उनले भने, ‘आन्दोलनले नयाँ अन्तरिम सरकार बनाउनेसम्म पुगेको थियो। तर जेन-जीले दिएको बलिदान, जीवनको आहूति र नेपाली जनताले दिएको साथलाई पूरा गर्न राजनीतिक उद्देश्य पूरा हुन सकेन।’
काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले जेन-जी आन्दोलनले आफ्नो उद्देश्य पूरा गर्न असफल भएको बताएका छन्।
‘जेन-जीका माग जायज छन्। जेन-जी आन्दोलन आफ्नो उद्देश्य पूरा गर्न असफल भएको छ,’ केन्द्रीय समिति निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा आइतबार उनले भने, ‘आन्दोलनले नयाँ अन्तरिम सरकार बनाउनेसम्म पुगेको थियो तर जेनजीले दिएको बलिदान, जीवनको आहूति र नेपाली जनताले दिएको साथलाई पूरा गर्न राजनीतिक उद्देश्य पूरा हुन सकेन। बरु उल्टो नयाँ षडयन्त्रहरू देखिएका छन्। अन्तरिम सरकार जेनजी विद्रोहअनुकूल छैन।’
उनले जेनजी आन्दोलनपछि मुलुक अराजकतातिर जाने जोखिम रहेको बताए। ‘हाम्रो गम्भीर चिन्ता छ- यत्रो विद्रोहपछि निकास पाउनुपर्ने थियो। तर फेरि देश अर्को असफलताको तर्फ धकेलिएको छ। हाम्रो विश्लेषण अनुसार यसले देशलाई अराजकतातिर ल्याउन सक्छ,’ उनले भने।
