जसले आजीवन राजनीति गर्छु भनेर हिँड्नुभयो, उहाँहरूबाटै राजनीति हुन सकेन : राजेश हमाल

तपाईं राजनीतिमा नआउने ? राजेश हमालको उत्तर छ : म तपाईंलाई ठोस निर्णय दिन सक्दिनँ । म राजनीतिक पृष्ठभूमिको होइन । मसँग कुनै संगठन पनि छैन । मैले कुनै संगठनलाई नेतृत्व पनि दिइराखेको छैन ।

कार्तिक १४, २०८२

कान्तिपुर संवाददाता

Those who said they would be in politics their whole life could not become politicians: Rajesh Hamal

What you should know

काठमाडौँ — अभिनेता राजेश हमाल बुधबार पोखरामा आफ्ना जीवन, भोगाइ र सिनेमाका विषयमा खुलेर गाफिए । फाइनप्रिन्ट बुक्स र र्‍यान्डम रिडर्स सोसाइटीको आयोजनामा भएको फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सवको अन्तिम सेसन हमालले पत्रकार अपिल त्रिपाठीसँग आफ्ना धेरै विगतका कुरा खोले ।

उनीहरूबीचको कुराकानी ‘युगदेखि युगसम्म’ मा आधारित थियो । उक्त पुस्तक राजेश हमालको जीवन, सिनेमा र जीवनका विविध आयायलाई समेटिएर लेखिएको छ । 

उक्त सेसनमा राजेशले आफ्नो व्यक्तिगत जीवनसँगै राजनीतिक अवस्थाको बारेमा पनि चित्रण गरे । उनले राजनीतिमा चासो नराखे पनि राजनीतिले सबैलाई चासो राख्ने उल्लेख गरे । ‘राजनीति एउटा यस्तो जटिल विषय हो । तपाईंले राजनीतिलाई चासो नराखेता पनि राजनीतिले तपाईंलाई चासो राख्छ,’ उनले भने । 

आजीवन राजनीति गरेकाहरूबाट हुन नसकेपछि समाज अन्योलतामा परेको हमालले बताए । ‘जो व्यक्तिले आजीवन राजनीतिमा लाग्छु भनेर आफ्नो पहिलो खुड्किला टेक्यो । समाजको सेवा गर्छु राजनीतिबाट लाग्नुभयो  । उहाँहरूबाट राजनीति हुन सकेन,’ उनले भने, ‘त्यसकारण पनि समाज अन्योलतामा परेर यो व्यक्तिबाट हुन्छ कि यो क्षेत्रमा हाँकेको व्यक्ति राजनीतिमा आयो भने राम्रो हुन्छ कि भनेर समाजमा विमर्श हुन्छ ।’

राजनीति देशको मेरुदण्ड भएकाले कुनै पनि व्यक्ति राजनीतिक घेराबाट उम्किन नसक्ने अभिनेता हमालले बताए । उनले भने, ‘हरेक व्यक्तिले आ-आफ्नो क्षेत्र भए पनि राजनीतिमा किन चासो राख्नुपर्छ भने राजनीति भनेको साँच्चिकै राष्ट्रको मेरुदण्ड हो ।’ 

हमालले हरेक क्षेत्रमा लागेको व्यक्तिले समाजप्रति आफ्नै किसिमको योगदान दिने उल्लेख गरे । उनले भने, ‘हरेक क्षेत्रमा लागेको व्यक्तिले समाजप्रति आफ्नै किसिमको उत्तरदायित्व बहन गर्छन् । जो व्यक्ति राजनीतिमा डुबेको छ । आफ्नै पेशागत हिसाबबाट समाजलाई सम्बोधन गर्ने प्रयास गरेका हुन्छन् ।’ 

पुस्तक नितान्त जीवन र भोगाइका बारेमा लेखिएको अभिनेता हमालले बताए । ‘यो पुस्तक मेरो जीवनी र मेरा जीवनका अनुभवका बारेमा हो । त्यसलाई हामीले नितान्त सत्यता, खुला रिदयका साथ अतिरञ्जित नगरिकन, फूलबुट्टा नभरिकन, हुबहुँ लेख्ने प्रयास गरेका छौं,’ उनले भने । जीवनकालमा आफूसँग जोडिएका व्यक्तिहरूको संवेदनशीलतालाई ख्याल गरी समावेश गरिएको हमालले उल्लेख गरे । 

नितान्त व्यक्तिगत सोचका साथ चलचित्रमा लागेको अभिनेता हमालले बताए । ‘म चलचित्रमा लाग्दा परिवारबाट सपोर्ट गर्नुभएको थिएन । आफ्नो व्यक्तिगत चाहनाका कारण चलचित्रमा लागेँ,’ उनले भने, ‘चलचित्रबाट सफल भएको कुरा परिवारलाई सुनाउन पाइनँ ।’ 

संवादमा अभिनेता हमालले आगामी दिनमा राजनीति आउने संकेतसमेत गरे । तपाईं राजनीतिमा आउनुहुन्छ ? भन्ने प्रश्नमा राजेशले भने, ‘म तपाईंलाई ठोस निर्णय दिन सक्दिनँ । म राजनीतिक पृष्ठभूमिको होइन । मसँग कुनै संगठन पनि छैन । मैले कुनै संगठनलाई नेतृत्व पनि दिइराखेको छैन । म कुनै पदमा भएर, निस्कासन भएर फेरि कसरी लाग्नुहुन्छ भन्ने परिबन्धमा पनि छैन ।’

उनले थपे, ‘म असाध्यै स्वतन्त्र व्यक्ति छु र एउटा पेसालाई हाँकिरहेको छु  । तर जो कोहीलाई राजनीतिमा किन चासो छ भने आफ्नो समाज सही दिशामा जाओस् ।’

कान्तिपुर

Link copied successfully