्रस्तुत गर्छौं । दुवै प्रस्तावमाथि केन्द्रीय कार्यसमितिमा छलफल गरौं, विधिसम्मत जे निर्णय हुन्छ, त्यसलाई मानेर जाऔं भन्दासमेत उहाँहरूले मान्नुभएको छैन ।’

इतर पक्षका नेताहरू मंसिर–पुसमा महाधिवेशन हुन नसके वैशाखमा समेत नहुने बताउँछन् । ‘अहिले फागुनको चुनावलाई देखाएर वैशाखमा महाधिवेशन गरौं भनिएको छ । फागुनमा निर्वाचन नभएर वैशाखमा सर्‍यो भने फेरि महाधिवेशन सारेर अर्को मंसिरसम्म पुर्‍याउने खेल हुन्छ,’ नेता गुरुराज घिमिरेले भने ।

विशेष महाधिवेशनका लागि केन्द्रीय नेताहरूले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित पार्टी केन्द्रीय कार्यालयमा निवेदन दर्ता गरिसकेका छन् । यसमा महामन्त्रीद्वय थापा र शर्माको समर्थन छ ।

४० प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित माग भए तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था विधानमा छ । विशेष महाधिवेशन माग गरेर २९ असोजमा निवेदन दर्ता भइसकेकाले २८ पुससम्ममा नियमित नभए विशेष महाधिवेशन बोलाउनुपर्नेछ । ‘त्यस अगाडि नै नियमित महाधिवेशन बोलाइयो भने मात्रै विशेष महाधिवेशनको आवश्यकतालाई निस्तेज बनाउन सकिन्छ, नत्र यो बाध्यात्मक स्थिति हो,’ विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियानमा अगुवाइ गरेका नेता घिमिरे भन्छन् ।

अहिलेकै नीति र नेतृत्व लिएर जाँदा जनताको विश्वास फिर्ता ल्याउन नसकिने इतर पक्षका नेताहरूको तर्क छ । ‘अहिले नेतृत्व र नीतिमा परिवर्तन गर्न सकेनौं भने निर्वाचनमा जाँदा पार्टी सभापति शेरबहादुर देउवा नै हुन्छन्, उस्तै परे टिकट वितरणमा देउवा नै सक्रिय हुन थाल्छन्,’ एक नेताले भने ।

मंसिरमा नियमित महाधिवेशन गर्न सकिने अवस्था नहुनुमा महामन्त्रीहरू नै जिम्मेवार रहेको भन्दै संस्थापन पक्षले प्रश्न उठाइरहेको छ । क्रियाशील सदस्यताको वितरण र नवीकरणको मुख्य दायित्व विधानले महामन्त्रीहरूलाई सुम्पेको छ । १४ औं महाधिवेशन भएको चार वर्षमा सदस्यता वितरण र नवीकरण भएकै छैन ।

संस्थापन पक्षका केन्द्रीय सदस्य नैनसिंह महर अहिलेको अवस्था आउनुमा सबै पदाधिकारी जिम्मेवार रहेकाले अबको एक महाधिवेशनमा उनीहरूले कार्यकारी पदमा प्रतिस्पर्धा गर्न नहुने बताउँछन् । ‘सकिन्छ भने मंसिरमै नियमित महाधिवेशन गरौं । तर नियमित महाधिवेशनका लागि जे–जे तयारी गर्नुपर्थ्यो, त्यो काम पदाधिकारीहरूले गर्न सकेनन् । उनीहरूले काम गर्न नसक्दा नै आज विशेष महाधिवेशन माग उठ्ने अवस्था सिर्जना भएको हो,’ उनी भन्छन्, ‘त्यसैले अहिलेका सबै पदाधिकारीका लागि एक कार्यकाल ‘कुलिङ पिरियड’ हुनुपर्छ । यसो गर्न सके नेतृत्व तहमा नै आमूल परिवर्तन हुन्छ ।’

महामन्त्री शर्माले महाधिवेशनको ‘बटमलाइन’ १६–१९ पुस हुने बताए । ‘राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा उद्घाटन गर्ने गरी महाधिवेशन गरौं भन्ने छलफल भइरहेको छ,’ उनले भने, ‘यसैलाई साझा कार्यतालिका बनाएर कार्यसमिति बैठकमा प्रस्तुत गर्नुपर्छ ।’ तत्काल महाधिवेशनमा जाँदा नयाँ पुस्ताका एक लाखलाई सदस्यता दिन सकिने पनि उनको भनाइ छ । 

विश्लेषक हरि शर्मा कांग्रेसलाई बचाउने हो भने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अहिले जुन विषय अघि सारेका छन्, त्यसमा अडिन सक्नुपर्ने बताउँछन् । ‘नत्र कांग्रेसलाई बचाउन सकिँदैन,’ उनी भन्छन् । 

अर्का विश्लेषक गेजा शर्मा वाग्ले दोस्रो पुस्ताका खासगरी सात पूर्वपदाधिकारीले आफ्नो राजनीतिक भविष्यका लागि शक्ति सञ्चय गर्न महाधिवेशन धकेल्न खोज्दा कांग्रेस अनिर्णयको बन्दी बन्दै गएको टिप्पणी गरे । सात पूर्वपदाधिकारीको दबाबबाट बाहिर कार्यवाहक सभापति खड्कासमेत आउन नसकेको उनले बताए । ‘पुस्तान्तरणसहित नेतृत्व हस्तान्तरणको संघर्ष कांग्रेससहित एमाले र माओवादीमा चलिरहेको छ । कांग्रेसमा दुई महामन्त्रीले अन्तिम लडाइँ लडिरहेका छन्,’ उनले भने, ‘परीक्षण भइसकेका दोस्रो पुस्ताका नेताहरूलाई बिदाइ गर्नु अपरिहार्य छ । नत्र कांग्रेसले राष्ट्रिय राजनीतिमा आफ्नो सान्दर्भिकता गुमाउँदै जानेछ ।’

अर्का विश्लेषक पुरञ्जन आचार्य सात पूर्वपदाधिकारीले आफ्नो राजनीतिक भविष्यका लागि अहिलेको महाधिवेशन गराउन नचाहे पनि कांग्रेस बचाउने उनीहरूसहितको पुस्ता नै रहेको बताउँछन् । ‘पार्टीमा अथक संघर्ष गरेका उनीहरूको पुस्ता (केन्द्रीय कार्यसमितिको प्रतिनिधित्वमा दोस्रो पुस्ता) नै कांग्रेस पार्टी बचाउने मुख्य जग हुन्,’ उनी भन्छन्, ‘गगन र विश्वप्रकाशले यी निष्ठावान कार्यकर्ताको मर्म बुझेनन् भने उनीहरूले लिएको परिवर्तनको नारा सफल हुन कठिन हुन्छ ।’

सम्बन्धित अन्य समाचार 

महामन्त्री पक्षधरहरुलाई पार्टी कब्जा गर्न दिन्नौं : निधि

विशेष महाधिवेशन रोक्न पनि निर्वाचनअगाडि १५औं महाधिवेशन अनिवार्य छ : प्रदीप पौडेल [अन्तर्वार्ता]

कुलचन्द्र उनी कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदिय मामिला र दलहरुको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully