कार्यवाहक सभापतिको कार्यकक्षमा तीन पदाधिकारीबीच भएको छलफलमा खड्काले आफ्नो समूहको अप्ठ्यारो सुनाउँदै एकदिनका लागि पर्खन आग्रह गरेपछि थापा झोक्किँदै सानेपाबाट बाहिरएको एक केन्द्रीय सदस्यले बताए ।
What you should know
काठमाडौँ — महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्न नपाएपछि कांग्रेस महामन्त्री गगन थापाले केन्द्रीय कार्यसमितिको बिहीबारको बैठक नै बहिष्कार गरेका छन् । बैठक सुरु हुनुअघि कार्यतालिकाको विषयमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माको अनौपचारिक कुराकानी भएको थियो ।
बैठकमा कार्यतालिका प्रस्तुत गर्ने तयारीका साथ थापा १ बजे अगाडि नै सानेपा पुगेका थिए । कार्यवाहक सभापतिको कार्यकक्षमा तीन पदाधिकारीबीच भएको छलफलमा खड्काले आफ्नो समूहको अप्ठ्यारो सुनाउँदै एकदिनका लागि पर्खन आग्रह गरेपछि थापा झोक्किँदै सानेपाबाट बाहिरएको एक केन्द्रीय सदस्यले बताए ।
त्यसअघि महामन्त्री शर्माले नियमित र विशेष महाधिवेशन गर्ने विभिन्न विकल्पबारे चार बुँदाको प्रस्ताव सार्वजनिक गरेका थिए । त्यसै सेरोफेरोमा रहेर कार्यतालिका ल्याउने तयारी थापाको थियो । कार्यवाहक सभापति खड्कासँग बुधबार सकारात्मक कुराकानी भएको आधारमा थापा अघि बढेका थिए ।
कांग्रेस बैठकमा महामन्त्रीले प्रस्तुत गर्ने एजेन्डा सभापतिको सहमतिमा मात्रै प्रस्तुत गर्ने चलन छ । यसअघि पनि थापाले महाधिवेशनका दुई विकल्प केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा प्रस्तुत गरेका थिए । केन्द्रीय कार्यसमितिमा प्रस्तावका लागि लैजान कार्यसम्पादन समितिमा प्रस्तुत थापाका विकल्प संस्थापन पक्षले अस्वीकार गरेको थियो । त्यसपछि उनले सार्वजनिक गरेका थिए ।
बिहीबार शर्माले प्रस्तुत गरेका विकल्पमा थापाले कार्यसम्पादन समितिको बैठकमा प्रस्ताव गरेको मंसिर २७–२९ को नियमित महाधिवेशनकै तालिका पहिलो बुँदामा उल्लेख छ । यसमा सहमति नभएमा उनले विशेष महाधिवेशनका लागि दुई विकल्पका लागि कार्यवाहक सभापति खड्काको ध्याआकर्षण गराएका थिए ।
महाधिवेशनका ५४ प्रतिशत प्रतिनिधिहरुले विशेष महाधिवेशनका लागि असोज २९ गते पार्टीको केन्द्रीय कार्यालय सानेपामा निवेदन दिइसकेको सन्दर्भमा विशेष महाधिवेशन बोलाउनुपर्ने दोस्रो बुँदा थियो । विशेष महाधिवेशन बोलाउँदा केन्द्रीय कार्यसमिति आफैंले बोलाउने पहिलो प्राथमिकता, केन्द्रीय कार्यसमिति तयार नभएमा ५४ प्रतिशत हस्ताक्षरकर्ताले माग गरेबमोजिम बोलाउनुपर्ने दोस्रो प्राथमिकतामा उल्लेख गरेका छन् ।
यी दुवैमा सहमति नभएमा नियमित महाधिवेशनलाई थप १५ दिन बढाएर पुस महिनामा गर्न सकिने उनले चौथो बुँदामा उल्लेख गरेका छन् । त्यसका लागि पुस १६ देखि १९ सम्मको तालिका शर्माले प्रस्ताव गरेका थिए ।
बीपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केको ऐतिहासिक अवसरमा महाधिवेशन गराउन उपयुक्त हुने सुझाव उनको छ ।
