‘माओवादी केन्द्रसँग एकता निश्चित भइसकेको छैन ।’
What you should know
काठमाडौँ — नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भदौ २३ मा भएको जेनजी आन्दोलनको उद्देश्य उचित भए पनि परिणाम राम्रो नआएको निष्कर्ष निकालेको छ ।
महासचिव चन्दले कपिलवस्तुमा जारी केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै सुशासन, भ्रष्टाचारविरुद्ध सही उद्देश्य राखेर जेनजीले आन्दोलन गरे पनि त्यसको परिणाम सोचेजस्तो नआएको उल्लेख गरेका हुन् । उनले जेनजी आन्दोलनमा विदेशी शक्तिले चलखेल गरेको दाबी पनि गरेको एक केन्द्रीय सदस्यले बताए ।
‘जेनजी विद्रोह उचित भए पनि त्यसको परिणाम राम्रो भएन,’ प्रतिवेदनमा उद्धृत प्रसंग उल्लेख गर्नै ती नेताले भने, ‘जेनजीको आन्दोलनमा विदेशी शक्तिको चलखेल भयो । जसका कारण जेनजीको आन्दोलनले सही परिणाम निकाल्न सकेन ।’
चन्दले यही अवस्थामा घोषित मितिमा चुनाव हुन नसक्ने दाबी पनि गरेका छन् । उनले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारमाथि समेत प्रश्न उठाएको बैठकमा सहभागी एक नेताले बताए ।
माओवादी केन्द्रसँग पार्टी एकता हुनेमा चन्द विश्वस्त नभएको प्रतिवेदनमा लेखेका छन् । माओवादीसँग वार्ता भइरहे पनि परिणाम ननिस्किएको उनको भनाइ छ । बैठकमा बोल्ने १ सय २५ केन्द्रीय सदस्यमध्ये अधिकांशले चन्दकै नेतृत्वमा नयाँ कम्युनिस्ट केन्द्र बनाउनुपर्ने सुझाव दिएका छन् ।
‘अधिकांश केन्द्रीय सदस्यको महासचिव नेतृत्वमा कम्युनिस्ट ध्रुवीकरण वा नयाँ केन्द्र बनाउने सुझाव छ,’ एक केन्द्रीय सदस्यले भने ।
नेकपाले एक वर्षअघि माओवादीसँग एकता गर्ने निर्णय गरे पनि उक्त प्रक्रिया अघि बढ्न सकेको थिएन । माओवादीको पछिल्लो केन्द्रीय समितिले नेकपालगायत दलसँग एकता प्रक्रिया अघि बढाउने निर्णय गरी छलफल अघि बढाएको छ । नेकपा एकीकृत समाजवादीसँग एकताका लागि नजिक पुगे पनि पूर्वमाओवादी धार नेकपासँग भने खास प्रगति हुन सकेको छैन ।
बैठकमा राजनीतिक जागरणसहित उत्पादनमुखी कार्यक्रमलाई जोड दिएको छ ।
२०८१ पुसमा बसेको केन्द्रीय समिति बैठकले राजनीतिक अभियान र कृषि उत्पादनलाई सँगसँगै अघि बढाउने निर्णय गरेको थियो । नेकपाले कृषि उत्पादनमा आत्मनिर्भर हुने भन्दै ‘नयाँ आर्थिक मार्ग’ को नयाँ प्रस्ताव पनि पारित गरेको थियो ।
यसअघि सामूहिक रूपमा कृषि सहकारी, पशुपालन र गार्मेन्ट उद्योग सुरु गरेको नेकपाको केन्द्रीय समिति बैठकले कृषिमा उत्पादनको विशेष प्रस्ताव पारित गरेको थियो ।
महासचिव चन्दको राजनीतिक प्रस्तावमा आर्थिक उत्पादनको विषय प्रमुखताका साथ उठाइएको थियो ।
२०७७ फागुनमा शान्तिपूर्ण राजनीतिमा आएपछि नेकपाले कपिलवस्तुलगायत केही जिल्लामा भाडामा जग्गा लिएर सामूहिक खेती सुरु गर्दै आएको छ। त्यसअघि नेकपाले भूमिगत रहेर विद्रोहको अभ्यास गरे पनि असफल भएको थियो।
पार्टी, नेता–कार्यकर्तालाई आत्मनिर्भर बनाउने आर्थिक अभियान सोचेभन्दा प्रभावकारी र परिणाममुखी देखिएको नेकपाको दाबी थियो । उसले प्रचारात्मक रूपले मात्र नभई परिणामका दृष्टिले समेत अरूले अनुमान गर्ने स्तरभन्दा धेरै सफल भएको जनाएको छ। ‘यो समयमा पार्टीको पहिचान र प्रतिष्ठा नै उत्पादन बन्न पुगेको छ,’ चन्दले प्रतिवेदनमा भनेका छन्, ‘यो नेकपा र नेता-कार्यकर्ताका लागि सुखद अनुभूति हो।’
आर्थिक मोर्चाले राजनीतिलाई डोर्याउन उत्पादनमा जोड दिने महासचिव चन्दले बताएका थिए । ‘समयले आर्थिक मोर्चाबाट राजनीतिक कमान्ड गर्नुपर्ने आवश्यकता बनेको छ। क्रान्तिमा पैदा भएको उतारलाई चढावतिर, रक्षात्मकतालाई आक्रामकतातिर, पराजयलाई विजयतिर बढाउन अर्थ सम्बन्धमा नयाँ विकास अझै आवश्यक बनेको छ,’ चन्दको राजनीतिक प्रस्तावमा भनिएको छ, ‘नेकपाले यो बुझेर पनि आर्थिक विषयमा दीर्घकालिक महत्त्वका संश्लेषण गर्दै अगाडि बढिरहेको छ। परिणाम पनि सकारात्मक आइरहेका छन्।’
नेकपाले हिमाल, पहाड र तराईमा १ सय २० बिघामा धान, दाल, तेलजन्य तथा फलफूल खेती गर्दै आएको छ ।
