ओलीलाई नेतृत्व छाड्न दबाब

छिट्टै एमालेको महाधिवेशन गरी नेतृत्व हस्तान्तरण गर्नुपर्ने र यसका लागि ओली तयार हुनुपर्ने नेताहरूको माग, कात्तिक पहिलो साता बस्ने केन्द्रीय कमिटी बैठकले महाधिवेशनबारे निर्णय गर्ने

आश्विन २६, २०८२

गंगा बीसी

Pressure on Oli to leave the leadership

What you should know

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व हस्तान्तरण गर्न दबाब परेको छ । जेन–जी आन्दोलनपछि दलहरूमा नेतृत्व हस्तान्तरणको दबाब बढिरहेका बेला ओलीले पनि पद छाड्नुपर्ने माग एमाले नेताहरूले गरेका हुन् । एमालेको कात्तिक पहिलो साता बस्ने केन्द्रीय कमिटी बैठकले महाधिवेशनबारे निर्णय गर्ने तयारी गरेको छ । 

भक्तपुरको गुन्डुमा शुक्रबार बसेको सचिवालय बैठकमा नेताहरूले छिट्टै महाधिवेशन गरी नेतृत्व हस्तान्तरण गर्नुपर्ने र यसका लागि ओली तयार हुनुपर्ने जनाएका थिए । बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डेले आगामी महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग गरे । उपाध्यक्षद्वय विष्णु पौडेल र रामबहादुर थापाले पनि जेन–जी आन्दोलनपछि पार्टी नेतृत्वप्रति नैतिक प्रश्न उठेकाले नयाँ ढंगले सोच्नुपर्ने धारणा राखेका थिए । 

वरिष्ठ उपाध्यक्ष पोखरेलले बदलिँदो अवस्थामा पार्टीलाई नयाँ ढंगले अघि बढाउन आवश्यक सबै क्षेत्रमा पुनर्गठन गर्नुपर्ने बताए । ‘पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्छ । नयाँ राजनीतिक परिस्थितिमा नेतृत्व पुनर्गठनको विषय छलफल गरेर टुंगोमा पुग्नुपर्छ,’ उनले बैठकमा भनेका थिए, ‘परिस्थिति नयाँ बन्यो, पुरानो सोचाइले अघि बढ्न सकिँदैन । हिजोको निर्णयले काम गर्न सक्दैन ।’ विचार, नेतृत्व, कार्यशैली पुनर्गठन गरेर मात्र पार्टी बलियो बनाउन सकिने उनले बताएका थिए । 

उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले लिखित धारणा राख्दै ७० वर्ष पुगेका नेताले विधिवत् रूपमा नेतृत्व छाड्नुपर्ने प्रस्ताव राखेका छन् । यस्तै, सामाजिक सञ्जाल बन्द गर्दा भएको प्रदर्शनमा तत्कालीन सरकारले युवालाई गोली चलाएर गम्भीर कमजोरी गरेको विषय पनि बैठकमा उठेको थियो । सोही कारण एमालेले सरकार छाड्नुपर्ने अवस्था आएकाले त्यसप्रति नेतृत्वले आत्मालोचना गर्दै नेतृत्व हस्तान्तरण गर्नुपर्ने नेताहरूको माग छ । 

‘आवश्यकता र बानी बनिसकेको सामाजिक सञ्जाल अचानक बन्द भयो । जनतामा असन्तुष्टि पैदा भयो । सडकमा आएका युवाको प्रहरीको गोलीबाट हत्या भयो’ उपाध्यक्ष ज्ञवालीले भने, ‘यसमा सरकार असफल भयो । आत्मालोचना गर्नुपर्‍यो । प्रधानमन्त्रीले छाड्नुपर्‍यो । त्यसपछि पार्टी नेतृत्वप्रति प्रश्न उठेको छ । पुराना नेताले बिदा लिनुपर्छ भनेर आवाज उठिसक्यो ।’

उपाध्यक्ष शाक्यले पार्टीभित्र र बाहिर नेतृत्व परिवर्तनको आवाज उठेकाले निकास निकाल्नुपर्ने बताइन् । ‘नेतृत्वको सम्मानपूर्वक बहिर्गमन हुनुपर्छ । पार्टीभित्रबाट सहज निकास दिनुपर्छ’ शाक्यको भनाइ थियो । विगतमा ओलीको पक्षमा उभिएका उपाध्यक्ष पौडेलले राजनीतिक परिस्थिति बदलिएको अवस्थामा पार्टी, नेतृत्व र संगठन पुनर्गठन गर्नुपर्ने बताएको एक नेताले बताए । ‘अब पार्टी पुनर्गठन गरेर मात्र समस्या समाधान गर्न सकिन्छ’ उनको भनाइ थियो ।

उपाध्यक्ष पाण्डेले एमालेले सरकारको नेतृत्व गरिरहेका बेला जेन–जी आन्दोलनको बलमा सत्ता छाड्नुपर्ने विषयको गम्भीर समीक्षा गर्नुपर्ने बताए । सरकार र पार्टी नेतृत्वबाट भएका कमीकमजोरी स्वीकार गर्दै पुनर्गठनको बाटोमा अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

उपाध्यक्ष गुरु बराल, महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली भने संकटका बेला नेतृत्वको रक्षा गर्नुपर्ने भन्दै ओलीको पक्षमा उभिएका थिए । बैठकपछि उपमहासचिव ज्ञवालीले महाधिवेशनले नेतृत्व र पुस्तान्तरणका विषयमा टुंगो लगाउने बताए । ‘बिस्तारै नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बाटोमा अघि बढ्नुपर्छ भन्ने कतिपय साथीको आवाज छ । त्यसलाई ध्यान दिएका छौं,’ उनले भने, ‘हामीले वर्षौं लगाएर स्थापना गरेको लिगेसी रक्षा गर्नुपर्नेछ । संकटका बेलामा नेतृत्वको प्रतिरक्षा गर्नुपर्नेछ भने जनता, पार्टी कार्यकर्ताको भावना समेट्नुपर्नेछ । महाधिवेशनसम्म पुग्दा यी सबै विषय सम्बोधन गर्नेछौं ।’

बैठकको सुरुमै ओलीले पार्टीलाई संकटबाट अघि बढाउन अझै आफ्नो आवश्यकता भएको धारणा राखेका थिए । यो भनाइले पनि ओली अझै नेतृत्व छाड्ने मनस्थितिमा पुगेका छैनन् भन्ने स्पष्ट पारेको छ । उनले स्वास्थ्यले साथ दिँदासम्म नेतृत्व नछाड्ने बताउँदै आएका छन् । शनिबार ओली अस्वस्थ भएका कारण सचिवालय बैठक स्थगित भएको छ । 

विगतमा पनि एमालेमा एउटै पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने र ७० वर्षे उमेर हद लगाउनुपर्ने माग भए पनि विधान महाधिवेशनमा उक्त प्रस्ताव असफल भएको थियो । ओलीको चाहनाअनुसार दुवै प्रावधान हटाइएको थियो । गत २०–२२ भदौमा ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनले ओलीलाई तेस्रो कार्यकाल पनि अध्यक्ष बन्न बाटो खुला गरेको थियो ।

गंगा बीसी

Link copied successfully