नेतृत्वमा युवालाई सहभागी गराउन प्रमुख दलमा दबाब

कांग्रेस, एमाले र माओवादीमा जेन–जी पुस्तालाई समेट्नुपर्ने र केन्द्रीय समितिमा युवालाई नेतृत्व तहमा स्थान दिनुपर्ने माग

आश्विन २८, २०८२

कुलचन्द्र न्यौपाने, गंगा बीसी

Pressure on major parties to involve youth in leadership

काठमाडौँ — जेन–जी आन्दोलनले ल्याएको राजनीतिक परिवर्तनपछि पुराना पार्टीमा युवाको सशक्त स्थान र नेतृत्वको माग गर्दै पुनःसंरचनाको आवाज उठेको छ । कांग्रेस, एमाले र माओवादीमा जेन–जी पुस्तालाई समेट्नुपर्ने र केन्द्रीय समितिमा युवालाई नेतृत्व तहमा स्थान दिनुपर्ने दबाब बढ्न थालेको हो ।

पार्टीका हरेक तह र संरचनामा कम्तीमा ४० प्रतिशत जेन–जी युवा प्रतिनिधित्व सुनिश्चित गराउन कांग्रेसमा ‘लबिइङ’ सुरु भएको छ । यसका लागि विधान संशोधनदेखि तत्काल पार्टी महाधिवेशनको आवाज चर्कंदै गएको छ । सातै प्रदेशबाट प्रतिनिधित्व हुने गरी २२ देखि २८ वर्ष उमेर समूहका १९ युवाले आइतबार संयुक्त विज्ञप्तिमार्फत युवा प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका छन् । 

विकल राई, साजन योञ्जन, विनोदराज जोशी, करुणा कटुवाल, श्रीकृष्ण भट्टराई, दिनेश चौधरी, मनोज पुरी, मञ्जु विश्वकर्मा, करिना पुरी, सिर्जना स्नेही, गौरव पाण्डे, मुना नेपाली, विजय पुन मगर, किरण तिवारी, नीलम कार्की, सन्तोष भण्डारी, आशा नामजाली मगर, दिपेन धिमाल र सुशील गोदारले सयुक्त वक्तव्यमार्फत कांग्रेस नेतृत्वलाई नौबुँदे सुझाव दिएका हुन् । 

उनीहरूले क्रियाशील सदस्यतादेखि पार्टीका कार्यकारिणी तहका हरेक संरचनामा युवा प्रतिनिधित्व बढाउनुपर्ने आवज उठाएका छन् । त्यसका लागि तत्काल विशेष वा नियमित महाधिवेशनमार्फत युवालाई प्रतिस्पर्धा गराउनुपर्ने उनीहरूको जोड छ । नेता उत्पादन गर्ने नर्सरीका रूपमा लिइएको नेविसंघलगायत भ्रातृसंस्थालाई पुनःसंरचना गरिनुपर्ने र आगामी २१ फागुनको निर्वाचनका लागि ‘भोट रेडी नेपाल’ अभियान चलाउनुपर्ने मागसमेत उनीहरूको छ । 

मंगलबारदेखि बस्ने कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अगाडि नेविसंघले ४० प्रतिशत युवा प्रतिनिधित्व सुनिश्चित गराउने माग राख्दै विधान संशोधन गर्न संस्थागत रूपमा माग गरेको छ । ‘पार्टीको क्रियाशील सदस्यतामा प्रतिनिधित्व संख्या केही भए पनि पार्टीका वडादेखि केन्द्रसम्मको संरचनामा युवाको प्रतिनिधित्व खासै छैन, जेन–जी आन्दोलनको माग सम्बोधन गर्न र आधुनिक पार्टी बनाउन युवाको प्रतिनिधित्व नबढाई सुखै छैन,’ नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले भने । 

क्रियाशील सदस्यतामा युवाको प्रवेश देखिए पनि कांग्रेसका सबै तहका नेतृत्वमा ५० वर्षभन्दा माथिका सदस्यको प्रभुत्व छ । कांग्रेसका करिब नौ लाख क्रियाशील सदस्यतामा १८ वर्षदेखि ४० वर्ष उमेर समूहका सदस्य करिब ३ लाख भएको अनुमान छ । त्यसमध्ये २५ वर्ष उमेर समूहका क्रियाशील सदस्यता करिब ५० हजारको हाराहारीमा मात्रै छ । जेन–जी आन्दोलनले उक्त पुस्ताको प्रतिनिधित्व अझै बढाउनुपर्ने दबाब बढेको छ । 

क्रियाशील सदस्य संख्यामा युवा प्रतिनिधित्व बढेमा मात्रै पार्टीका हरेक संरचनाको कार्यकारिणी तहमा पनि युवाको प्रवेश सुनिश्चित हुने आधार बन्छ । क्रियाशील सदस्य नै कांग्रेसका वडादेखि केन्द्रीय अधिवेशनसम्मका सुरुवाती मतदाता हुन् । क्रियाशील सदस्यताबाटै चुनिने प्रतिनिधिले १ सय ६५ निर्वाचन क्षेत्रबाट केन्द्रीय महाधिवेशनका लागि प्रत्येक क्षेत्रबाट २५ जनाका दरले (समावेशी क्लस्टरले कुनैमा २६ वा २७ सम्म) प्रतिनिधिहरू निर्वाचित गर्छन् । निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिहरूले नै केन्द्रीय नेतृत्वको चयन गर्छन् ।

