राष्ट्रपति पौडेलको आह्वानमा कांग्रेस, एमाले, माओवादी केन्द्र र रास्वपाका नेताहरू आज शीतलनिवासमा भइरहेको सर्वदलीय छलफलमा सहभागी छन्।
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय छलफलमा प्रमुख राजनीतिक दलका दोस्रो तहका नेताहरू सहभागी भएका छन् । छलफलमा आगामी फागुन २१ मा घोषणा भएको निर्वाचन र आगामी राजनीतिक परिदृश्यबारे छलफल भइरहेको छ ।
बैठकमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसहित सबै मन्त्री सहभागी छन् । त्यसैगरी नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा (एमाले) बाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा (माओवादी केन्द्र) बाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचिव वर्षमान पुन सहभागी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यवाहक सभापति डीपी अर्याल र सहमहामन्त्री विपिनकुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिना लामा, नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव धनश्याम भुसाल सहभागी छन् ।
त्यस्तै जनता समाजवादी पार्टीबाट रेनु यादव, जनमत पार्टीबाट चन्द्रकान्त राउत र डा. जयकुमार राउत, लोकतान्त्रिक समाजवादी पार्टीबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी र नेपाल मजदुर किसान पार्टीबाट सुनिल प्रजापति सहभागी छन् ।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल भने सभागी छैनन् ।
राष्ट्रपति पौडेलले प्रमुख दलहरूबीचको समसामयिक राजनीतिक परामर्शका लागि आज साँझ शीतलनिवासमा सर्वदलीय छलफल बोलाएका हुन् ।
