आफ्नो समूहले निर्वाचनअगाडि महाधिवेशन गराउन नहुने भनेर दिएको बटमलाइनलाई बुझिदिन महामन्त्रीद्वयलाई खड्काले आग्रह गरेका छन् ।
What you should know
काठमाडौँ — कांग्रेसको नियमित कार्यतालिकाका विषयमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का र दुई महामन्त्रीबीचको आजको छलफल पनि सहमतिबिनै टुंगिएको छ ।
खड्का तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले समझदारीका लागि मंसिर मसान्तका ठाउँमा पुस १६–१९ मा केन्द्रीय महाधिवेशन गर्न कार्यतालिका प्रस्ताव गरेका थिए । महामन्त्री शर्माले यो वैकल्पिक कार्यतालिका बिहीबार बिहानै सार्वजनिक गरेका थिए ।
शुक्रबार बिहान तीन नेताको बैठक सकारात्मक नभएपछि पार्टी मुख्यालय सानेपामा दुवै पक्षले आआफ्नो समूहमा छलफल गरेर पुनः समझदारी जुटाउने गरी उठेका थिए । अहिले उनीहरु सानेपातिर लागेका छन् ।
महामन्त्री थापाले शुक्रबारकै बैठकमा कार्यतालिका प्रस्तुत गर्न पाउनुपर्ने माग गरे पनि संस्थापन पक्ष निर्वाचनअगाडि महाधिवेशन गराउन लचक नभएपछि उनी बैठकमा सहभागी नभई बाहिरिएका थिए ।
खड्काले भने आफ्नो समूहले निर्वाचनअगाडि महाधिवेशन गराउन नहुने भनेर दिएको बटमलाइनलाई बुझिदिन महामन्त्रीहरुसँग आग्रह गरेका थिए ।
विधानले तोकिएको समय सीमाभित्र महाधिवेशन गराउन भनेर सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी दिएको विषय दुई महामन्त्रीले खड्कालाई स्मरण गराएका थिए । पुस १६–१९ भित्र पनि नियमित महाधिवेशन नगराउने भए विशेष महाधिवेशन हुने महामन्त्रीहरुको चेतावनी थियो ।
तर, खड्काले बारम्बार आफ्नो समूहको अप्ठ्यारो सुनाएका थिए । ‘म पनि मंसिरभित्रै नियमित महाधिवेशनको कार्यतालिका ल्याउने पक्षमा सकारात्मक छु । तर मेरो समूहका साथीहरुले निर्वाचन अगाडि महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याउन मानिरहनु भएको छैन । म अझै समूहका साथीहरुलाई मनाउने कोसिस गर्छु,’ खडकाले भनेका थिए ।
साझा धारणा तय गर्न कोइराला निवासमा बैठक
आज बिहानै संस्थापनइतर पक्षमा साझा धारणा तय गर्न नेता शेखर कोइरालको विशालनगरस्थित सम्पर्क कार्यालयमा पनि बैठक बसेको थियो । इतरपक्षका पदाधिकारी बैकठमा महामन्त्री शर्माले आफूले अघि सारेको पुसको कार्यतालिकाका विषयमा नै कोइरालासँग छलफल गरेका थिए ।
संस्थापन र महामन्त्रीहरुबीचको संघर्षमा कुनै पनि कित्तामा नदेखिई मध्यमार्गी धारमा रहेका कोइरालालाई आफ्नो समूहलाई संंगठित बनाउने काम गर्न दुई महामन्त्रले आग्रह गरेका थिए । ‘पुस १६ मा नियमित महाधिवेशन भएन भने विशेष महाधिवेशन हुन्छ, हुन्छ । त्यसका लागि तयार हुनुपर्छ,’ महामन्त्रीहरुको भनाइ थियो ।
बैठकमा सहभागी सहमहामन्त्री बद्री पाण्डेका अनुसार पुसमा नियमित महाधिवेशन गराउने पक्षमा नेता कोइराला छन् । ‘यसअघि मंसिरमै नियमित महाधिवेशन गराउनुपर्छ भन्नेमा उहाँ अडिग हुनुहुन्थ्यो । बैठक लम्बिँदै गर्दा मंसिरभित्र नभ्याइने अवस्था बन्दै गयो । मंसिरभित्र क्रियाशील सदस्यता टुंग्याइयो भने १५ दिनभित्र सबै तहका अधिवेशन सम्पन्न गर्न सकिन्छ भन्नेमा कोइराला हुनुहुन्छ,’ पाण्डेले भने, ‘यो लचिलो कार्यतालिका हो, त्यहीअनुसार केन्द्रीय कार्यसमितिमा ल्याउनुहोस् भन्ने नै उहाँको धारणा रहेको छ ।’
अर्का सहमहामन्त्री जीवन परियारले निर्वाचनअगाडि नै महाधिवेशन गराउने विषयमा इतरपक्षको साझा धारणा बनेको बताए । ‘अब बैठक मात्रै लम्ब्याएर हुँदैन । मंसिर मसान्तमै सकिएन भने पुस १६ सम्म महाधिवेशन हुनेगरी कार्यतालिका ल्याउनुपर्छ । निर्वाचनअगाडि महाधिवेशन हुनैपर्छ भन्ने साझा धारणा बनाएर महामन्त्रीहरु कार्यवाहक सभापतिसँगको बैठकमा जानुभएको हो,’ विशालनगरको बैठकबारे परियारले भने, 'एक त फागुन २१ मा निर्वाचन हुने वा नहुने टुंगो छैन । भएछ भने कांग्रेस निर्वाचनमा जान्छ । तर निर्वाचनलाई देखाएर कार्यतालिका रोक्ने काम हुन सक्दैन । निर्वाचनअगाडि सबै तहका अधिवेशन सम्पन्न हुनुपर्छ भन्ने नै इतरपक्षको धारणा हो,’ उनले भने ।
