कांग्रेसका दुई महामन्त्रीको अडान : मंसिरभित्रै नियमित नसके विशेष महाधिवेशन 

केन्द्रीय कार्यसमितिको कार्यकाल नथप्ने पक्षमा महामन्त्रीहरू, संस्थापन पक्षले उठायो महाधिवेशनको विधि, प्रक्रिया र सहभागिताको प्रश्न

आश्विन २४, २०८२

कुलचन्द्र न्यौपाने

The stand of two Congress General Ministers: Special convention if not regular by November

What you should know

काठमाडौँ — कांग्रेसमा मंसिर मसान्तभित्र नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन बोलाउने भन्ने विवाद चर्कंदै गएको छ । पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार बोलाएको पदाधिकारी बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मंसिरभित्रै नियमित महाधिवेशनको प्रस्ताव गरेका छन् । संस्थापन पक्षका नेताहरूले भने मंसिरभित्रै नियमित महाधिवेशन गर्न सम्भव नभएकामा जोड दिएका छन् ।

सभापतिको मात्र होइन, म आफैं महामन्त्रीको पनि म्याद थप नहुने कुरा हो यो । यो कार्यसमितिको म्याद अब थपिन्न । त्यसपछि नियमित नभए विशेष महाधिवेशन हुन्छ ।- गगन थापा, महामन्त्रीआफैंले बोलाएको बैठकमा देउवा भने अनुपस्थित थिए । उपसभापति पूर्णबहादुर खड्काले स्वास्थ्यको कारण सभापति उपस्थित हुन नसकेको जानकारी गराएका थिए । खड्काले बैठक सुरु गर्नासाथ महामन्त्री थापाले नियमित महाधिवेशनको प्रस्ताव गरेका थिए । आफू केन्द्रीय कार्यसमितिको कार्यकाल थप गर्ने पक्षमा नभएको भन्दै उनले मंसिरभित्र नियमित नभएमा विशेष महाधिवेशन बोलाउने विकल्प रहेको बताए । त्यसलाई अर्का महामन्त्री शर्माले समर्थन जनाए ।

कांग्रेसको वर्तमान कार्यसमितिको म्याद थप्ने प्रस्ताव २६ असोजको केन्द्रीय समितिमा नलैजाने महामन्त्री थापाले बताए । ‘सभापति देउवाको मात्र होइन, म आफैं महामन्त्रीको पनि म्याद थप नहुने कुरा हो यो । यो कार्यसमितिको म्याद अब थपिन्न । त्यसपछि नियमित महाधिवेशन हुन्छ, नभए विशेष महाधिवेशन हुन्छ,’ उनले भने ।

महाधिवेशनका लागि प्रक्रियागत जटिलता भए विधानमा बाधा अड्काउ फुकाएर पनि गर्न सकिने तर्क महामन्त्रीहरूको छ । उनीहरूले विशेष महाधिवेशनका लागि ४० प्रतिशतभन्दा बढी प्रतिनिधिको हस्ताक्षरसमेत भइसकेको दाबीसमेत गरेका छन् । संस्थापन पक्षले विधि, प्रक्रिया र सहभागिताको कारण देखाएर मंसिरमै नियमित महाधिवेशन गराउन नचाहेको बुझाइ महामन्त्री थापा र शर्माको छ ।

The stand of two Congress General Ministers: Special convention if not regular by Novemberकांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी आइतबारदेखि सुरु हुँदै छ । उक्त बैठकमा भने आफ्नो उपस्थिति हुने जनाउ देउवाले दिएका छन् । पदाधिकारी र पूर्वपदाधिकारीसहितका शीर्ष नेता सम्मिलित बैठकमा संस्थापन पक्ष र इतर पक्षबीच विशेष महाधिवेशनका लागि हस्ताक्षरको गरिएको विषयमा आरोप/प्रत्यारोपसमेत चलेको थियो ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले नियमित महाधिवेशन गर्ने कुरामा कसैको विमति नभएको बताए । तर, मंसिरमै गर्न सकिन्छ कि सकिँदैन भन्नेमा मतभेद भएको उनको भनाइ छ । ‘व्यावहारिक रूपमा मंसिर मसान्तभित्रै गर्न सकिने अवस्था भयो भने अनावश्यक रूपमा लम्ब्याउनुपर्छ भनेका छैनौं’ महतले भने, ‘तर, महाधिवेशन गर्दा विधि, प्रक्रिया र सहभागिताको कुरा हुन्छ । जेन–जी आन्दोलनको माग सम्बोधन गर्न पनि युवापुस्ताको सहभागिताको कुरा छ । यी सबै कुरालाई हेरेर प्रश्न नउठ्ने गरी महाधिवेशन गर्नुपर्छ ।’

मंसिरभित्रै महाधिवेशन गर्न सकिन्छ भने अनावश्यक रूपमा लम्ब्याउनुपर्छ भनेका छैनौं तर जेनजी आन्दोलनलाई सम्बोधन गर्ने गरी र प्रश्न नउठ्ने गरी महाधिवेशन हुनुपर्छ । -प्रकाशशरण महत, प्रवक्तामंसिर मसान्तबाटै केन्द्रीय कार्यसमितिको चार वर्षको कार्यकाल सकिँदै छ । मंसिरमै नियमित महाधिवेशन नभएमा केन्द्रीय कार्यसमितिको कार्यकाल थप्नुपर्छ । महामन्त्रीहरूले कार्यकाल नथपेर महाधिवेशनमा जानुपर्ने अडानबाट पछि नहट्ने संकेत दिएका छन् । ‘विशेष महाधिवेशन मंसिर मसान्तभित्रै गर्न सकिन्छ । यसले सभापतिज्यूको बहिगर्मनलाई सहज बनाउँछ । नियमित महाधिवेशन गर्दा जेन–जी आन्दोलनले गरेको माग सम्बोधन गर्न विधानमा संशोधन गरी सबै तहमा युवाको सहभागिता बढाउन सकिछ,’ महामन्त्री शर्माले भने । नियमित महाधिवेशन गर्न नसके विशेष महाधिवेशन गर्नुको विकल्प नभएको उनको भनाइ थियो ।

The stand of two Congress General Ministers: Special convention if not regular by Novemberनेता शेखर कोइरालाले नियमित महाधिवेशनमा आफ्नो पुरानै अडान रहेको बताए । ‘मैले पहिल्यैदेखि समयमै नियमित महाधिवेशनको कुरा उठाउँदै आएको हुँ, अहिले पनि त्यसैमा अडिग छु’ उनले भने । संस्थापन पक्षका सहमहामन्त्रीद्वय उमाकान्त चौधरी र महेन्द्र यादवले भने नियमित महाधिवेशन गराउने जिम्मेवारीमा रहेका महामन्त्रीहरूले आफ्नो जिम्मेवारी पूरा नगरेर विशेष महाधिवेशनका लागि हस्ताक्षर गराउन लगाएको भन्दै विरोध गरेका थिए ।

सहमहामन्त्रीहरू जीवन परियार र बद्री पाण्डेले मंसिरभित्र नियमित महाधिवेशन नभए विशेष महाधिवेशन नै विकल्प हुने बताएका थिए । ‘नियमित महाधिवेशन पहिलो प्राथमिकता हो । तर, समय र परिस्थितिले नदिए विशेष महाधिवेशनबाहेक अरू के विकल्प हुन सक्छ ?’ उनीहरूको प्रश्न थियो ।

पूर्वउपसभापति विमलेन्द्र निधिले पनि विशेष महाधिवेशनमा नभएर पार्टीको सम्पूर्ण ध्यान निर्वाचनमा लैजानुपर्ने बताए । अब बस्ने केन्द्रीय कार्यसमितिको एजेन्डा निर्वाचन र निर्वाचनका लागि आवश्यक वातावरण निर्माण गर्ने दिशामा हुनुपर्ने उनको धारणा थियो । ‘पार्टी नेतृत्वको विषयमा शेरबहादुरजीले छोड्छु भन्नुभएकै छ । त्यसका लागि के बन्दबस्त गर्नुपर्छ गरौं । तर सिंगो पार्टीको ध्यान २१ फागुनको निर्वाचनतिर जानुपर्छ,’ उनले भने ।

नेता अर्जुननरसिंह केसीले ३७ जिल्लामा आगजनीबाट क्रियाशील सदस्यता कागजात जलेकाले नियमित महाधिवेशन गर्ने सम्भावना नभएको भन्दै विशेष महाधिवेशन गर्नुपर्ने दुई महामन्त्रीकै अडानलाई साथ दिए । ‘मंसिरमै नियमित महाधिवेशन गर्ने हो भने पुरानै क्रियाशील सदस्यताबाट वडा र क्षेत्रको अधिवेशन गरेर केन्द्रको महाधिवेशन गरिनुपर्छ । यो नगर्ने हो भने नियमित महाधिवेशन सम्भव छैन’ उनले भने । केसीले संसद् पुनःस्थापनाको मागमा कांग्रेस प्रवेश गर्न नहुने बताए ।

कुलचन्द्र उनी कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदिय मामिला र दलहरुको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully