कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित, कार्यसम्पादन समितिको बैठक धोबीघाटमा जारी

शीर्ष नेताहरू सहभागी रहेको कार्यसम्पादन समितिमा पनि पार्टीको १५औं महाधिवेशन निर्वाचन अगाडि गराउने कि पछाडि गर्ने भन्ने विषयमा मतान्तर कायमै छ ।

कार्तिक १६, २०८२

कान्तिपुर संवाददाता

Congress Central Committee meeting postponed, Working Committee meeting continues at Dhobighat

काठमाडौँ — महाधिवेशनको कार्यतालिकाका विषयमा सहमति जुटाउन कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अहिले धोबीघाटमा जारी छ । कार्यतालिकामा साझा धारणा बन्न नसकेपछि कार्यवाहक सभापति खडकाले केन्द्रीय कार्यसमितिका बैठक थप दुई दिन स्थगित गरेर कार्यसम्पादन समितिको बैठक राखेका हुन् । 

शीर्ष नेताहरू सहभागी रहेको कार्यसम्पादन समितिमा पनि पार्टीको १५औं महाधिवेशन निर्वाचन अगाडि गराउने कि पछाडि गर्ने भन्ने विषयमा मतान्तर कायमै छ । 

शनिबारको पदाधिकारी बैठकमा महामन्त्री गगन थापालाई कार्यतालिका प्रस्तुत गर्न दिने विषयमा सकारात्मक भएको थियो । थापाले पुस १६–१९ मा केन्द्रीय महाधिवेशन गर्नेगरी नै कार्यतालिका प्रस्तुत गर्ने तयारीमा थिए । तर, आइतबार बिहान संस्थापनपक्षका नेताहरू निर्वाचन अगाडिको महाधिवेशनमा जानै नसकिने अडान राखेका थिए ।

थापाले पुसमा १६–१९ को कार्यतालिका प्रस्तुत गरेमा संस्थापनपक्षबाट समेत सहमहामन्त्री महेन्द्र यादवले वैशाखमा केन्द्रीय महाधिवेशन गर्नेगरी काउन्टरमा अर्को कार्यतालिकाको तयारी गरेका थिए । संस्थापन पक्षमा रहेका सात पूर्व पदाधिकारीहरू नै निर्वाचन अगाडि कुनै पनि हालतमा महाधिवेशन गराउने पक्षमा देखिएका छैनन् । उनीहरूको जोडले अघिल्लो दिन बनिसकेको सहमति भत्किएको एक केन्द्रीय सदस्यले बताए । 

धोबीघाटमा बसीरहेको कार्यम्पादन समितिको बैठकमा संस्थापनपक्षले वैशाखमा केन्द्रीय महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याउनुपर्ने अडान राखिरहेको  छ भने इतरपक्षले पुस १६–१९ को कार्यतालिको प्रस्ताव गरिरहेको छ । मध्यमार्गी धारमा रहेका नेता शेखर कोइरालाले पुस १६–१९ को कार्यतालिकामा सहमति गराउनका लागि विदेशमा रहेका पार्टीका सभापति शेरबहादुर देउवासँग टेलिफोन परामर्शसमेत गरेका थिए ।

शनिबार देउवासँग परामर्श गरेको उनको सचिवालयले जनाएको छ । ‘देउवासँग कुराकानी भएपछि केही सकारात्मक माहोल भएको थियो । आज पुस मध्यभित्र नै  महाधिवेशन गराउने गरी कार्यतालिका प्रस्तुत हुने आशामा थियौं,’ इतरपक्षका एक नेताले भने,‘हिजो सकारात्मक देखिएका नेताहरूसमेत आज कडा रूपमा प्रस्तुत भएपछि स्थिति बिग्रेको हो ।’

कान्तिपुर

Link copied successfully