निर्वाचन भाँड्ने र फेरि आन्दोलनमा जाने काम नगर्नुहोस् : स्वास्थ्यमन्त्री गौतम

शिक्षण अस्पतालमा घाइतेको अवस्था अवलोकनपछि मन्त्री गौतमले पारदर्शिता र अस्पताल सुधारमा प्रतिबद्धता जनाउँदै सबैलाई निर्वाचन विरोध नगर्न आग्रह गरेकी छन्।

कार्तिक १०, २०८२

न्युज एजेन्सी नेपाल

Don't try to disrupt the election and start a movement again: Health Minister Gautam

What you should know

काठमाडौँ — नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले निर्वाचन भाँड्ने प्रयास नगर्न सबै राजनीतिक दलहरूलाई आग्रह गरेकी छिन् । सोमबार काठमाडौँको ट्रमा सेन्टर र शिक्षण अस्पतालमा उपचाररत ‘जेन–जी आन्दोलन’ का घाइतेहरूसँगको भेटपछि उनले सो आग्रह गरेकी हुन् ।

शिक्षण अस्पताल महाराजगन्जमा एक जना घाइतेको गम्भीर अवस्था देखेपछि आँखाभरि आँसु झार्दै उनले अब निर्वाचन भाँड्ने नाममा आन्दोलन नगर्न सबै शक्ति र व्यक्तिहरूको ध्यानाकर्षण गराएकी हुन् ।

मन्त्री गौतमले सरकारले निर्वाचनमा ध्यान केन्द्रित गरिएकाले त्यसको विरोध गरिरहन आवश्यक नभएको जिकिर पनि गरिन् । उनले घाइते बिरामीहरूले आफूलाई अस्पतालका कुरीति र बेथितिबारे ध्यानाकर्षण गराएको उल्लेख गर्दै उनीहरूले दिएको सुझावका आधारमा अस्पतालहरूको सुधारमा लाग्ने प्रतिबद्धता व्यक्त गरिन् ।

त्यस क्रममा उनले आफूले गरेका सबै काम पारदर्शी ढंगले जनतासामु पुर्‍याउने संकल्प लिएको पनि बताइन् ।

मन्त्री गौतमले भनिन्, 'बिरामीहरूको अवस्था हेर्दा मलाई धेरै गाह्रो भयो । म चाहन्छु, मुलुक फेरि आन्दोलनमा नजाओस् । जसले सरकारको विरोध गर्छन् वा चुनाव भाँड्न खोज्छन्, त्यस्तो नगर्नुहोस् भनेर म सबैलाई अनुरोध गर्न चाहन्छु । हाम्रो जनआन्दोलनको मर्म भनेको यही हो— यी कुरीति र बेथिति हटून् भन्ने । त्यसका लागि आएका सकारात्मक सुझाव ग्रहण गर्दै हामी सबैले त्यही दिशामा काम गर्नुपर्छ । मैले गरेका काम कति र के भए भन्ने कुरा पारदर्शी रूपमा जनतासामु देखाउनेछु ।'

मन्त्री गौतमले यसअघि बिहानै काठमाडौँको सिनामंगलस्थित केएमसी अस्पतालमा रहेका ‘जेन–जी आन्दोलन’ का घाइतेहरूको अवस्थाबारे पनि जानकारी लिएकी थिइन् । त्यस क्रममा उनले अस्पतालले उनीहरूको उपचारमा कुनै कमी नगरेको आफूले पाएको बताइन् ।

न्युज

Link copied successfully