नेविसंघका पूर्वअध्यक्षसमेत रहेका युवा नेता रञ्जित कर्णले विधानमै युवाको सहभागिता ५० प्रतिशत पुर्‍याउन वैधानिक व्यवस्था गरिनुपर्ने बताए । पार्टीको ‘एक्जिट पोलिसी’ नभएको र २०४८ सालदेखिकै अनुहारका नेताहरू पार्टीको नेतृत्व र पदाधिकारी तहमा हालीमुहाली गरेकाले पनि युवा कांग्रेसप्रति विकर्षण भइरहेको कर्णको भनाइ छ । ‘अहिलेका सभापतिदेखि सबैजसो पदाधिकारीसहितका केन्द्रीय नेताहरू नेविसंघको राजनीतिबाट उदाएका हुन् । त्यहीं नेता जन्माउने नर्सरी आज नेताहरूको स्वार्थले दस वर्षदेखि अधिवेशन हुन नसकी निकम्मा बनाइएको छ,’ उनले भने ।

हाल कांग्रेसको केन्द्रीय समितिमा ४० वर्ष वरिपरि उमेर समूहको एक प्रतिशत पनि छैन । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले जेन–जी आन्दोलनपछि युवालाई उचित स्थान दिनुपर्ने प्रतिबद्धता जनाएका छन् ।

यस्तै, एमालेको ३ सय १ केन्द्रीय कमिटीमा ४० वर्ष वरिपरिका करिब एक दर्जन मात्र केन्द्रीय सदस्य छन् । २०७८ मंसिरमा चितवनमा भएको १०औं महाधिवेशनबाट ४० वर्ष वरिपरि उमेर समूहका ईश्वरी घर्ती, कुमारी कमला बोहरा, उषाकिरण तिम्सेना, नविना लामा, रचना खड्का, सुनीता बराल, दीपा शर्मा, सञ्जीव झा, मञ्जु भण्डारी, किरण पौडेल, ज्वालाकुमारी साह, सीपी घर्ती, अरबिन्द सिंह चयन भएका थिए । त्यही उमेर समूहका महेश बर्तौला, युमना रोका मनोनीत भएका थिए । एमाले केन्द्रीय कमिटीमा ४० वर्ष वरिपरि उमेर समूहका करिब ४ प्रतिशत केन्द्रीय सदस्य छन् । 

एमाले केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले २०३५ मा नेकपा माले स्थापना गर्दा नेताहरू औसत २५ वर्ष भए पनि हालसम्म त्यही पुस्ता पार्टी नेतृत्वमा भएको बताए । उनका अनुसार मदन भण्डारी २०४६ मा एमालेको महासचिव हुँदा ३७ वर्ष, केपी शर्मा ओली २०५१ मा गृहमन्त्री हुनेबेला ४३ वर्ष, माधवकुमार नेपाल २०५० मा एमालेको महासचिव हुँदा ४१ वर्षका मात्र थिए । 

‘एमाले युवाले बनाएको पार्टी हो । तर युवालाई गतिलो विभागको प्रमुख हुन सक्नुहुन्छ र ? भनिन्छ,’ उनले भने, ‘हाम्रो नेतृत्वले ४० वर्षको वरिपरि हुँदा पार्टी र राज्य चलाइसक्नु भएको थियो । अब युवानेताको क्षमता परीक्षण गर्न अवसर दिनुपर्छ । नयाँ पुस्तालाई अवसर दिए पो क्षमता परीक्षण हुन पाउँछ ।’ उनले पार्टीमा ‘इन्ट्री’ को व्यवस्था भए पनि निकासको विधि नहुँदा युवाहरू कार्यकारी भूमिकामा आउन नसकेको बताए ।

एमालेको भदौ २० देखि २२ मा भएको विधान महाधिवेशनले दुई कार्यकालभन्दा बढी बस्न नपाइने, ७० वर्षे उमेर हद हटाएपछि युवालाई नेतृत्वमा आउने अवसर छेकेको थियो । हाल एमालेको पदाधिकारी तहमा ५० वर्षमाथिका नेताको बाहुल्य छ । पार्टीमा ६० वर्ष पार गरेका नेताको गोलचक्करमा घुमिरहेको छ । 

