माओवादीसँग एकताको विपक्षमा उभिएका नेकपा एसका असन्तुष्ट पक्ष एमालेसँग संवादमा 

शुक्रबार नै एमाले अध्यक्ष ओलीले नेकपा एसका असन्तुष्ट नेतालाई लक्षित गर्दै घर फर्कन आहृवान गरेका छन् ।

कार्तिक १४, २०८२

गंगा बीसी

Dissident faction of CPN-S, which opposes unity with Maoists, in dialogue with UML

What you should know

काठमाडौँ — एकीकृत समाजवादीले माओवादीसँग पार्टी एकतालाई टुंगोमा पुर्‍याउने जिम्मा केन्द्रीय सचिवालयलाई दिएको छ ।

केन्द्रीय कमिटीको बैठकमा सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्ष घनेन्द्र बस्नेत महासचिव घनश्याम भुसाल, उपमहासचिब विजय पौडेल, नेतृ रामकुमारी झाँक्रीलगायत एक दर्जन नेताहरुले असहमति राखेपछि माओवादीसँग एकता गर्ने अन्तिम निर्णय हुन सकेन । 

माओवादीसँग एकताबारे विवाद भइरहेका विपक्षमा उभिएका नेताहरु एमालेसँग संवादमा रहेका छन् । शुक्रबार नै एमाले अध्यक्ष ओलीले नेकपा एसका असन्तुष्ट नेतालाई लक्षित गर्दै घर फर्कन आहृवान गरेका छन् । खनाल, भुसाल, झाँक्रीसँग एमालेका नेताहरुले संवाद सुरु गरिसकेका छन् । ‘नेकपा एसका नेताहरुसँग अनौपचारिक संवाद सुरु भइसकेको छ । अध्यक्ष नेपाल पक्ष माओवादीतिर गए असहमत पक्ष एमालेतिर आउनेबारे संवाद हुँदैछ,’ एमालेका एक नेताले भने । 

नेकपा एसका एक वरिष्ठ नेताले एमाले अध्यक्षबाहेक नेतासँग आफूहरु नियमित संवादमा रहेको पुष्टि गरे । ‘एमालेको नेतासँग अनौपचारिक कुराकानी भइरहेको छ,’ उनले भने, ‘अहिले नै एमालेतिर जाने भन्ने होइन ।’

‘माओवादीसँग एकताका लागि सचिवालयले निर्णय गर्ने छ । केन्द्रीय कमिटीले यसलाई टुंगोमा पुर्‍याएन,’ महासचिव घनश्याम भुसालले भने, ‘हाम्रो असहमति सचिवालय बैठकमा राख्छौं ।’ संस्थापन पक्षले केन्द्रीय कमिटीबाट माओवादीसँग एकता गर्ने अन्तिम निर्णय गर्ने तयारी गरेको थियो । बैठकमा हतारमा निर्णय गर्न नहुने बलियो मत आएपछि अन्तिम निर्णय गर्ने जिम्मा केन्द्रीय सचिवालयलाई दिइएको छ ।

बैठकपछि उपाध्यक्ष एवं प्रवक्ता प्रकाश ज्वालाले भने माओवादीलगायत दलसँग एकता गर्ने नीतिगत निर्णय गरेको जानकारी दिए । ‘बैठकले नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रलगायत राजनीतिक दलहरुसँग पार्टी एकता गर्ने नीतिगत निर्णय गरेको छ । एकताको सम्पूर्ण प्रक्रिया कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा सचिवालयलाई अधिकार दिएको छ,’ उनले भने, ‘पार्टी एकता गर्ने सर्वसम्मतिले निर्णय गरेका छौं ।’ उनले अध्यक्ष माधवकुमार नेपालको माओवादीसँग एकतालाई प्राथमिकतामा राखिएको राजनीतिक प्रतिवेदन खुला बहसपछि सर्वसम्मत रुपमा पारित गरेको बताए । ‘ हामीले जनवादी तरिकाले खुला रूपमा बहस गरेर अध्यक्षको पार्टी एकताको प्रस्ताव सर्वसम्मतिले निर्णय गरेका छौं,’ उनको भनाइ थियो ।

अर्को पक्षले भने सर्वसम्मत निर्णय नभएकाले केन्द्रीय समितिले पार्टी एकताका लागि अन्तिम निर्णय गर्ने बताए । संस्थापन पक्षले भने पार्टीको उच्चतम निकाय केन्द्रीय कमिटीले एकताको निर्णय गरिसकेकाले अब नरोकिने बताए ।

बैठकको समापन गर्दै नेपालले माओवादीसँग एकता भएपछि संयोजक पुष्पकमल दाहाल र आफूले प्रमुख जिम्मेवारीबाट छाड्ने बताएका थिए । ‘मैले एकतापछि प्रचण्डलाई छाड्नुपर्छ भनेको छु, मैले पनि छाड्छु,’ उनको भनाइ थियो । 

केन्द्रीय कमिटीमा बोल्ने एक सय ५१ केन्द्रीय सदस्यमध्ये बहुमतले माओवादीलगायत वामपन्थीसँग एकता गर्नुपर्ने पक्षमा धारणा राखेका थिए । उनीहरुले एकता गर्दा सैद्धान्तिक, वैचारिक आधारमा ठोस सहमति गरेर मात्र एकता गर्नुपर्ने बताएका थिए । 

