देउवाले कार्यकारी भूमिका छाडेको मन्तव्यपछि स्थगित बैठक बिहीबारदेखि सुरु हुन लागेको हो ।
What you should know
काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएपछिको पहिलो बैठक केहीबेरमा बस्दै छ ।
देउवाले मंगलबारको बैठकमा खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएर आफू पार्टीको कार्यकारी भूमिकाबाट अलग भएको घोषणा गरेका थिए । उनले कार्यकारी भूमिका छाडेको मन्तव्यपछि स्थगित बैठक बिहीबारदेखि सुरु हुन लागेको हो ।
मंसिरभित्रै नियमित महाधिवेशन गर्ने वा विशेष महाधिवेशन गर्नेभन्नेबारे बैठकमा छलफल हुने भएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मंसिर २१ देखि कार्यकाल सकिन लागेको केन्द्रीय कार्यसमितिको म्याद नथपी नियमित महाधिवेशन गर्नुपर्ने धारणा राख्दै आएका छन् । यदि, नियमित महाधिवेशन नभएमा विशेष महाधिवेशन गर्नुपर्ने उनीहरुको अडान छ ।
विशेष महाधिवेशनका लागि बुधबार नै थापा र शर्मा समर्थक महाधिवेशन प्रतिनिधिहरुले पार्टी केन्द्रीय कार्यालयमा हस्ताक्षरससहितको निवेदन दर्ता गरिसकेका छन् । उनीहरुले ५३.९१ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर र महाधिवेशन बोलाउनुपर्नाको कारण र निर्णय गर्नुपर्ने विषय उल्लेख गरेर निवेदन दिएका हुन् । कांग्रेसको विधानमा केन्द्रीय कार्यसमिति आफैले वा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरबाट विशेष महाधिवेशन बोलाउन सकिने प्रावधान छ ।
संस्थापन पक्षीय नेताहरुले भने सभापति देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी दिइसकेपछि विशेष महाधिवेशनको औचित्व समाप्त भएको बताउन थालेका छन् । खड्काले कार्यवाहक सभापतिको जिम्मेवारी पाएकै भोलिपल्ट बुधबार संस्थापनपक्षको अनौपचारिक बैठक बसेको थियो । उक्त बैठकले विशेष महाधिवेशनको औचित्व समाप्त भएको निष्कर्ष निकाल्दै नियमित महाधिवेशनका लागि तयारी अघि बढाउनुपर्ने धारणा ल्याएको थियो ।
बैठकपछि उपसभापति खड्काले कुनै गुटको नभएर विचार समूहको बैठक मात्रै भएको बताए । उनले पार्टीभित्र बृहत् एकता कसरी कायम गर्न सकिन्छ र नियमित महाधिवेशनका लागि कसरी अघि बढ्ने भन्नेबारेमा सुझाव लिने काम भएको बताए ।
केन्द्रीय सदस्य रामहरि खतिवडाले महाधिवेशन प्रतिनिधिहरुको अवधि नै समाप्त भइसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्व नभएको बताए । नियमित महाधिवेशनकै तयारीमा जुटेर पार्टीभित्र बृहत् एकता कसरी सिर्जना हुन सक्छ भन्नेबारेमा छलफल भएको उनको भनाइ छ । ‘१४ औं महाधिवेशनका प्रतिनिधिहरुको चार वर्षको अवधि सकिँदै छ, केन्द्रीय कार्यसमितिको अवधिसमेत सकिनै लागेको छ । यस्तो अवस्थमा विशेष महाधिवेशन नभएर अब नियमित महाधिवेशनमै जानुपर्छ र यही धारणा संस्थापनपक्षको बैठकमा उठेको छ,’ उनले भने ।
यता विशेष महाधिवेशनका पक्षधर नेताहरुले भने मंसिरमा नियमित हुन नसक्दा विशेष महाधिवेशन बोलाएर भए पनि पार्टीमा रुपमान्तरणको सन्देश दिन सक्नुपर्ने बताउँदै आएका छन् ।
