महाधिवेशन कार्यतालिकाबारे छलफल गर्न बसेको कांग्रेस पदाधिकारी बैठक निष्कर्षविहीन

निर्वाचन अघि गर्ने कि पछि भन्ने विषयमा देखिएको विवाद समाधान गर्न शनिबार पार्टी मुख्यालय सानेपामा बसेको पदाधिकारी बैठकमा पनि सहमति जुट्न सकेन ।

कार्तिक १५, २०८२

कान्तिपुर संवाददाता

Congress office bearers' meeting to discuss general convention schedule inconclusive

काठमाडौँ — पार्टीको आसन्न महाधिवेशनको कार्यतालिकाबारे सहमति जुटाउन बसेको नेपाली कांग्रेस पदाधिकारी बैठक निष्कर्षविहीन बनेको छ ।

निर्वाचन अघि गर्ने कि पछि भन्ने विषयमा देखिएको विवाद समाधान गर्न शनिबार पार्टी मुख्यालय सानेपामा बसेको पदाधिकारी बैठकमा पनि सहमति जुट्न सकेन । बैठक समान धारणा बनाउने निष्कर्षका साथ सकिएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले बताएका छन् ।

प्रवक्ता महतका अनुसार पदाधिकारी बैठक बसेर टुंगिएको छ । 'केन्द्रीय कार्यसमितिमा चलिरहेको छलफललाई सर्वसम्मत निर्णयमा कसरी पुर्‍याउने भन्नेमा नै हाम्रो ध्यान केन्द्रित छ । सहमति नजिक पुगेको अनुभव मैले गरेको छु । केन्द्रीय समितिले यही सहमतिबाट निर्णय गर्नेछ, र एउटै दृष्टिकोणबाट निष्कर्षमा पुग्नेछ भन्ने विश्वास छ,' उनले भने ।

उनले १५औँ महाधिवेशन आम निर्वाचनअघि गर्दा राम्रो हुन्छ कि पछि गर्दा हुन्छ भन्ने विषयमै मतभेद रहेको छ । उनले भने, 'तर धेरै हिसाबले हामी नजिक आएका छौँ, र अन्ततः एउटै निष्कर्षमा पुग्नेछौँ भन्ने मलाई लागेको छ ।'

नेपाली कांग्रेसको संस्थापन पक्षले आगामी वैशाखतिर, अर्थात् निर्वाचनपछि मात्रै पार्टीको महाधिवेशन गर्न उपयुक्त हुने अडान लिँदै आएको छ । तर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितको इतर पक्षले निर्वाचनअघि नै विशेष महाधिवेशन गर्नुपर्ने माग गर्दै आएका छन् । यही विषयमा मतभेद बढेपछि चालु केन्द्रीय समितिको बैठक पनि भोलिसम्मका लागि स्थगित गरिएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully