'एकीकरण प्रक्रियालाई समग्र कम्युनिस्ट आन्दोलनले माग गरेअनुसारको रुपान्तरण र पुनर्गठनसहितको एकीकरणको रुपमा अघि बढाउन सकिएमात्र त्यो औचित्यपूर्ण र सकारात्मक परिणामयुक्त हुनेछ'।
काठमाडौँ — माओवादीका नेता नारायणकाजी श्रेष्ठले एकीकृत समाजवादी पार्टीसँग हतारमा एकता गर्न नहुने धारणा सार्वजनिक गरेका छन् ।
माओवादी र एकीकृत समाजवादी लगायतका पार्टीबीच एकताको तयारी भइरहेका बेला श्रेष्ठले उक्त धारणा सार्वजनिक गरेका हुन् ।
माओवादी र एकीकृत समाजवादीको एकता पार्टी पुनर्गठन र रुपान्तरण अभियानको प्रस्थान बिन्दु बन्नुपर्ने श्रेष्ठको भनाइ छ ।
'हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र ) र नेकपा (एकीकृत समाजवादी ) को पार्टी एकता प्रक्रियालाई पनि यही कोणबाट हेरिनु पर्दछ । हाम्रो पार्टीले नेकपा (एकीकृत समाजवादी ) सँग पार्टी एकता गर्न पहल गर्ने निर्णय गरेको हो,' श्रेष्ठले भनेका छन्, 'तर यो एकता प्रक्रियाले समग्र कम्युनिस्ट आन्दोलनको रुपान्तरण एवं पुनर्गठन अभियानको प्रस्थान बिन्दुको भूमिका खेल्न सक्नुपर्छ र सम्बन्धित पार्टीहरू विभाजित भएर होइन, समाष्टिरुपमा नै एकता प्रक्रियामा सामेल हुने सुनिश्चित हुनुपर्छ । त्यस निम्ति धैर्यतापूर्वक प्रयत्न गरौं । हतार गरेर न समग्र एकता, न सार्थक पुनर्गठनको स्थिति नबनोस् भन्नेमा सचेत होऔं ।'
नेपालका कम्युनिस्ट पार्टीहरूबीच वैचारिक, सांस्कृतिक रुपान्तरण, एकीकरण र पुनर्गठन आजको आवश्यकता भएको पनि श्रेष्ठको भनाइ छ । त्यसका लागि दलहरूले पहल लिनुपर्ने पनि उनले उल्लेख गरेका छन् ।
'एकीकरण प्रक्रियालाई समग्र कम्युनिस्ट आन्दोलनले माग गरेअनुसारको रुपान्तरण र पुनर्गठन सहितको एकीकरणको रुपमा अघि बढाउन सकिए मात्र त्यो औचित्यपूर्ण र सकारात्मक परिणामयुक्त हुनेछ,' श्रेष्ठको धारणा छ ।
