कांग्रेस महामन्त्री शर्माद्वारा महासमिति सदस्यहरुको ‘भोटिङ’ लिन प्रस्ताव

शर्माले दुई दिनअघि नै सार्वजनिक गरेको चार विकल्पका प्रस्तावमध्ये पुस १६–१९ को नियमित महाधिवेशनको विकल्प एउटा थियो । शनिबार यही विकल्पमा छलफल भएको थियो ।

कार्तिक १५, २०८२

कुलचन्द्र न्यौपाने

Congress General Secretary Sharma proposes to take 'voting' of Mahasamiti members

काठमाडौँ — कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको १५ औं महाधिवेशन निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने सन्बन्धमा महासमिति सदस्यहरुको ‘भोटिङ’ लिन प्रस्ताव गरेका छन् ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शनिबार राखेको पदाधिकारी बैठकमा शर्माले पुस १७ गते बीपी कोइरालाले मेलमिलाप दिवस पारेर स्वदेश फर्केको अवसरमा उद्घाटन गर्ने गरी महाधिवेशन सम्पन्न गर्न प्रस्ताव अघि सारेका थिए ।

शर्माले दुई दिनअघि नै सार्वजनिक गरेको चार विकल्पका प्रस्तावमध्ये पुस १६–१९ को नियमित महाधिवेशनको विकल्प एउटा थियो । शनिबार यही विकल्पमा छलफल भएको थियो ।

केन्द्रीय कार्यसमितिको बहुमतका आडमा संस्थापन पक्षले महाधिवेशन निर्वाचन पछाडि धकेल्न खोजिरहेका बेला शर्माले निकासका लागि अर्को विकल्पमा महासमिति सदस्यको ‘भोटिङ’को प्रस्ताव गरेका थिए । यसले संस्थापन पक्षलाई थप दबाब बढाउँदै लगेको छ । कांग्रेसमा महाधिवेशनपछिको पार्टीको सर्वोच्च निकाय महासमिति हो ।

‘निर्वाचन अगाडि कि पछाडि भन्नेमा हामीले १२ घण्टाका बीचमा डिजिटल भोटिङ गर्न सकिन्छ । डिस्कर्डमा चिनिएका, नचिनिएका जोसुकै आएर देशको प्रधानमन्त्री छान्न सकिन्छ भने कांग्रेसको महासमिति सदस्यहरुको भोटिङ लिन नसकिने भन्ने हुन्न,’ शर्माले भने,‘भोटिङबाट बहुमत जुनको पक्षमा हुन्छ, त्यसैमा जान सकिन्छ ।’

त्यसबारेमा संस्थापन पक्षले भने कुनै प्रतिक्रिया नदिई निर्वाचन र पार्टीको महाधिवेशन सँगै जान नसक्ने अडान कायम राखेको छ । निर्वाचन अगाडि महाधिवेशन गर्ने कार्यतालिका प्रस्तुत गर्ने अनुमति नपाउँदासम्म महामन्त्री गगन थापाले केन्द्रीय कार्यसमितिको बैठकमै नजाने चेतावनी दिएका छन् । थापाले बिहीबारको बैठक बहिष्कार गरेका थिए । 

शुक्रबारको बैठक सहमति जुटाउने भन्दै बस्दै नबसी आइतबारसम्मको लागि स्थगित भएको थियो । ‘मध्यमार्गी सहमतिका लागि पुस १६–१९ को कार्यतालिकाको बीचमा छलफल भइरहेको छ । आज अलि सकारात्मक भएको छ । आइतरबार बिहानसम्म समझदारी जुटाएर बैठकमा कार्यतालिका लैजाने मनस्थिति बनाएका छौं,’ शर्माले भने ।

कुलचन्द्र न्यौपाने

Link copied successfully