प्रधानमन्त्री कार्कीले दलसँग संवाद थाल्दै

मंगलबार पहिलो चरणमा कांग्रेस, एमाले, माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादी र जसपा नेपालसँग छलफल हुने

कार्तिक ४, २०८२

कान्तिपुर संवाददाता

Prime Minister Karki begins dialogue with parties

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले २१ फागुनमा तोकिएको निर्वाचनको वातावरण बनाउन दलहरूसँग छलफल थालेकी छन् । प्रधानमन्त्री कार्कीले अनौपचारिक रूपमा राजनीतिक दलहरूसँग छलफल गरे पनि मंगलबार औपचारिक रूपमा पहल सुरु गर्न लागेकी हुन् ।

प्रधानमन्त्री कार्कीले पहिलो चरणमा सात दललाई निर्वाचन केन्द्रित छलफलका लागि बालुवाटार बोलाएकी छन् । मंगलबार राष्ट्रिय मान्यता प्राप्त दललाई २–२ जना उच्चस्तरीय प्रतिनिधि पठाइदिन भनी पत्र पठाएको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए । प्रधानमन्त्री कार्कीले कांग्रेस, एमाले, माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादी र जसपा नेपालसँग पहिलो चरणमा निर्वाचन केन्द्रित छलफल गर्नेछिन् ।

प्रधानमन्त्री कार्कीले दोस्रो चरणमा निर्वाचन आयोगमा दर्ता भएका अन्य दललाई छलफलमा बोलाउने तयारी छ । अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा भाग लिएका र निर्वाचन आयोगले दल दर्ताको आह्वान गरेपछि दर्ता भएका सबैसँग छलफल गर्ने प्रधानमन्त्रीको कार्यसूची छ । राजनीतिक दलसँगै प्रधानमन्त्रीले पूर्वनिर्वाचन आयुक्त, पूर्व आयुक्त, निर्वाचन पर्यवेक्षणमा अनुभव भएका विज्ञ र नागरिक समाजसँग पनि छलफल गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 निर्वाचन आयोगले ३० कात्तिकसम्म दल दर्ताको समय दिएको छ । आयोगमा दल दर्ताको क्रम चल्दै गर्दा प्रधानमन्त्री कार्कीले निर्वाचनको वातावरण बनाउन यस्तो छलफल थालेको गृहमन्त्री ओमप्रकाश अर्यालको दाबी छ । ‘यो सरकार गठन भएकै निर्वाचनका लागि हो । निर्वाचनको तयारी हामीले निर्वाचन आयोगसहित सबैतिरबाट सुरु गरेका छौं,’ अर्यालले भने, ‘तोकिएकै समयमा भयरहित तथा निष्पक्ष रूपमा निर्वाचन गर्न सरकारले तयारी तीव्र पारेको छ ।’

निर्वाचन तोकिएकै समयमा हुनेमा आशंका नगर्न पनि उनले आग्रह गरे । सरकारले आयोगसँग विभिन्न चरणमा छलफल गरिरहेको र राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म र सरकारका सबै तहले आ–आफ्नो स्थानबाट पहल गरिरहेको उनले दाबी गरे । ‘भयरहित निर्वाचनमा 

सम्पन्न गराउन सरकारले कुनै कसरत बाँकी राख्दैन,’ मन्त्री अर्यालले भने, ‘शान्तिसुरक्षा र आर्थिक रूपमा सरकारले तयारी गरेको छ । निर्वाचनमा सरकारले कमी गर्छ कि भनेर आशंका गर्न जरुरी छैन ।’

प्रधानमन्त्रीले यसअघि विभिन्न दलका विभिन्न तहका नेतासँग अलग–अलग वार्ता गरिसकेकी छन् । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनअघि माओवादीका दोस्रो तहका नेताहरूसँग पनि छलफल गरेकी थिइन् । उनले शुक्रबार माओवादीका नारायणकाजी श्रेष्ठ र वर्षमान पुनसँग बालुवाटारमा छलफल गरेकी थिइन् ।

जेन–जी आन्दोलनपछि दलहरूसँग राजनीतिक संवाद नै हुन नसकेपछि राष्ट्रपति रामचन्द्र पौडेलको अग्रसरतामा शीतल निवासमा सर्वदलीय बैठक भएको थियो । उक्त बैठकमा दलहरूसँग छलफल अघि बढाउने प्रधानमन्त्री कार्कीले उल्लेख गरेकी थिइन् । शनिबार शीतल निवासमै प्रधानमन्त्री कार्कीले सुरक्षा निकायसँग पनि निर्वाचन लक्षित छलफल गरेकी थिइन् । छलफलमा उनले दलहरूसँग आफूले संवाद अघि बढाउने भन्दै सुरक्षाको सबै तयारी उच्च मनोबलका साथ गर्न निर्देशन दिएकी थिइन् । 

 शुक्रबार माओवादी नेताहरूसँगको भेटमा उनले जसरी पनि चुनाव गराउन सरकार लागेकाले यसका लागि दलहरूले सहयोग गर्नुपर्ने धारणा राखेकी थिइन् । माओवादी नेताले पहिले नै चुनावमा जाने निर्णय गरिसकेकाले त्यसका लागि वातावरणचाहिँ उपयुक्त बन्नुपर्ने सुझाव दिएको थियो ।

चुनावका लागि अहिले सुरक्षाको भरपर्दो अवस्था नरहेको भन्दै दलहरूले चासो जनाइरहेका छन् । राष्ट्रपतिले पनि दलहरूको यो चासो मुख्य भएकाले सम्बोधन गर्न गत साता प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए । प्रधानमन्त्री र गृहमन्त्रीले वातावरण बनाउने प्रतिबद्धता जनाएका थिए । प्रधानमन्त्रीले यसअघि एमाले र कांग्रेसका दोस्रो तहका नेताहरूसँग अनौपचारिक रूपमा सम्पर्क र कुराकानी गर्दै आएकी थिइन् ।

कान्तिपुर

Link copied successfully