लोसपाबाट शिक्षा तथा संस्कृतिमन्त्री बनेकी रानी शर्माले पनि राजीनामा दिएकी छन्।
What you should know
जनकपुरधाम — मधेश प्रदेश सरकारबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पनि समर्थन फिर्ता लिएको छ । मुख्यमन्त्री सतिशकुमार सिंहको सरकार अल्पमतमा परेपछि अन्तिम समयमा अहिले लोसपाले पनि समर्थन फिर्ता लिएको हो । मंगलबार मुख्यमन्त्री सिंहले मधेश प्रदेशसभामा विश्वासको मत लिनेछन् । तर, सिंह नेतृत्वको मन्त्रिपरिषद्का सबै मन्त्रीले राजीनामा दिइसकेका छन् ।
यसअघि कांग्रेस, एमाले र मुख्यमन्त्री सिंहको पार्टी स्वयंले समर्थन फिर्ता लिई आफ्ना मन्त्रीलाई बोलाइसकेका छन् । लोसपाबाट शिक्षा तथा संस्कृतिमन्त्री बनेकी रानी शर्मा तिवारीले आज राजीनामा दिएकी छन् ।
लोसपा संसदीय दलका नेता जयनुल राइनले प्रदेशसभामा सरकारबाट समर्थन फिर्ता लिएको पत्र पठाउन लागेको जानकारी दिए । भोलि मुख्यमन्त्री सिंहलाई विश्वासको मत पनि नदिने उनले बताए । कांग्रेस नेतृत्वको बन्ने अगामी सरकारमा पनि नजाने उनको भनाइ छ । ‘हामी अगामी सरकारमा पनि जाँदैनौं । यो सरकारबाट पनि समर्थन फिर्ता लिँदै छौं,’ उनले भने, ‘आगामी सरकार हाम्रो नेतृत्वमा बन्यो भने हामी सरकारमा सहभागी हुन्छौं नभए प्रतिपक्षमै रहन्छौं ।’
गएको भदौ २४ गते आन्दोलन हुँदा मुख्यमन्त्री सिंहले फेसबुकमै राजीनामा दिएर पुनः पदमै बस्ने अडान लिएपछि सरकार परिवर्तनको विषय उठ्न थालेको थियो । मुख्यमन्त्री सिंहलाई आफ्नै पार्टीले भदौ २८ गते फिर्ता बोलाएको थियो । र, असोज २ गते मुख्यमन्त्रीलाई कारबाहीका लागि पार्टीमा सिफारिस गरिएको थियो । उक्त समय प्रदेशसभामा पनि जनमत पार्टी विपक्षीको डायसमा बसेको थियो । यही असोज पहिलो साता कांग्रेसले पनि मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको थियो । त्यसपछि एमालेले पनि सिंह नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिँदै कांग्रेसको नेतृत्वमा सरकार बनाउन दाबी पेस गरेको छ ।
मधेश प्रदेशसभामा १ सय ७ सदस्य छन् । हाल १ सय ५ जना सांसद छन् । लोसपाका अभिराम शर्मा र एमालेका दीपेन्द्र ठाकुर निलम्बित छन् । मधेश प्रदेशमा एमालेका २४ (एक निलम्बित), कांग्रेसका २२, जनता समाजवादी पार्टी, नेपालका १९, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका ९ (एक निलम्बित), एकीकृत समाजवादी पार्टीका ७ तथा राप्रपा, नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टीका १/१ जना प्रदेशसभा सदस्य छन् । कांग्रेसको नेतृत्वमा एमाले र जनमतले सरकार बनाउने तयारी गरेका छन् ।
नयाँ सरकार गठनका लागि ५४ मत आवश्यक पर्छ । तर, यी दलहरूले ५८ सांसदको समर्थन रहेको दाबी गर्दै आएका छन् । यी बाहेक दलहरूले सरकारमा जाने/नजाने तय गरिसकेका छैनन् ।
