कात्तिक १५ मा एमाले सचिवालय बैठक, महाधिवेशन तयारीबारे छलफल हुने

असोज २७– २९ मा भएको एमालेको केन्द्रीय कमिटी बैठकले एघारौं महाधिवेशन पोखरामा मंसिर २७–२९ मा गर्ने निर्णय गरेको छ ।

कार्तिक ११, २०८२

कान्तिपुर संवाददाता

UML Secretariat meeting to discuss preparations for general convention on Kartik 15

काठमाडौँ — एघारौं महाधिवेशनको तयारीमा रहेको नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आगामी १५ गते बस्ने भएको छ ।

बैठकले महाधिवेशनसँग सम्बन्धित विभिन्न निर्णय गर्ने पार्टीले जनाएको छ । असोज २७– २९ मा भएको एमालेको केन्द्रीय कमिटी बैठकले एघारौं महाधिवेशन पोखरामा मंसिर २७–२९ मा गर्ने निर्णय गरेको छ ।

पार्टीका कार्यालय सचिव भीष्म अधिकारीका अनुसार कात्तिक १५ गते पार्टीको सचिवालय बैठकबाट महाधिवेशनका बारेमा विभिन्न निर्णय गर्ने तयारी छ । सो बैठकले महाधिवेशन प्रतिनिधि छनोट विधि, महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन, स्थानीय आयोजकसँग समन्वय आदिका बारेमा निर्णय गर्ने सचिवालयका एक नेताले जानकारी दिए । ती नेताका अनुसार सो बैठकले महाधिवेशन तयारीको पूर्ण खाका सार्वजनिक गर्नेछ । बैठकले महाधिवेशनको लोगो र नाराका विषयमा पनि छलफल गर्नेछ । 

पार्टीको गण्डकी प्रदेश कमिटी, कास्की जिल्ला कमिटी र पोखरा महानगर कमिटीले महाधिवेशनको प्रारम्भिक तयारी सुरु गरिसकेका छन् । भदौ २४ को विध्वंसमा च्यासलस्थित केन्द्रीय कार्यालय जलाइएपछि सोही ठाउँमा पाल टाँगेर अस्थायी कार्यालय सुरु गरेको छ । उक्त कार्यालयबाट दैनिक कामका अतिरिक्त महाधिवेशन केन्द्रीत काम पनि सुरु गरिएको अधिकारीले जानकारी दिए ।

कान्तिपुर संवाददाता

Link copied successfully