जेन-जी आन्दोलनमा शंकास्पद गतिविधि भए, छानविन गर्नुपर्छ : ओली

ओलीले आन्दोलनका क्रममा बानेश्वरमा प्रदर्शनकारीले नभई टीओबी नामक समूहले व्यारिकेड तोडेको र भीडलाई उत्तेजित पार्ने काम गरेको बताए।

कार्तिक २, २०८२

कान्तिपुर संवाददाता

If there is any suspicious activity in the Gen-G movement, it should be investigated: Oli

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी आन्दोलनका बेला शंकास्पद गतिविधि भएको भन्दै तिनको निष्पक्ष छानविन हुनुपर्ने बताएका छन्।

आइतबार काठमाडौँमा सम्पादकहरूसँगको संवाद कार्यक्रममा अध्यक्ष ओलीले आन्दोलनका क्रममा बानेश्वरमा प्रदर्शनकारीले नभई टीओबीले व्यारिकेड तोडेको र भीडलाई उत्तेजित पार्ने काम गरेको बताए। 'प्रदर्शन गर्न आएका जेन-जीहरू कतिपय घर फर्किसकेका थिए, तर कतिपयलाई भने केही तत्वले फर्किन रोके। त्यसपछि संसद् भवनभित्र जाने काम भयो,' उनको भनाइ थियो। 

ओलीले आफूले एक पैसा भ्रष्टाचार नगरेको भन्दै कपोकल्पित आरोपहरूका विषयमा छानविन हुनुपर्ने बताए। उनले भने, 'मैले एक पैसा भ्रष्टचार गरिन। तपाईहरू मिलेर मेरो छानविन गरिदिनुस् । जसले गरेपनि हुन्छ। मेरो घर जलेको छ। जलेको घरको कण-कण हिसाब गर्दा हुन्छ। मन्त्रीकारुपमा मैले कमाएको तलब बैंक खातामा छ, त्यो पनि हिसाबकिताव गर्दा हुन्छ।'

उनले विद्यार्थीलाई धक्का मुक्का गरेर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रतिर जान बाध्य पारिएको भन्दै यसअघि जस्तै गोली प्रहारको घटना शंकास्पद रहेको दाबी गरे। लुटपाट र आगजनीका लागि योजना नै बनाइएको पाइएको उनको भनाइ छ। २३ गतेको गोलीकान्डमा मृत्यु भएका घटनामा छानविन गर्न आफूले त्यतिबेलै मन्त्रिपरिषद्को बैठक डाकेको तर भोलिपल्ट अरू नै दृश्य देखिएको उनले बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully