माओवादीमा एकता निर्णयविरुद्ध नेता जनार्दन शर्माको लिखित फरक मत, एकीकृत समाजवादीमा असन्तुष्ट पक्षको छुट्टै भेला
काठमाडौँ — पार्टी एकता गर्ने निर्णयले माओवादी र एकीकृत समाजवादीमा विग्रह आएको छ । दुई दलबीच एकता हुने भएपछि माओवादी नेता जनार्दन शर्माले लिखित फरक मत राखेका छन् भने एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले छुट्टै भेला गरेका छन् ।
एकीकृत समाजवादीले माओवादीसँग एकता गर्ने नीतिगत निर्णय शुक्रबार नै गरेको छ । शनिबार बसेको माओवादीको केन्द्रीय सचिवालयले पनि एकीकृत समाजवादी, नेकपा समाजवादी, जनसमाजवादी, नेपाल समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी (चिरन पुन) समूहसँगको एकतालाई टुंगोमा पुर्याउने निर्णय गरेको छ ।
माओवादीको सचिवालय बैठकमा नेता शर्माले बृहत् वाम एकता नगरी एकतामा जान नहुने भन्दै फरक मत राखेका हुन् । एकीकृत समाजवादीलगायत दलसँग भएको एकतामा नजाने उनको भनाइ छ । उनले एकता प्रक्रिया स्थगन गर्दै पार्टीको समग्र पुनर्गठन, वैचारिक स्पष्टता र जनपक्षीय दिशामा अघि बढ्न आग्रह गरेका छन् ।
शर्माले मंसिरभित्र विशेष महाधिवेशन र खुला प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्ने मागलाई बेवास्ता गर्दै पार्टी एकतामा जानु गलत हुने बताए । ‘केन्द्रीय कमिटीले दुई पटक महाधिवेशन गर्ने, प्रतिस्पर्धात्मक रूपमा नेतृत्व चयन गर्ने भनी गरेको निर्णयलाई छल्न एकता भनिँदै छ,’ उनले भने, ‘यस्तो एकताले पार्टी विघटन हुने दिशामा अघि जान्छ ।’
नेता शर्माले माओवादी विचार र पहिचान परित्याग गर्दै बहुदलीय जनवादका आधारभूत मान्यतासँग आत्मसमर्पण गर्न खोजेको आरोप लगाएका छन् । ‘पार्टीको सुदृढ नगर्ने, तलसम्म गुटबन्दी गर्ने र आन्दोलनको भावनाविपरीत हुने एकतालाई मान्न सकिँदैन,’ उनले कान्तिपुरसँग भने ।
माओवादीका अर्का नेता अग्निप्रसाद सापकोटाले भने शर्माको अभिव्यक्ति गैरराजनीतिक र अराजक भएको टिप्पणी गरे । ‘जनार्दनजीको तौरतरिका लोकतान्त्रिक र राजनीतिक छैन । संयोजक (पुष्पकमल दाहाल) लगायत सबैले बस्नुस्, छलफल गरौं, निष्कर्षमा पुगौंला भन्नुभयो, उहाँले मान्नुभएन,’ उनले भने ।
माओवादीका अर्का नेता नारायणकाजी श्रेष्ठ पनि बृहत् वाम एकता गरेर अघि जानुपर्ने पक्षमा छन् । ‘हतारमा एकता गर्दा फेरि समस्या आउन सक्छ,’ उनले सचिवालय बैठकमा भनेका थिए, ‘राजनीतिक, वैचारिक र सांगठनिक स्पष्टता गरेर मात्र एकतामा जान आवश्यक छ ।’
बैठकपछि पार्टी संयोजक दाहालले पार्टीभित्र छलफल भए पनि विग्रह नआउने दाबी गरे । ‘केन्द्रीय कमिटी बैठकसम्म माओवादी एक भएर जानेछ । पार्टीमा केही पहिरो जाँदैन,’ उनले भने, ‘जनार्दनजी पनि आउनुहुन्छ ।’
माओवादी, एकीकृत समाजवादीलगायत मिलेर बन्ने पार्टीको नाम ‘नेकपा (समाजवादी)’ नाम राख्ने समझदारी छ । यो नामको दल राजु कार्कीका नाममा दर्ता भइसकेको छ । चुनाव चिह्न ‘तारा’ बनाउने तयारी छ, जुन सुभाषराज काफ्लेका नाममा दर्ता भएको ‘जनसमाजवादी पाटी’ को चुनाव चिह्न हो । पार्टी एकतापछि बन्ने महाधिवेशन आयोजक समितिको संयोजकमा पुष्पकमल दाहाल हुने भनिएको छ ।
