शनिबार पार्टी एकताबारे अन्तिम निर्णय लिन बसेको बैठकमा उनले सो कुरा मान्य नहुने धारणा राख्दै बैठकबाट बाहिरिएका हुन् ।
काठमाडौँ — माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादी (नेकपा एस), नेकपा समाजवादी, जनसमाजवादी, नेपाल समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी (चिरन पुन) समूहसँग एकता गर्ने निर्णय गरेको छ ।
एकीकृत समाजवादीले शुक्रबार माओवादीसँग एकता गर्ने नीतिगत निर्णय गरेपछि शनिबार बसेको माओवादीको केन्द्रीय सचिवालयले नेकपा एसलगायत अन्य दलसँग एकता गर्ने निर्णय गरेको हो । यो निर्णयविरुद्ध उपमहासचिव जनार्दन शर्माले बृहत् वाम एकता नगरी एकतामा जान नहुने भन्दै फरक मत राखेका छन् । उनले नेकपा एसलगायत दलसँग हुनेको एकतामा नजाने बताएका छन् ।
केन्द्रीय सचिवालय बैठकपछि उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले राजनीतिक, वैचारिक, सैद्धान्तिक विषयमा सहमति भइसकेकाले नेकपा एसलगायत दलसँग एकता गर्ने निर्णय भएको जानकारी दिए । ‘नेकपा एकीकृत समाजवादी, नेकपा समाजवादी (राज कार्की), जनसमाजवादी (सुभाषराज काफ्ले) नेपाल समाजवादी पार्टी (महिन्द्रराय यादव) र नेकपा (चिरन पुन) सँग पार्टी एकता गर्ने निर्णय भएको छ,’ उनले भने, ‘राजनीतिक, सैद्धान्तिक विषयमा सहमति भइसकेको छ । छिट्टै एकता हुन्छ ।’
उनले तोकिएकै समयमा निर्वाचन गराउने वातावरण बनाउन पार्टी एकता हुन लागेको बताए । ‘एकता ढिला गरियो भने राष्ट्र झन् संकटमा पर्छ । एकता गरी पहलकदमी लिएर समयमै निर्वाचनको वातावरण बनाउनुपर्छ ।’
उनले एकताको विपक्षमा उभिएका उपमहासचिव शर्माको अभिव्यक्तिलाई गैरराजनीतिक र अराजक भएको टिप्पणी गरे । ‘जनार्दनजी तौरतरिका लोकतान्त्रिक, राजनीतिक छैन । अध्यक्षलगायत सबैले बस्नुस् छलफल गरौं । निष्कर्षमा पुगौंला भन्नुभयो । उहाँले मान्नु भएन,’ उनले भने, ‘उहाँको शैली जनवादी, लोकतान्त्रिक छैन । अराजक छ ।’
उपमहासचिव शर्माले राजनीतिक र वैचारिक धरातल छाडेर हुने एकतालाई समर्थन गर्न नसकिने बताए ।
‘पार्टीको सुदृढ नगर्ने, तलसम्म गुटबन्दी नगर्ने र आन्दोलनको भावनाविपरीत एकतालाई मान्न सकिँदैन,’ उनले इकान्तिपुरसँग भने, ‘बृहत् वाम एकता गरेर जानु पर्छ । यो विचार छोडेर एकता गर्नु विचलन हो । यो एकता माओवादीको पहिचान छाडेर हुन लागेको छ ।’
शर्माको भनाइ जस्ताको तस्तै :
अहिले सचिवालयको बैठकमा आफ्नो भनाइहरू राखेर म आएको छु । विशेषगरी अहिले जुन एकताको कुरा गरिएको छ, हाम्रो पार्टीले अघिल्लो वर्षको केन्द्रीय समिति बैठकमा मंसिरभित्र महाधिवेशन सम्पन्न गर्ने भन्ने निर्णय गरेको थियो । त्यो महाधिवेशनलाई छल्न प्रयास गरियो । पछिल्लो जेन–जेडी आन्दोलनपछि बसेको केन्द्रीय समितिले फेरि पनि महाधिवेशन गर्ने निर्णय गरेको थियो । त्यो निर्णयलाई छल्न, त्यसबाट वैचारिक बहसलाई अगाडि बढ्न नदिन र प्रतिस्पर्धाबाट नयाँ पुस्ताको नेतृत्व निर्वाचित हुन नदिनका लागि यो एकताको छलफल गरिएको हो । अहिलेको यो एकताले वर्तमान राजनीतिका समस्यालाई पनि समाधान गर्न सक्दैन । विभिन्न पार्टी फुटाएर टुक्रा–टुक्रा जोडेर पनि यो एकता सम्भव हुँदैन ।
मेरो कुरा के थियो भने— समग्र रूपमा कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने गरी बृहत् अभियान चलाउने, बृहत् रूपमा बहस गर्ने र एउटा लामो समय लिएर त्यहाँ पुग्न सकिन्छ भन्ने मेरो मान्यता हो । त्यो मान्यताविपरीत आफ्नै पार्टीलाई तलका मान्छे लगाएर टुटाउने, फुटाउने, गुटबन्दी गराउने, आफ्ना कार्यकर्तालाई संरक्षण नगर्ने र बाहिरका फुटेका समूहलाई ल्याएर जोड्ने, त्यो पनि हजारौँको कमिटी बनाएर— यसरी कम्युनिस्ट पार्टी अघि बढ्न सक्दैन भनेर मैले आफ्नो कुरा राखेको छु ।
दोस्रो कुरा, माओवादी पार्टीको विचार माओवाद हो । माओ विचार र माओवादलाई छोडेर बहुदलीय जनवादका आधारभूत कुरामा हामी आत्मसमर्पण गर्न सक्दैनौँ । यो वैचारिक रूपमा आत्मसमर्पण हो, जुन हामीलाई स्वीकार्य छैन ।
तेस्रो कुरा, आज जेन–जेडी आन्दोलनले उठाएको कुरा के थियो भने उसले सुशासनको कुरा उठाएको छ, भ्रष्टाचार अन्त्यको कुरा उठाएको छ । तर हामीले एकता गर्दा त्यसको संवेदनशीलतालाई बुझ्ने होइन, बरु त्यसलाई प्रश्रय दिने खालको एकता गर्न खोजिँदैछ । त्यो भारी माओवादी पार्टीले बोक्न सक्दैन, र त्यो भारी बोक्ने कुरा मलाई मान्य छैन । नेतृत्व हस्तान्तरण गर्ने कुरालाई पूरै अस्वीकार गर्दै जसरी फेरि पनि मनोनीत गरेर आफ्नो सुरक्षा घेरा बनाउने प्रयास गरिएको छ, त्यसले पार्टीलाई अघि बढाउन सक्दैन भन्ने कुरा राखेर म यो बैठकबाट निस्केको हुँ ।
