'भी फाइभ'को कमजोरीले समयमै महाधिवेशन हुन सकेन : महर 

सभापति, उपसभापति र महामन्त्रीलगायतका ‘भी–फाइभ’ पदाधिकारी समयमा महाधिवेशन गराउन नसकेकोमा बढी जिम्मेवार रहेको महरको भनाइ छ । 

कार्तिक १६, २०८२

कान्तिपुर संवाददाता

General convention could not be held on time due to 'V5' weaknesses: Mahar

काठमाडौँ — कांग्रेसका युवा नेता नैनसिंह महरले पार्टीका पदाधिकारीहरूले केन्द्रीय कार्यसमितिलाई बन्धक बनाएको आरोप लगाएका छन् । पार्टी केन्द्रीय कार्यसमितिको बैठक थप दुई दिन सरेपछि पार्टीका भ्रातृ संगठनका कार्यकर्ताहरूको अन्तरक्रियामा महरले राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बेलामा बैठकलाई अनिर्णयको बन्दी बनाएर कांग्रेसलाई कमजोर बनाउन खोजिएको बताए । 

उनले नियमित महाधिवेशनको कार्यतालिका चाँडो अघि सार्न पदाधिकारीहरूसँग आग्रहसमेत गरे । ‘कार्यतालिका समयमै नआएका कारण बारम्बार केन्द्रीय समितिको बैठक स्थगित हुँदा पार्टीका गतिविधिलाई  बन्धक बनाएको अनुभूति आफूलाई भएको छ,’ महरले भने । उनले पार्टीको विधानअनुसार चार वर्षमा हुनुपर्ने महाधिवेशन आजसम्म सम्पन्न गर्न नसक्नुमा केन्द्रीय समिति र विशेषगरी शीर्ष पदाधिकारीहरू जिम्मेवार रहेको औंल्याए । 

सभापति, उपसभापति र महामन्त्रीलगायतका ‘भी-फाइभ’ पदाधिकारी समयमा महाधिवेशन गराउन नसकेकोमा बढी जिम्मेवार रहेको उनको भनाइ छ । ‘विधानले दिएको जिम्मेवारीसमेत पूरा गर्न नसक्दा र सदस्यता वितरणलगायतका काम समयमा नहुँदा आजको स्थिति आएको हो,’ उनले भने,पार्टीलाई यो स्थितिमा  पुर्‍याउने पदाधिकारीहरूले कमजोरीको जिम्मेवारी लिनुपर्छ ।’ 

उनले पार्टीभित्र विशेष महाधिवेशन, नियमित महाधिवेशन वा समयमै महाधिवेशन गर्नुपर्ने जस्ता सबै सुझावहरूले कांग्रेसलाई बलियो बनाउने भन्दै सबै विचार समूहलाई समेटेर एकीकृत धारणा तत्काल आउनुपर्नेमा जोड दिए ।

कान्तिपुर

Link copied successfully