सेनाको सुरक्षामा बस्दा मेरो मोबाइल सिज गरियो : ओली

ओलीले भने- मैले राजीनामा दिएपछि सेनाको सुरक्षामा थिएँ। मेरो मोबाइल फोनसमेत सिज गरिएको थियो। पछि प्रधानमन्त्रीको शपथग्रहणपछि मात्रै मैले मोबाइल पाएँ।'

कार्तिक २, २०८२

कान्तिपुर संवाददाता

My mobile phone was seized while I was under military protection: Oli

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले जेन-जी आन्दोलनका क्रममा आफूले राजीनामा दिए पछि नेपाली सेनाको सुरक्षामा बस्दा मोबाइल सिज गरिएको खुलाएका छन्।

उनले प्रधानमन्त्रीमा सुशीला कार्कीले शपथग्रहण गरेपछि मात्रै आफूले मोबाइल पाएको सुनाए। आइतबार सम्पादकहरूसँगको संवादमा ओलीले भने- मैले राजीनामा दिएपछि सेनाको सुरक्षामा थिएँ। मेरो मोबाइल फोनसमेत सिज गरिएको थियो। पछि प्रधानमन्त्रीको शपथग्रहणपछि मात्रै मैले मोबाइल पाएँ।'

फरक प्रशंगमा अध्यक्ष ओलीले एमालेभित्र नेतृत्वको अभाव नरहेको भन्दै पार्टीभित्र थुप्रै आकांक्षी भएको बताए। उनले पार्टीमा आफ्नो खाँचो देखेको भन्दै उमेर नछेक्ने दाबी गरे। 'अमेरिकामा ८० वर्षका मान्छे नेतृत्वमा छन्। भारतका प्रधानमन्त्री र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनदेखि चिनियाँ राष्ट्रपति सी जिनफिङसम्मलाई उमेरले छेकेको छैन,' ओलीको भनाइ छ।

उनले माओवादी संयोजक प्रचण्डले केही दिन अघि भयानक झुट बोलेको आरोप लगाए। 'राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसबिना प्रधानमन्त्री बनाउन गाह्रो हुन्छ भनेपछि मैले त्यो कुरा स्वीकार गरेको हुँ। जटिल अवस्थामा मैले त्यो सिफारिस गरेको हुँ,' ओलीले स्पष्टीकरणमा भने।

उनले थपे, 'वर्तमान असहज र असाधारण अवस्था उत्पन्न भएको परिस्थितिलाई नियन्त्रण गरेर शान्तिपूर्ण रूपमा फर्काउन आवश्यक रहेकाले यसको समाधान लोकतान्त्रिक प्रणालीभित्रैबा खोज्नका लागि राष्ट्रपतिसमक्ष आवश्यक कदम चाल्न सिफारिस गर्छु भनेर लेखेको थिएँ।'

ओलीले आफूले लेखेको पत्रमा कतैपनि सुशीला कार्कीको नाम नभएको र प्रधानसेनापतिसहितको उपस्थितिमा आफूले त्यो पत्र लेखेको र त्यसको प्रतिलिपि आफूसँग नभएको बताए।

उनले संसद् बाहिरबाट प्रधानमन्त्री हुँदै हुन्न भनेर जिकिर नगरेको, तर संसद्कै बैठकबाट त्यो गर्न सकिने बताएको सुनाए । उनले २५ गते एकछिन संसद् बसेर त्यो गर्न सकिने बताएको सुनाए । संविधानको धारा ७६ मा एउटा धारा संशोधन गरेर त्यस्तो गर्न सकिने अवस्था रहेको स्मरण गरे। 

संविधानभित्रैबाट प्रधानमन्त्री नराखेर संसद्प्रति किन वैरभाव राखिएको भनेर प्रश्न गर्दै उनले जेन-जीको नाममा यस्तो कार्य भएको आरोप लगाए। 'यो सरकार संवैधानिक बाटो हुँदा-हुँदै असंवैधानिक बाटोबाट बनेको हो। यो सरकार कसरी बन्यो र यो कसले बनायो भन्ने प्रश्न कायम छ,' ओलीको भनाइ छ। 

 आफूले दुईपटक संसद् विघटन गर्दाको समय पनि सम्झिरहेको भन्दै उनले दुई तिहाईको सरकार चलाउन नसकेर आफूले संविधानअनुसार संसद् विघटन गरेको स्वीकारे। उनले त्यतिबेला चुनावका निम्ति तयार नभएकाहरूले अहिले चुनाव गर्नुपर्छ भन्ने तर्क गर्नु आश्चर्यजनक भएको बताए। 

कान्तिपुर

Link copied successfully