एमालेबाट विद्रोह औचित्य पुष्टि भएको माधव नेपालको दाबी 

बुधबारदेखि सुरु भएको केन्द्रीय कमिटीमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा विद्रोह गर्नु आवश्यक भएको दाबी गरेका छन् । ‘हाम्रो विद्रोह अनुचित थिएन, उचित थियो ।

कार्तिक १२, २०८२

गंगा बीसी

Madhav Nepal claims that the UML has confirmed the justification for the rebellion

What you should know

काठमाडौँ — एमालेबाट विद्रोह गरी नयाँ दल गठन गर्नुको औचित्यमाथि प्रश्न उठिरहेका बेला एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले त्यसको प्रतिवाद गरेका छन् । उनले एमालेबाट विद्रोह गर्नुको औचित्य पुष्टि भएको दाबी गरेका छन् ।

बुधबारदेखि सुरु भएको केन्द्रीय कमिटीमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा विद्रोह गर्नु आवश्यक भएको दाबी गरेका छन् । ‘हाम्रो विद्रोह अनुचित थिएन, उचित थियो । विद्रोह गर्नुका कारणहरू उचित थिए र विद्रोह गर्नु अत्यावश्यक थियो । हामीले विद्रोह पार्टीभित्रको आन्तरिक अन्तर्विरोध र वैचारिक संघर्षका कारणले मात्र गरेका होइनौं,’ नेपालको दाबी छ , ‘विद्रोहको पृष्ठभूमिमा हाम्रो यो वैचारिक संघर्ष र प्रतिवाद पनि थियो तापनि हामीले खुल्ला रुपमा विद्रोह तव गर्‍यो जब पार्टी अध्यक्ष र प्रधानमन्त्रीसमेत रहेका केपी ओलीले २०७७ पुस ५ मा असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरी मुलुकलाई प्रतिगमनतर्फ धकेल्ने काम गरे ।’

 नेपालले लोकतन्त्रको रक्षाका लागि त्यतिबेला कांग्रेस, माओवादीसँग सहकार्य गरी एमालेबाट विद्रोह गर्नु उचित भएको दाबी गरेका छन् ।

‘हाम्रो विद्रोह नेपाली जनताले कठोर संघर्ष गरेर ल्याएको लोकतन्त्रको रक्षार्थ गरिएको जायज विद्रोह थियो । त्यो विद्रोह आवश्यक र औचित्यपूर्ण थियो,’ उनले भनेका छन्, ‘हामीले प्रतिनिधिसभालाई बचाएर संविधान र लोकतन्त्रको रक्षा गर्ने जुन उद्देश्यले विद्रोह गरेका थियौं त्यो उद्देश्य पूरा भएकोले विद्रोहको औचित्य पुष्टि भैसकेको छ ।’

एमालेबाट विद्रोह गरी नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रूपान्तरण गर्ने अठोट गरेको उल्लेख गर्दै त्यसको प्रयास भइरहेको उनले बताएका छन् । ‘यो तुरुन्तै पूरा भैहाल्ने काम पनि होइन । त्यसका लागि लामो समयसम्म कठोर मिहिनेत गर्नुपर्ने हुन्छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘हाम्रो प्रयास निरन्तर छ। हामीले समाजवादी कार्यक्रम र कार्यदिशा अंगालेर वैचारिक पुनर्गठन कार्य सम्पन्न गरेका छौं भने सांगठानिक पुनर्गठन कार्य अझै जारी छ ।’

समाजवादी मोर्चा र वाम एकतामा जोड 

अध्यक्ष नेपालले आफ्नो राजनीतिक प्रतिवेदनमा समाजवादी मोर्चा र वाम एकतामा जोड दिएका छन् । ‘पार्टी एकता हुनका लागि सबभन्दा पहिले फार्टीको नाम, मार्गदर्शक सिद्धान्त, संगठनात्मक सिद्धान्त, रणनीतिक लक्ष्य, क्रान्तिको कार्यक्रम, कार्यदिशा र कार्यनीतिजस्ता मूलभूत विषयमा एकरूपता हुनु पर्दछ । त्यसको साथै संगठनात्मक संरचना र कार्य प्रणाली कस्तो हुने हो भन्ने विषय पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ । यी महत्वपूर्ण सवालमा समानता नभइकन कसैसँग पनि पार्टी एकता हुन सक्तैन,’ उनले लेखेका छन्,  ‘यी सबै विषयमा समानता भयो र सहमति पनि निर्माण भयो भने एकता गर्न नहुने कुरा मात्र होइन एकता सम्पन्न गर्न ढिलाई गर्नु हुँदैन । त्यसैले हामीले समान विचार, सिद्धान्त, कार्यक्रम, कार्यदिशा र रणनीतिक लक्ष्य अंगालेका कम्युनिष्ट समूहसँग एकता गर्ने नीति लिएका छौं ।’

माओवादीसँग एकता गर्न तयारी भइरहेका बेला उनले वाम एकता गर्न ढिलाइ गर्न नहुने बताएका छन् ।‘हाम्रो यही घोषित नीतिअनुसार नै हामीले अहिलेको समाजवादी मोर्चा निर्माणमा जोड गरेका हौं र त्यसमा संलग्न रहेर काम गर्दै आएका हौं। समाजवादी मोर्चामार्फत गरिएका काम पर्याप्त नहुन सक्छन् तर यसले कतिपय अत्यन्त महत्वपूर्ण काम गरेको छ,’ उनले प्रतिवेदनमा भनेका छन्, ‘वाम एकताको सम्बन्धमा पनि हामीले सुरुदेखि नै क्रान्तिकारी कम्युनिष्टहरू, खासगरी समाजवादी कार्यदिशा र कार्यक्रम अंगालेका कम्युनिष्ट घटकहरूबीच एकता हुनुपर्ने कुरामा जोड दिँदै आएका छौं ।’

उनले समाजवादी क्रान्ति सम्पन्न गर्न एउटा बलियो क्रान्तिकारी शक्ति आवश्यक भएको उल्लेख गर्दै एकतामा जोड दिएका छन् । ‘त्यो बलियो क्रान्तिकारी शक्तिको निर्माण यहाँका क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुबीचको एकताबाट नै हुन सक्तछ । तथापि स्पष्ट आधार निर्माण नभइकन पार्टी एकता हुन सक्तैन,’ उनले प्रतिवेदनमा भनेका छन् ।

गंगा

Link copied successfully