कांग्रेसमा गगनको विद्रोह

मंसिरमै महाधिवेशन गर्ने कार्यतालिका प्रस्तुत गर्ने विषयमा समझदारी नभएपछि महामन्त्री गगन थापा बिहीबारको बैठकमा सहभागी भएनन्, शुक्रबारको बैठकमा समझदारी नभए एकपक्षीय भए पनि कार्यतालिका प्रस्तुत गर्ने तयारीमा

कार्तिक १४, २०८२

कुलचन्द्र न्यौपाने

Gagan's rebellion in Congress

काठमाडौँ — महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्न नपाएपछि कांग्रेस महामन्त्री गगन थापाले केन्द्रीय कार्यसमितिको बिहीबारको बैठक नै बहिष्कार गरेका छन् । यसले पार्टीभित्रको विवाद झनै चर्काएको छ । बैठक सुरु हुनुअघि कार्यतालिकाको विषयमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माको अनौपचारिक कुराकानी भएको थियो ।

बैठकमा कार्यतालिका प्रस्तुत गर्ने तयारीका साथ थापा दिउँसो १ बजे अगाडि नै सानेपा पुगेका थिए । कार्यवाहक सभापतिको कार्यकक्षमा तीन पदाधिकारीबीच भएको छलफलमा खड्काले आफ्नो समूहको अप्ठ्यारो सुनाउँदै एक दिनका लागि पर्खन आग्रह गरेपछि थापा सानेपाबाट बाहिरिएका थिए ।

कार्यकाल बाँकी रहेका राजनीतिक दलले अधिवेशन घोषणा गरेर तयारीमा अघि बढिसकेका छन्, हाम्रो कार्यकाल सकिइसकेको छ, तर पनि अधिवेशन गर्न नसक्ने भन्ने कुरा स्वाभाविक हुँदैन ।-प्रदीप पौडेल, कांग्रेस नेता त्यसअघि महामन्त्री शर्माले नियमित र विशेष महाधिवेशन गर्ने विभिन्न विकल्पबारे चारबुँदे प्रस्ताव सार्वजनिक गरेका थिए । त्यसै सेरोफेरोमा रहेर कार्यतालिका ल्याउने तयारी थापाको थियो । कार्यवाहक सभापति खड्कासँग बुधबार सकारात्मक कुराकानी भएको आधारमा थापा अघि बढेका थिए ।

कांग्रेस बैठकमा महामन्त्रीले प्रस्तुत गर्ने एजेन्डा सभापतिको सहमतिमा मात्रै प्रस्तुत गर्ने चलन छ । यसअघि पनि थापाले महाधिवेशनका दुई विकल्प केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा प्रस्तुत गरेका थिए । कार्यसम्पादन समितिमा सहमति जुटाएर केन्द्रीय कार्यसमितिमा कार्यतालिका प्रस्तुत गर्ने थापाको योजना संस्थापन पक्षको असहमतिले सम्भव नभएपछि उनले जानकारीका लागि सार्वजनिक गरेका थिए ।

बैठकमा कार्यतालिका लैजान सहमति नदिने अर्कोतर्फ केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत नगरेर बाहिरबाहिर सार्वजनिक गर्ने भन्दै संस्थापन पक्षकै केन्द्रीय सदस्यहरूले बोल्न थालेपछि थापामाथि एकपक्षीय रूपमा भए पनि कार्यतालिका प्रस्तुत गर्न दबाब बढेको छ । ‘शुक्रबार सहमति भएन भने एकपक्षीय रूपमा भए पनि कार्यतालिका प्रस्तुत गर्ने सम्भावना छ’ थापानिकट एक केन्द्रीय सदस्यले भने ।

कार्यवाहक सभापति खड्काले बिहानको अनौपचारिक बैठकमा मंसिर मसान्तभित्र वडा र पालिका तहसम्मको अधिवेशन सक्ने गरी तालिका ल्याउने, क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय अधिवेशन निर्वाचन पछाडि गर्ने गरी कार्यतालिका बनाउन प्रस्ताव गरेका थिए । तर, थापाले केन्द्रीय महाधिवेशन निर्वाचन अगाडि हुनुपर्ने अडान राखेपछि कार्यतालिकाको विषयमा कुरा नमिलेको अर्का एक पदाधिकारीले बताए ।

