दाहालले अध्यक्ष पद अब आफ्नो लागि सामान्य भइसकेको उल्लेख गर्दै देश र जनताको हितका लागि जस्तोसुकै बलिदान गर्न तयार रहेको बताएका हुन्।
काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी नेतृत्व छोड्न तयार रहेको बताएका छन्।
शनिबार अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रममा दाहालले अध्यक्ष पद अब आफ्नो लागि सामान्य भइसकेको उल्लेख गर्दै देश र जनताको हितका लागि जस्तोसुकै बलिदान गर्न तयार रहेको बताएका हुन्।
दाहालले भने, 'कतिपय मानिसहरू भन्छन्— पार्टी अध्यक्ष छोड। म पार्टी अध्यक्ष मात्रै होइन, जे बलिदान गर्नुपर्छ म तयार छु। देश बच्नुपर्यो, पद र कार्यकारी कुरा अब साना भइसके।'
पार्टीभित्र नेतृत्व परिवर्तनको माग उठिरहेका बेला दाहालले अधिवेशनसम्म आवश्यक संरचनागत परिवर्तन गर्न र जिम्मेवारी हस्तान्तरण गर्न पनि तयार रहेको स्पष्ट पारे।
उनले भने, 'केन्द्रीय समितिलाई आयोजक समितिमा, अध्यक्षलाई संयोजकमा रूपान्तरण गर्नुपर्यो भने म तयार छु। देश र जनताको निम्ति सबैले पनि त्याग गर्न तयार रहनुपर्छ।'
दाहालले कार्यकर्ताहरूलाई विचलित नहुन र पार्टीभित्र एकता मजबुत बनाउन आग्रह गरे।