९ र १० असोजमा बसेको माओवादीको केन्द्रीय समितिले मंसिर अन्तिम साता महाधिवेशन गर्ने निर्णय गर्‍यो । बैठकमा युवालाई नेतृत्व तहमा स्थान दिन व्यापक माग भएपछि महाधिवेशनमा जेन–जी पुस्तालाई अनिवार्य उपस्थित गराउने निर्णय भयो । पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमै युवापुस्तालाई पार्टीका हरेक तहमा राख्ने लेखेका छन् । ‘महाधिवेशनमा जिल्ला र महाशाखाबाट १ हजार सदस्य बराबर एक जना प्रतिनिधित्व गर्ने र सदस्य संख्याका आधारमा प्रतिनिधि चयन गर्दा प्रतितीन जनामा एक जना महिला प्रतिनिधि, हरेक जिल्लाबाट एक जना दलित र एक जना युवाको प्रतिनिधित्व अनिवार्य गराउने’ माओवादीको निर्णयमा उल्लेख छ ।

‘जिल्ला र महाशाखाबाट थप एक/एक जना जेन–जी समूहको प्रतिनिधित्व रहनेछ । हरेक प्रदेशबाट सात जना महिला, दुई जना दलित र एक जना युवाको अनिवार्य प्रतिनिधित्व, गैरभौगोलिक दस जनामध्ये तीन जना महिला, एक जना दलित, एक जना युवा अनिवार्य हुनुपर्नेछ,’ माओवादीले जनाएको छ । माओवादी महाधिवेशन आयोजक समितिमा ६ सय ४८ केन्द्रीय सदस्य छन् । त्यसमध्ये २० प्र्रतिशत ४० वरिपरिका युवा भएको माओवादीले जनाएको छ । माओवादीको विधानमा २० प्रतिशत युवा राख्नुपर्ने प्रावधान छ । यसरी माओवादीमा ४० वर्ष वरिपरिका एक सय ३० नेता छन् । 

माओवादीमा ४० वर्ष वरिपरिका केन्द्रीय नेताहरूमा माधव सापकोटा, सुदन किराँती, अमनलाल मोदी, सरल सहयात्री, युवराज दुलाल, रञ्जित तामाङ, सुरेन्द्र बस्नेत, विजय गौतम, ओमविक्रम भाट, रेणु चन्द, कल्पना मियाँ, रहबर अन्सारी, इन्द्र आङबो, युवराज भट्टराई, युवराज चौंलागाइँ, अनिल शर्मा, डीपी ढकाल, गोपाल शर्मा, निर्मल आचार्य, सुबोध सिर्पाइली, रमेश धामी र पञ्चा सिंहलगायत छन् ।

 नेता माधव सापकोटाले आगामी महाधिवेशनबाट जेन–जीलगायत २० प्रतिशतभन्दा बढी युवा समेट्ने बताए । ‘अरू दलभन्दा माओवादीले युवालाई समेटेको छ । आगामी महाधिवेशनमा युवाको स्थान झन् बढ्ने निर्णय नै भइसकेको छ,’ उनले भने । अर्का केन्द्रीय सदस्य सुरेन्द्र बस्नेतले जेन–जी आन्दोलनपछि पार्टीहरूले युवाको भावना समेटेर पर्याप्त स्थान दिनुपर्ने बताए । ‘अब मुलुकको भविष्य युवाको हातमा भएकाले पार्टी संगठनमा युवा पुस्तालाई उचित भूमिका दिनुपर्छ,’ उनले थपे ।

अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य स्मृति तिमिल्सिनाको नेतृत्वमा ‘जेन–जी रेड फोर्स’ जिल्ला तहमा विस्तार भएको छ । ४० जिल्लामा शाखा रहेको भनिएको फोर्समा संगठनमा युवाको प्रतिनिधित्व दबाब दिन यो फोर्स गठन भएको भनिएको छ । 

२०७९ को निर्वाचनमा उदाएको रास्वपामा भने तुलनात्मक रूपमा युवा बाहुल्य छ । रास्वपा नेता सन्तोष परियारका अनुसार पार्टीभित्र ५० वर्षमाथिको नेतृत्व एकदमै कम रहेको बताए । उनले २५ देखि ४० वर्ष उमेर समूहका नेता तथा कार्यकर्ताहरूको बाहुल्य पार्टीमा रहेको बताए । विघटित संसद्मा रास्वपाबाट प्रतिनिधित्व हुने सांसद सविता गौतम सबैभन्दा कान्छी निर्वाचित सांसद हुन् । उनी २७ वर्षको उमेरमा नै निर्वाचित भएर संसद्मा पुगेकी थिइन् । ‘एक किसिमले हाम्रो पार्टी नै युवाको हो भन्दा हुन्छ,’ परियारले भने, ‘अझै युवापंक्तिको सहभागिता बढाउने अभियान हाम्रो चलिरहेको छ ।’

राप्रपामा पनि युवालाई केन्द्रीय नेतृत्वमा उचित स्थान दिएको प्रवक्ता मोहन श्रेष्ठले बताए । राप्रपाले पार्टीका सबै तहमा ४० वर्षमुनिमा युवा सहभागिता अनिवार्य गर्ने निर्णय गरिसकेको छ । राप्रपा केन्द्रीय समितिका २ सय ९९ सदस्यमा ४० वर्षमुनिका ५३ जना युवा छन् ।

कुलचन्द्र उनी कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदिय मामिला र दलहरुको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

गंगा

Link copied successfully