केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकमा बोल्दै लामाले मंसिरभित्रै नियमित महाधिवेशन नगर्ने हो भने कांग्रेसको टिकट लिने उम्मेदवारसमेत नहुने चेतावनी दिए ।
काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र रहेका केन्द्रीय सदस्य बहादुरसिंह लामाले आफूलाई बागमती प्रदेशको मुख्यमन्त्रीबाट हटाउँदा २४ घण्टा पनि नलगाउने नेताहरुले अहिले पार्टीको महाधिवेशन मंसिरमा गर्न सकिन्न भन्दा अचम्म लागेको बताएका छन् ।
उनले मंसिरमा कार्यकाल सकिने भएकाले त्यसपछि गरिने महाधिवेशन नियमित नभएर अनियमित हुनेसमेत बताए ।
केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकमा बोल्दै लामाले मंसिरभित्रै नियमित महाधिवेशन नगर्ने हो भने कांग्रेसको टिकट लिने उम्मेदवारसमेत नहुने चेतावनी दिए । ‘मंसिर महिना कटाएर ल्याइने तालिका नियमित महाधिवेशनको हुन्न, अनियमित हुन्छ, तपाईंहरु अहिले टिकट वितरणमा आफ्नो हात हुन्छ कि हुन्न भनेर महाधिवेशनका लागि लडाइँ लडिरहनु भएको छ । यही स्थिति हो भने टिकट कसैले लिँदैन । हिजो बाजे, बाले भनेका कुरा छोराछोरीले मान्थे । अहिले ठीक उल्टो छ । छोराछोरीले भनेको कुरा नै बाउबाजेले मान्ने अवस्था छ,’ लामाले भने,‘नेताहरु नसुध्रिने, टिकेप्रथामा रमाइरहने, समयमा महाधिवेशन नगर्ने हो भने कांग्रेसलाई बचाउन कठिनाई हुन्छ ।’
लामाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रस्तावको समर्थन गर्दै उनले विशेष महाधिवेशनको माग राखेर निवेदन दिएका ५४ प्रतिशत प्रतिनिधिलाई नहेप्न आग्रह गरे ।