माओवादी नेता अग्निप्रसाद सापकोटाले एकीकृत समाजवादीलगायत दलसँग एकता गर्न राजनीतिक, वैचारिक र सैद्धान्तिक विषयमा सहमति भइसकेको जानकारी दिए । ‘तोकिएकै समयमा निर्वाचन गराउने वातावरण निर्माणका लागि पार्टी एकता हुन लागेको हो । एकता ढिला गरियो भने राष्ट्र झन् संकटमा पर्छ । त्यसैले अब छिट्टै एकता हुन्छ,’ उनले भने ।
फुटको संघारमा एकीकृत समाजवादी
माओवादीसँग एकता गर्ने नीतिगत निर्णय एकीकृत समाजवादीले लिएपछि वरिष्ठ नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायत नेताहरूले असहमति जनाएका छन् । शनिबार छुट्टै भेला गरेका उनीहरूले पार्टी पुनर्गठन गर्न भन्दै आफ्नो पक्षको केन्द्रीय कमिटी बैठक बोलाएका छन् ।
भुसाल समूहका नेता दामोदर अर्यालले बैठक गरेर एकीकृत समाजवादीको पुनर्गठनमा उभिन सम्पूर्ण नेता तथा कार्यकर्तालाई आह्वान गरिने जानकारी दिए । ‘अन्य वामपन्थी दलभित्र पनि पुनर्गठन गर्न आग्रह गर्छौं,’ उनले भने ।
शनिबार भएको छुट्टै भेलामा खनाल र भुसालका साथै उपाध्यक्ष घनेन्द्र बस्नेत, उपमहासचिव विजय पौडेल, स्थायी कमिटी सदस्यहरू जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, हरि पराजुलीलगायत सहभागी थिए । नेता अर्यालका अनुसार केन्द्रीय कमिटीका ४ सय ५५ मध्ये १ सय ५८ जनाले पुनर्गठनको पक्षमा उभिने जानकारी दिएको दाबी गरे ।
माओवादीसँग एकताको विपक्षमा रहेका एकीकृत समाजवादीका केही नेताहरू एमालेसँग संवादमा छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार नै एकीकृत समाजवादीका असन्तुष्ट नेतालाई लक्ष्य गरी घर फर्कन आह्वान गरेका छन् । ‘एकीकृत समाजवादीका नेताहरूसँग अनौपचारिक संवाद सुरु भइसकेको छ । अध्यक्ष माधवकुमार नेपाल पक्ष माओवादीतिर गए अर्को पक्ष एमालेतिर आउने सम्भावना छ,’ एमालेका एक नेताले भने ।
एमाले अध्यक्ष ओलीले घर फर्कन आह्वान गरेपछि एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जनताको बहुदलीय जनवाद छाडेर नेपाली विशेषताको समाजवादमा जानुपर्ने, सम्मानित पद पाउनुपर्ने लगायत सर्त अघि सारेका छन् । सैद्धान्तिक र राजनीतिक आधारमा सहमति हुनुपर्ने पनि उनको भनाइ छ । तर एमालेका एक नेताका अनुसार खनाल र भुसाललाई भित्र्याउन ओली सकारात्मक छैनन् ।
एकीकृत समाजवादीका कतिपय नेताले माओवादीसँग एकता हुँदा पार्टी अस्तित्व झन् संकटमा पर्ने भन्दै चिन्ता व्यक्त गर्न थालेका छन् । महासचिव भुसाल माओवादी वा एमाले कतै नगएर युवाको नेतृत्वमा छुट्टै ध्रुवीकरण गर्ने पक्षमा छन् । पहिलो पुस्ताबाट हुने वाम एकताले मुलुकमा आशा जगाउन नसक्ने उनको भनाइ छ ।
एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले पार्टी पुनर्गठनसहित वाममोर्चा बनाएर जाने तयारी रहेको बताइन् । ‘निर्वाचन प्रयोजनका लागि समेत वाममोर्चा बनाएर जाने तयारी छ,’ उनले भनिन् । झाँक्री एमाले नेताहरूसँग संवादमा छिन् ।