बिहीबार शर्माले प्रस्तुत गरेको विकल्पमा थापाले कार्यसम्पादन समितिको बैठकमा प्रस्ताव गरेको २७–२९ मंसिरको नियमित महाधिवेशनकै तालिका पहिलो बुँदामा उल्लेख छ । यसमा सहमति नभएमा उनले विशेष महाधिवेशनका लागि दुई विकल्पका लागि कार्यवाहक सभापति खड्काको ध्यानाकर्षण गराएका थिए ।

महाधिवेशनका ५४ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशनका लागि २९ असोजमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा निवेदन दिइसकेको सन्दर्भमा विशेष महाधिवेशन बोलाउनुपर्ने दोस्रो बुँदा थियो । विशेष महाधिवेशन बोलाउँदा केन्द्रीय कार्यसमिति आफैंले बोलाउने पहिलो प्राथमिकता, केन्द्रीय कार्यसमिति तयार नभएमा हस्ताक्षरकर्ताले माग गरेबमोजिम बोलाउनुपर्ने दोस्रो प्राथमिकतामा उल्लेख गरेका छन् ।

यी दुवैमा सहमति नभए नियमित महाधिवेशनलाई थप १५ दिन बढाएर पुसमा गर्न सकिने उनले चौथो बुँदामा उल्लेख गरेका छन् । त्यसका लागि १६–१९ पुससम्मको तालिका शर्माले प्रस्ताव गरेका थिए । बीपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केको अवसरमा महाधिवेशन गराउन उपयुक्त हुने सुझाव उनको छ ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले कार्यतालिका ल्याउने विषयमा विवाद नभएको भन्दै समयबारे मात्रै कुरा नमिलेको बताए । ‘वडादेखि केन्द्रसम्मकै कार्यतालिका ल्याउन क्रियाशील सदस्यताको काम थालिहालौं, खालि अधिवेशन निर्वाचन पछाडि गरौं भन्ने कुरा हो,’ महतले भने, ‘अधिवेशन र निर्वाचन सँगै जाने कुरा कांग्रेसका लागि प्रत्युपादक हुन्छ ।’

केन्द्रीय सदस्य प्रदीप पौडेलले भने अधिवेशन नगरेर भन्दा गरेर निर्वाचनमा जानु पार्टीलाई धेरै लाभ हुने बताए । ‘कार्यकाल बाँकी रहेका राजनीतिक दलले अधिवेशन घोषणा गरेर तयारीमा अघि बढिसकेका छन् । हाम्रो कार्यकाल सकिइसकेको छ । तर पनि अधिवेशन गर्न नसक्ने भन्ने कुरा स्वाभाविक हुँदैन,’ पौडेलले भने, ‘नियमित अधिवेशनको वर्ष भएकाले महासमिति सम्भव छैन, महाधिवेशन मात्रै अन्तिम विकल्प हो । नियमित महाधिवेशन नगरेर कार्यकाल थप्ने हो भने विशेष महाधिवेशन बोलाउनैपर्ने बाध्यता हुन्छ ।’

वडादेखि केन्द्रसम्मकै कार्यतालिका ल्याउन  क्रियाशील सदस्यताको काम थालिहालौं, अधिवेशन निर्वाचन पछाडि गरौं भन्ने कुरा हो, अधिवेशन र निर्वाचन सँगै जाने कुरा प्रत्युपादक हुन्छ ।- प्रकाशशरण महत, कांग्रेस प्रवक्ता विधानको धारा १७ (२) केन्द्रीय कार्यसमिति आफैंले वा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर माग गरेमा विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यकारी व्यवस्था छ । तर, संस्थापन पक्षले म्याद गुज्रिसकेका महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरले महाधिवेशन बोलाउने बाध्यात्मक स्थिति नरहने तर्क गरिरहेको छ । 

