जिम्मेवारी पूरा नगरी अध्यक्ष छाड्दिनँ : ओली 

‘मेरो राजीनामाबारे महाधिवेशनमा छलफल गरौंला, प्रतिनिधिहरुसँग फैसला मागौंला । पार्टीलाई तिक्ततामा नलगौँ, मित्रतासाथ जाऔं ।’

आश्विन ३१, २०८२

कान्तिपुर संवाददाता

I will not leave the chairmanship without fulfilling my responsibilities: Oli

What you should know

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले अध्यक्ष पद नछाड्ने बताएका छन् । केन्द्रीय समिति बैठकमा जवाफ दिँदै उनले आफ्नो काँधमा जिम्मेवारी भएकाले नछाड्ने बताएका हुन् ।

‘केही साथीले राजीनामा माग्नु भाछ, मसँग माग्नु भाको होइन, माइकमा सोधेका थिए, ५५ वर्षदेखि एउटा सानो टुक्रो आन्दोलन बोकेर ल्याएको हुँ, मेरो काँधमा जिम्मेवारी छ, त्यो पूरा नगरी छोड्दिनँ,’ उनले भने, ‘मेरो राजीनामाबारे महाधिवेशनमा छलफल गरौंला, प्रतिनिधिहरुसँग फैसला मागौंला । पार्टीलाई तिक्ततामा नलगौँ, मित्रतासाथ जाऔं ।’

उनले पार्टी दबाबले नचल्ने बताए । ‘नीतिले चल्छ, विधिले चल्छ । सामान्य नीतिले चल्छ, जबरजस्तीबाट पार्टी चल्दैन, पार्टी सामूहिक ढंगबाट चल्छ, कहिलेकहीं आफूले भने जसरी चल्दैन,’उनले भने, ‘साथीहरुले म धैर्य छु भन्नुभयो। म पनि धैर्य छु, म त अध्यक्ष हो ।’

उनले आफूलाई पक्राउ गर्ने तयारी भए पनि कमजोरी नभेटिएकाले पछि हटेको बताए । ‘केपी ओलीलाई कसरी थुन्न सकिन्छ भनेर गृहमन्त्रीले सल्लाह र छलफल गर्नुभयो, कहीँकतै केही भेटिएन, ’ उनले थपे, ‘हिजो जेन-जीहरुले मान्दै मानेनन्, केपी ओलीलाई त जसरी पनि थुन्नु पर्छ भनेर सरकार लगातार प्रयासमा छ ।’

उनले तोकिएको मितिमा निर्वाचन नहुने दाबी गरे । ‘अब बाँकी ४ महिना छ, चुनाव हुँदैन, नहुने चुनावमा हामी जानु हुन्न । उनीहरुको लक्ष्य चुनाव होइन । मेरो पासपोर्ट रोक्ने, स्थान हद गर्ने ?,’ उनको प्रश्न थियो, ‘मैले जलेको घर हेर्न जान नपाउने ? हाम्रो सम्पत्ति जलेको खरानीमाथि प्रधानमन्त्री हुने ?’ 

उनले अहिले भएको परिवर्तन सकारात्मक नभएको दाबी गरे । ‘यो क्रान्तिकारी परिवर्तन होइन । यसमा दुविधा हुन पर्दैन । पार्टी यसको पक्षमा छैन,’ उनको भनाइ थियो ।

कान्तिपुर

Link copied successfully