एमालेको महाधिवेशन स्थल परिवर्तन

एमालेको महाधिवेशन मंसिर २७ गतेदेखि २९ गतेसम्म गर्ने निर्णय भइसकेको छ । महाधिवेशनका लागि ६ लाख ६७ हजार ६ सय ३० पार्टी सदस्यबाट विभिन्न अनुपातमा प्रतिनिधि चयन गरिने बताइएको छ ।

कार्तिक १५, २०८२

कान्तिपुर संवाददाता

UML general convention venue changed

काठमाडौँ — नेकपा (एमाले) को ११औँ महाधिवेशन काठमाडौँमा हुने भएको छ । शनिबार गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । यसअघि बसेको केन्द्रीय कमिटीको बैठकले ११औँ राष्ट्रिय महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको थियो । तर आजको बैठकले स्थान परिवर्तन गरी काठमाडौँमा गर्ने निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

एमालेको महाधिवेशन मंसिर २७ गतेदेखि २९ गतेसम्म गर्ने निर्णय भइसकेको छ । महाधिवेशनका लागि ६ लाख ६७ हजार ६ सय ३० पार्टी सदस्यबाट विभिन्न अनुपातमा प्रतिनिधि चयन गरिने बताइएको छ । प्रतिनिधि चयन आगामी मंसिर १३ गते शनिबार देशभर एकसाथ हुने जनाइएको छ । प्रतिनिधिहरूको विवरण मंसिर १५ गते साँझसम्म केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने पनि जनाइएको छ ।

प्रतिनिधि चयनका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्रलाई आधार मानिएको छ । एउटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १ हजार २ सय पार्टी सदस्य बराबर दुई जना खुला, एक जना महिला, एक जना ४० वर्ष मुनिका युवा गरी हरेक निर्वाचन क्षेत्रबाट कम्तीमा चार जना निर्वाचित हुने जनाइएको छ । त्यसबाहेक प्रत्येक ८ सय सदस्य संख्या थपिँदै जाँदा थप एक जना प्रतिनिधि चुनिने र त्यसमध्ये महिला अनिवार्य हुने भनिएको छ । प्रतिनिधिमा न्यूनतम एक तिहाइ महिला सहभागिता गराइने दाबी गरिएको छ ।

दलित पार्टी सदस्यहरूको हकमा उनीहरूका लागि जिल्ला निर्वाचन इकाई हुने र हरेक पाँच सय दलित प्रतिनिधिमध्येबाट एक जना प्रतिनिधि निर्वाचित हुने व्यवस्था गरिएको छ । आरक्षित क्षेत्र (ट्रेड युनियन) का लागि प्रदेशलाई इकाई मानिएको र प्रदेशमा रहेका ट्रेड युनियनका पार्टी सदस्यहरूमध्येबाट दुई जना महिला र पाँच जना खुला गरी सात जना हरेक प्रदेशबाट निर्वाचित हुने जनाइएको छ ।

तेइस वटा पार्टीका जनसंगठनबाट दुई जना महिला र तीन जना खुला गरी पाँच जना प्रतिनिधि हुने बताइएको छ । महासंघीय संरचनाका छ वटा जनसंगठनबाट थप सात जना प्रतिनिधि रहने जनाइएको छ । पार्टीका ३२ वटा विभागहरूबाट हरेक विभागबाट एक जना र केन्द्रीय कार्यालयबाट एक जना प्रतिनिधि चयन हुने व्यवस्था गरिएको छ ।

पार्टीका प्रदेश कमिटीबाट तीन जना खुला र दुई जना महिला गरी पाँच जना निर्वाचित हुने छन् । प्रवासमा रहेका छ वटा महादेशस्तरका संगठनबाट हरेकबाट पाँच जनाका दरले प्रतिनिधि निर्वाचित हुने जनाइएको छ ।

९ सय ७० तल्लो संगठनहरूबाट, विशेष जिल्लाबाट ४७, दलितबाट ८१, ट्रेड युनियनबाट ४९, प्रवासबाट ३०, केन्द्रीय विभाग र कार्यालयबाट ३३, जनसंगठनबाट १२७ गरी करिब २ हजार १ सय प्रतिनिधि हुने जनाइएको छ ।

पदेनमा केन्द्रीय कमिटीबाट ३५४ जना, अनुशासन आयोगबाट २९, लेखा आयोगबाट ३०, निर्वाचन आयोगबाट २५ जना, सल्लाहकारबाट २५ जना गरी ४६४ जना पदेन प्रतिनिधि रहने जनाइएको छ ।

संविधानको रक्षा र लोकतन्त्रको जगेर्नाका लागि जनपरिचालन गर्ने योजनाअनुसार देशभरका ६ हजार ७ सय ४३ वटै वडामा आगामी कार्तिक २२ गते जनभेला, कार्तिक २५ गते प्रत्येक पालिकामा प्रदर्शन, प्रत्येक जिल्लामा कार्तिक २९ गते जनसभा र काठमाडौँमा मंसिर ६ गते जनसभा गर्ने निर्णय गरिएको छ ।

विधान महाधिवेशनबाट आएका सुझावहरू परिमार्जन गरी कार्तिक २० गतेसम्म अन्तिम रूप दिने निर्णय भएको पनि जनाइएको छ ।

कान्तिपुर

Link copied successfully