छलफलमा सहभागी नेताहरूले पार्टीको विधान र नेतृत्व परिवर्तनको आवश्यकता औंल्याउँदै विशेष महाधिवेशनले पार्टीलाई नयाँ दिशा दिने विश्वास व्यक्त गरे ।
काठमाडौँ — नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीमा विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएका नेताहरूसँग आज पहिलो चरणको छलफल गरेका छन् ।
विशेष महाधिवेशनको मागको अगुवाइ गर्ने युवा नेताहरू गुरुराज घिमिरे, देवराज चालिसे, मनोजमणि आचार्यलगायतका नेताहरूले वर्तमान राजनीतिक परिस्थिति र पार्टीको भविष्यबारे चिन्ता व्यक्त गर्दै तत्काल विशेष महाधिवेशन बोलाउनुपर्नेमा जोड दिएका थिए ।
छलफलमा सहभागी नेताहरूले पार्टीको विधान र नेतृत्व परिवर्तनको आवश्यकता औंल्याउँदै विशेष महाधिवेशनले पार्टीलाई नयाँ दिशा दिने विश्वास व्यक्त गरे । उनीहरूले पार्टीको नीति, नेतृत्व र विधानका विषयमा छलफल गर्नुपर्ने र यसका लागि विशेष महाधिवेशन उपयुक्त विकल्प भएको बताए ।
जवाफमा कार्यवाहक सभापति खड्काले पार्टी विधानको व्यवस्थाअनुसार नै निर्णय लिने प्रतिवद्धता व्यक्त गर्दै पार्टीभित्रको आन्तरिक छलफललाई निरन्तरता दिने बताएका थिए । उनले विशेष महाधिवेशनको मागलाई पार्टीको केन्द्रीय समिति र पदाधिकारी बैठकमासमेत राखेको जानकारी दिए । खड्काले आफू पार्टीको विधि र विधानभन्दा बाहिर नजाने र पार्टीको हितमा निर्णय लिने बताएका थिए ।
विशेष महाधिवेशनको माग गर्ने नेताहरूले पार्टीको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै पार्टीका क्रियाशील सदस्यहरूको विवरण अद्यावधिक नभएको, विभिन्न जिल्लाका पार्टी कार्यालयमा जेन–जी आन्दोलनको क्रममा आगलागी हुँदा अभिलेख नष्ट भएको र अन्य प्रतिस्पर्धी दलहरू अधिवेशनतर्फ अघि बढिरहेको अवस्थामा कांग्रेसले समयमै विशेष महाधिवेशनको निर्णय लिनुपर्नेमा जोड दिएका थिए ।
छलफल सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको र आफूहरू आशावादी रहेको युवा नेता आचार्यले बताए ।