नेता खनाल, महासचिव भुसाल, नेतृ रामकुमारी झाँक्रीले बहुमतको बलमा माओवादीसँग एकता गरे नेकपा एसलाई पुनर्गठन गरी अघि बढ्ने चेतावनी दिएका छन् । पार्टी एकताको प्रस्तावमा असहमति राख्दै झाँक्रीले समाजवादीलाई पुनर्गठन गर्ने अडान राखेकी थिइन् । ‘हामी यो पार्टी पुनर्गठन गरेर जान्छौं । तपाईंहरूले एकतामा सहमत नहुने साथीहरू, जनप्रतिनिधिहरूलाई कारबाही गर्ने दुस्प्रयास नगर्नुहोला,’ उनले शुक्रबार बैठकमा भनिन्, ‘तपाईंले माओवादी पार्टीसँग गरेको एकतामा सनाखत गर्नुहुन्छ कि हुन्न ? नगर्दा फरक पर्दैन । यो कानुनीभन्दा राजनीतिक नैतिक अभियान हो ।’

उनले एकतामा जानेलाई शुभकामना दिँदै आफू बाहिरै रहने बताइन् । ‘यो एकतामा सहमत हुनेहरू जानुस्,’ उनले भनिन्, ‘हामी वाम एकताको पक्षमा हो । तर ती वाम पार्टीहरू नेतृत्व पुनर्गठन, रूपान्तरण र एकता हो,’ उनले थपिन्, ‘हामी सबै वाम पार्टीहरूसँग एकता खोजेको हो ।’

उनले एमालेलाई दक्षितपन्थी भनेर क्षणिक न्यानो मानेको बताएकी छन् । ‘यहाँ एमालेलाई दक्षिणपन्थी बिल्ला भिराएर क्षणिक न्यानो महसुस गरे जस्तो गरेको छ,’ उनले भनाइ थियो ।  

माओवादीसँग एकतामा गर्न खोज्नुको पछाडिको कारण मुख्यगरी अध्यक्ष नेपालको व्यक्तिगत रक्षाको प्रश्नसँग जोडिएको असन्तुष्ट एक नेताको भनाइ छ । काभ्रेको पतञ्जलि जग्गा हिनामिना प्रकरणमा मुद्दा लागेपछि माधव नेपालले हतारमा माओवादीसँग एकता गर्न लागेको ती नेताको भनाइ छ । ‘यो एकतामा वैचारिक आधार केही छैन । माधव नेपालको सुरक्षासँग जोडिएको छ,’ उनले भने । 

एकताको विपक्षमा उभिएका एक नेताका अनुसार नेकपा एसलाई पुनगर्ठन गरी पार्टी निर्माणको गृहकार्य सुरु भइसकेको छ ।

नेकपा एसको असन्तुष्ट पक्षलाई ओलीको आहृवान - आफ्नै घर फर्किनुस् 

 एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी छाडेर गएका नेता तथा कार्यकर्तालाई घर फर्कन आग्रह गरेका छन् । नेकपा एकीकृत समाजवादीमा माओवादीसँग एकता गर्नेबारे विवाद भइरहेका बेला ओलीले फरक मत राख्नेलाई एमालेमा फर्कन सार्वजनिक रुपमा आहृवान गरेका हुन् ।

‘विगतमा नेकपा (एमाले)को निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँड्नु भएका सबै नेता–कार्यकर्तालाई हृदयदेखि आहृवान गर्न चाहन्छु,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस् । यो घर तपाईंहरूको पसिना र रगतले बनेको हो ।’

उनले एमालेमा एकजुट भएर आशाको ज्याति बाल्न सकिने बताएका छन् । ‘फेरि हामी सबै काँधमा काँध मिलाएर अघि बढौं, देशको स्वाधीनता जोगाऔं । लोकतन्त्रको रक्षा गरौं र जनताको जीवनमा सुख, समृद्धि र आशाको ज्योति बालौं,’ उनले आग्रह छ, ‘हामी एउटै परिवार हौं । हाम्रो लक्ष्य स्पष्ट छ-समृद्ध नेपाल, सुखी नेपाली । कोही अलमलमा नपर्नुस्, आउनुस्, आफ्नै घरमा-हाम्रो साझा सपना साकार पार्न । निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटौं ।’

उनले मुलुकमा देखिएको राजनीतिक संकट टार्ने दिशामा अघि बढ्न आवश्यक भएको बताएका छन् । ‘आज फेरि महाविनाश निम्त्याएर देशको सार्वभौम अस्तित्वमाथि चुनौती खडा गरिएको छ, लोकतान्क्रिक संविधानमाथि आत्रमण भइरहेको छ,’ ओली थप्छन्, ‘यस्तो बेला हामी मौन रहन सक्दैनौं । राष्ट्रिय एकता, देशको स्वाभिमान र लोकतन्त्रको रक्षाका लागि हामी सबै एकै मन, एकै स्वर र एकै दिशामा अघि बढ्नुपर्छ ।’

गंगा

Link copied successfully