‘तीनै महाधिवेशन प्रतिनिधिहरूले निर्वाचित गरेको केन्द्रीय कार्यसमितिको कार्यकाल रहने, उनीहरूको जाने भन्ने हुन्छ ? यसरी महाधिवेशन प्रतिनिधिहरूलाई हेप्न पाइन्छ ?’ पौडेलले थपे, ‘विधानले व्यवस्था गरेको अधिकार प्रयोग गर्दा पार्टी फुटाउन लागे भनेर हेप्न मिल्दैन । विशेष कारणले मन्त्री, सांसद र केन्द्रीय सदस्य हुन सकेनन् होला । तर, महाधिवेशन प्रतिनिधिहिरू धेरै सिनियर नेताहरू हुनुहुन्छ ।’ उनले केन्द्रीय कार्यसमितिको म्याद थपेर जाँदा विशेष महाधिवेशन झनै बाध्यकारी हुने बताए ।

बिहीबारको बैठकमा १५ जना सदस्यले धारणा राखेका थिए । धारणा राख्नेमध्ये संस्थापन पक्षका अधिकांशले निर्वाचनपछाडि मात्रै महाधिवेशनको तालिका ल्याउनुपर्नेमा जोड दिएका थिए । मंसिरमै नियमित नभए विशेष महाधिवेशनको माग गर्दै आएका महामन्त्रीद्वय थापा र शर्मामाथि संस्थान पक्षका केही सदस्यहरू आक्रामक रूपमा प्रस्तुत भएका थिए । 

सभापति देउवाका निकट रहेका केन्द्रीय सदस्य बहादुरसिंह लामा भने महामन्त्री थापा र शर्माको प्रस्तावको प्रतिरक्षा गर्दै संस्थापन पक्षको अडानविरुद्ध खनिएका थिए । लामाले आफूलाई बागमती प्रदेशको मुख्यमन्त्रीबाट हटाउन २४ घण्टा पनि नलगाउने नेताहरूले अहिले पार्टीको महाधिवेशन मंसिरसम्ममा पनि गर्न सकिन्न भन्दा अचम्म लागेको बताए । मंसिरमा कार्यकाल सकिने भएकाले त्यसपछि गरिने महाधिवेशन नियमित नभएर अनियमित हुने उनको भनाइ थियो । 

मंसिरमै केन्द्रीय महाधिवेशन गराउने गरी कार्यतालिका ल्याउने विषयमा महामन्त्रीद्वय थापा र शर्माले अडान राखेपछि कार्यवाहक सभापति खड्का दबाबमा परेका छन् । उनलाई संस्थापनपक्षीय नेताहरूले महामन्त्रीसामु नझुक्न चेतावनी दिएका छन् । खासगरी सात जना पूर्वपदाधिकारी निर्वाचन अगाडि कुनै पनि हालतमा महाधिवेशनको पक्षमा छैनन् ।

खड्काले बुधबार बोलाएको संस्थापन पक्षको बैठकमा पनि अधिकांशले क्रियाशील सदस्यता टुंग्याउने, वडा र पालिकाको सकेर अरू अधिवेशन निर्वाचन पछाडि गरिनुपर्ने धारणा राखेका थिए । तर, खड्का महाधिवेशन प्रतिनिधिको हस्ताक्षरबाट विशेष महाधिवेशन माग भइसकेको अवस्थामा पार्टीभित्र थप विभाजन ननिम्ताउन मंसिरभित्रको कार्यतालिका ल्याउने, काम गर्दै जाँदा नभ्याए त्यतिबेलै समय बढाउने पक्षमा देखिएका थिए । 

यो पक्षमा इतरपक्षका नेता शेखर कोइराला पनि छन् । उनले पनि नियमित महाधिवेशनको कार्यतालिका मंसिरभित्रै ल्याउनुपर्ने तर नसकिएमा त्यतिबेलै परिस्थिति हेरेर केही समय सार्न सकिने गरी समाधान खोज्न आग्रह गर्दै आएका छन् ।

कुलचन्द्र उनी कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदिय मामिला र दलहरुको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully