देश चुनावतिर गइसकेको छ, सबैले चुनावी वातावरण बनाऔं : दाहाल

‘अरु कुनै उपाय छैन, फागुन २१ मा चुनाव हुन्छ भन्ने विश्वासका साथ अघि अघि बढेका छौं ।’

कार्तिक ९, २०८२

हरिराम उप्रेती

The country is heading towards elections, let's all create an electoral environment: Dahal

What you should know

गोरखा — नेकपा माओवादी केन्द्रका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले चुनावलाई सफलतापूर्वक सम्पन्न गर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।

आइतबार गोरखामा अगुवा कार्यकर्ता प्रशिक्षणपछि पत्रकारसँग कुरा गर्दै दाहालले चुनावी वातावरण बनाउनुबाहेक अरु कुनै उपाय नरहेको बताए । ‘सरकारले पनि चुनावी माहोल बनाउनेतिर ध्यान केन्द्रित गरोस्, सारा सुरक्षा निकाय, प्रशासन संयन्त्रलाई चुनाव केन्द्रित गराउने मुख्य जिम्मेवारी गृहमन्त्रीको हुन्छ,’ उनले भने, ‘अन्यत्र भन्दा पनि चुनावलाई सफलतापूर्वक सम्पन्न गर्नेतर्फ ध्यान दिन उचित हुन्छ भन्ने सुझाव दिन चाहन्छु ।’

सरकारले पनि पटकपटक सर्वदलीय बैठक बोलाएर चुनाव गराएर छाड्ने प्रतिबद्धता व्यक्त गरेको उनले बताए । ‘छिमेकीसँग कूटनीतिक तवरले कुरा गर्दा पनि अब नेपालमा चुनाव नै गराउनुपर्छ भनेको र जनता पनि अन्योलको स्थितिको अन्त्य चुनावबाट गरौं भन्नेतिर जाँदै छन्,’ उनले भने । 

सबै पार्टी चुनाव केन्द्रित बनेको पनि दाहालले बताए । ‘एमाले पनि के गर्ला भन्ने थियो, हिजोबाट चुनाव नै हो भन्न थालेको स्थिति छ,’ उनले भने,‘देश चुनावतिर गइसकेको छ, हामी सबैले चुनावी वातावरण बनाउने हो ।’ एमाले पनि चुनावमा आउनेमा आफू विश्वस्त रहेको उनले बताए । ‘अरु कुनै उपाय छैन, फागुन २१ मा चुनाव हुन्छ भन्ने विश्वासका साथ अघि अघि बढेका छौं,’ उनले भने ।

भदौ २३ को जेनजी प्रदर्शन ऐतिहासिक रहेको भन्दै उनले जेनजीले उठाएका माग माओवादीसँग मिलेको दाबी गरे । ‘जेनजी आन्दोलनको नेतृत्व गर्न नपाएकोमा दु:ख छ, नेतृत्व हामीले नै गर्न पाएको भए धेरै राम्रो कुरा हुन्थ्यो,’ उनले भने ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully