प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुनसँग करिब एक घण्टा छलफल गरेकी छन् ।
What you should know
काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको तयारीका लागि राजनीतिक दलसँग छलफल सुरु गरेकी छन् । फागुन २१ मा निर्वाचनको वातावारण बनाउन उनले राजनीतिक दलसँग छलफल सुरु गरेकी हुन् ।
शुक्रबार उनले माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुनसँग छलफल गरेकी छन् । छलफलमा उनले सरकार तोकिएको समयमा निर्वाचन गराउन दृढ गरेको प्रतिबद्धता जनाएकी छन् ।
‘सरकारले समयमै निर्वाचन गर्छ । हामी वातवारण बनाउन प्रतिबद्ध छौं,’ प्रधानमन्त्रीको भनाइ थियो, ‘राजनीतिक दलहरुले दृढतापूर्वक निर्वाचनको वातावण बनाउनु पर्यो । निर्वाचन सम्बन्धी प्रक्रियामा सहभागी हुनुपर्यो । सरकार चुनावको पक्षमा छ । सरकारले चुनाव गराउँदैन कि भनेर शंका नगर्नुस् ।’ उनले सरकारको मुख्य काम नै निर्वाचन गराउने भएको प्रतिबद्धता जनाइन् ।
माओवादी नेताद्वय श्रेष्ठ र पुनले आफ्नो पार्टीले अरु दलभन्दा पहिले चुनावमा जाने निर्णय गरिसकेकाले तयारीमा लागिसकेको बताएका थिए ।
‘हामीले अरु दलभन्दा पहिले नै चुनावमा जाने निर्णय गरिसक्यौँ । चुनावी तयारी पनि सुरु गरिसकेका छौँ,’ उनीहरुको भनाइ थियो, ‘अरु पार्टीलाई चुनावमा जान प्रेरित गर्छौँ ।’
उनीहरूले सरकारले चुनाव बनाउने वातावरण दृढतापूवृक अघि बढ्न र आफ्नो दलको तर्फबाट सघाउने बताए । ‘समाजमा शान्ति सुरक्षाको आशंका छ । डरको वातावारण छ । शान्ति सुरक्षा राम्रो बनाउनुस्,’ पुनले भेटवार्ताबारे जानकारी दिए, ‘चुनावमा हाम्रो सहयोग रहन्छ । हामी अरु दलसँग छलफल गर्छौँ ।’
प्रधानमन्त्री कार्की समयमै चुनाव गराउन दृढ रहेको आफूले पाएको बताए । ‘प्रधानमन्त्रीज्यू चुनाव समयमै गर्ने प्रधानमन्त्री दृढ हुनुहुन्छ,’ उनले ईकान्तिपुरसँग भने, ‘उहाँको मुख्य प्राथमिकता समयमै चुनाव गराउने रहेको व्यक्त गर्नुभयो ।’
प्रधानमन्त्री निवास बालुवाटारमा करिब एक घण्टा भएको भेटवार्तामा सरकार विवादास्पद काम गर्ने पक्षमा नरहेको उल्लेख गर्दै कार्कीले अरु दलसँग निर्वाचनको वातावरण बनाउन कुराकानी गर्ने बताएकी थिइन् ।
‘हामी अन्य दल र जेन–जीसँग पनि अन्तरक्रिया गराउँछौँ,’ कार्कीको भनाइ थियो, ‘चुनावको वातावरण बनाउन लागि अरु दललाई प्रेरित गर्छौँ ।’
