सातै प्रदेशका मुख्यमन्त्री भेट्दै प्रधानमन्त्री

प्रधानमन्त्री कार्कीले आइतबार दिउँसो ४ बजे प्रधानमन्त्री कार्यालयमा सातै प्रदेशका मुख्यमन्त्रीलाई निर्वाचनको विषयमा छलफल गर्न बोलाएकी छन् ।

कार्तिक १४, २०८२

सुवास विडारी

Prime Minister meets Chief Ministers of all seven provinces

मकवानपुर — अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीसँग फागुनमा हुने संसदीय निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् ।

प्रधानमन्त्री कार्कीले आइतबार दिउँसो ४ बजे प्रधानमन्त्री कार्यालयमा सातै प्रदेशका मुख्यमन्त्रीलाई निर्वाचनको विषयमा छलफल गर्न बोलाएकी छन् । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अनुसार अन्तरिम सरकार गठन भएपछि पहिलो पटक प्रधानमन्त्रीसँग देशको समसामयिक राजनीतिक विषय र फागुनमा हुने निर्वाचनबारे छलफलका लागि भेटघाट गर्न समय तय भएको बताए ।

‘प्रधानमन्त्रीज्यूले भेट्नका लागि समय निर्धारण गर्नुभएको छ । हामी सातै प्रदेशका मुख्यमन्त्रीले उक्त भेटमा देशको वर्तमान अवस्था, संसदीय निर्वाचन र प्रदेशको अवस्थाबारे छलफल गर्नेछौं,’ बानियाँले भने । वर्तमान सरकार निर्वाचन गराउन गठन भएका कारण प्रदेशले निर्माण गर्ने कानुन, संघले प्रत्यायोजन गर्ने अधिकारलगायत विषयमा भने छलफल हुने सम्भावना नरहेको उनले बताए ।

प्रदेशका मुख्यमन्त्रीहरुले हरेक वर्ष अन्तरप्रदेश मुख्यमन्त्री भेला गरी संयुक्त घोषणापत्र जारी गर्दै प्रधानमन्त्रीलाई भेटेर संघीयताको पूर्णरुपमा कार्यान्वयन गर्न आवश्यक अधिकार माग गर्नै गरेका थिए । तर, यस वर्ष जेन-जी आन्दोलनका कारण यस बैठक बस्न सकेको छैन ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully