नेकपा एस पुनर्गठनसहित वाम मोर्चा बनाएर जाने तयारीमा छौँ : रामकुमारी झाँक्री [अन्तर्वार्ता]

'राजनीति सम्भावनाको खेल हो, सम्भावना त सधैं हुन्छ । तर आजको दिनमा एमालेसँग मिल्ने कुनै योजना, कार्यक्रम वा निर्णय केही पनि छैन'

कार्तिक १५, २०८२

गंगा बीसी

We are preparing to form a left front with the reorganization of the CPN-S: Ram Kumari Jhankri [Interview]

काठमाडौँ — नेकपा एकीकृत समाजवादी फुटको संघारमा पुगेको छ । शुक्रबार केन्द्रीय कमिटीले माओवादी केन्द्रसँग एकता गर्ने नीतिगत निर्णय गरेपछि त्यसमा असहमति जनाउँदै वरिष्ठ नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायत नेताले शनिबार छुट्टै भेला गरेका छन् ।

महासचिव भुसालको संयोजकत्वमा ‘नेकपा एकीकृत समाजवादी (भुसाल) समूह’ गठन गर्ने तयारी भएको एक नेताले बताए । अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा संस्थापत पक्षले माओवादी केन्द्रसँग एकता गर्ने तयारी गरिरहेका बेला भुसाल समूहले पार्टी पुनर्गठन गर्ने भन्दै आफ्नो पक्षको केन्द्रीय कमिटी बैठक बोलाएका छन् । असन्तुष्ट पक्षकी नेता रामकुमारी झाँक्रीसँग कान्तिपुरका गंगा बीसीले गरेको कुराकानी ।  

पार्टी सचिवालयले माओवादीसँग एकता गर्ने निर्णय गरेको थियो । त्यो निर्णयपछि तपाईंहरूको यात्रा कसरी अघि बढ्छ ?

केन्द्रीय कमिटीले माओवादीसँग पार्टी एकता गर्ने निर्णय गर्‍यो । त्यो निर्णयपछि हाम्रो पुरानो यात्रा लगभग टुंगिएको छ भन्ने निष्कर्षमा पुगेका छौं । बैठकको समीक्षा गरेर सानो कार्ययोजना बनाएर अगाडि बढ्ने उद्देश्यले राखिएको छ । त्यसैले बैठकमा समीक्षा र भावी कदमबारे छलफल गर्‍यौं । माओवादीसँग एकता प्रक्रिया टुंगिइसकेको छैन । त्यसपछि राजनीतिक गतिविधि अघि बढाउनेछौँ ।

तपाईंहरू एकता प्रक्रियामा सहभागी नहुने पक्का भइसकेको हो ?

अहिले दुईवटा कुरा छन् । एक राजनीतिक र अर्को कानुनी । हामी एकताको विरोधी होइनौँ, तर त्यस प्रक्रियामा सहभागी नहुने निर्णय गरेका मात्र हौं । हामीले उनीहरूलाई असर पनि गर्दैनौँ, दखल पनि दिँदैनौँ ।  तर यो पनि भनेका छौँ– हाम्रो पार्टीका धेरै जनप्रतिनिधिहरू वडा, प्रदेशदेखि राष्ट्रिय सभा तहसम्म छन्, जसले एकतामा जान चाहँदैनन् । त्यसैले कानुनी हिसाबले पार्टीको निर्णय भन्दै जबर्जस्ती नगर्नुहोस्, उनीहरूलाई स्वतन्त्र निर्णय गर्ने अधिकार दिनुहोस् भन्ने कुरा गरेका छौँ ।

अब तपाईंहरू पार्टीको गतिविधि कसरी अघि बढाउनुहुन्छ ?

एकतापछि कानुनी हिसाबले हामीले ‘नेकपा (एकीकृत समाजवादी)’ नाम प्रयोग गर्न पाउँदैनौं तर राजनीतिक रूपमा झन्डा–ब्यानरको माध्यमबाट हाम्रो गतिविधि सञ्चालन गर्न सक्छौँ । त्यसैले हामीले यही ब्यानर प्रयोग गरेर ‘एकीकृत समाजवादी’लाई पुनर्गठन गर्नेछौँ । निर्वाचन प्रयोजनका लागि भने हामी ‘वाम मोर्चा’ गठन गरेर भाग लिने तयारी गरेका छौँ । राजनीतिक गतिविधि खुला रूपमा यही ब्यानरबाट चल्नेछ । तर निर्वाचन प्रणाली र समानुपातिक मतको कारणले स्वतन्त्र रूपमा मात्रै चुनाव लड्न गाह्रो हुन्छ । त्यसैले वामपन्थी शक्तिहरूलाई एक ठाउँमा ल्याएर संयोजन गर्ने कुरा भएको छ । माओवादी र नेकपा एसको १७ गते दुई पार्टीको केन्द्रीय कमिटीबीच मर्जरको बैठक बस्दैछ । त्यो निर्णय भएपछि मात्र हामीले आफ्ना भेला, बैठक गरी पार्टी पुनर्गठन कार्य अघि बढाउनेछौँ । 

तपाईंहरूको समूह एमालेसँग मिल्ने तयारीमा सुनिन्छ, यो सत्य हो ?

राजनीति सम्भावनाको खेल हो, सम्भावना त सधैं हुन्छ । तर आजको दिनमा एमालेसँग मिल्ने कुनै योजना, कार्यक्रम वा निर्णय केही पनि छैन ।

समाजवादी पार्टी किन सफल हुन सकेन जस्तो लाग्छ ?

हामीले समाजवादी पार्टी समाजमा व्यापक असन्तुष्टि र संस्थागत पार्टीभित्रको असन्तुलनका बीचमा निर्माण गरेका थियौँ । नाम पनि राम्रो थियो, उद्देश्य पनि ठीक थियो । तर हाम्रो नेतृत्वको असक्षमताका कारण पार्टी बलियो बन्न सकेन, बरु विघटनतिर गयो ।

सबै जिम्मेवारी एउटै व्यक्तिमा केन्द्रित भयो । जनसंगठनमा गुटबन्दी भयो, कमिटीहरू चल्न सकेनन् । आज हेर्दा लाग्छ– माधवकुमार नेपालले पार्टीलाई आफू चाहेको ठाउँमा पुगेर विघटन गर्ने योजना अन्तर्गत यो गर्नुभयो ।

माओवादीमा एकताको विपक्षमा रहेका उपमहासचिव जनार्दन शर्मासँग सहकार्य होला ?

म उहाँलाई भन्न चाहन्छु – यो पार्टी हाम्रो साझा क्रान्तिको परिणाम हो, यो छोड्नु हुँदैन । कमान्डरले आफ्ना योद्धालाई बुझाएर पार्टी छोड्नु राम्रो हुँदैन । त्यही बसेर लड्नु राम्रो हुन्छ । आफूले लडेर बनाएको पार्टी अवसरवादीलाई बुझाउनु हुँदैन । तर माधव नेपालले पार्टी विघटन गरेर गइरहेका बेला हामीले एकत्रित गर्नुपर्छ । वाम आन्दोलनलाई पुनर्जीवित गर्नुपर्छ ।

गंगा

Link copied successfully