ओलीले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनमा भएको दमन र हिंसाबारे छानबिन गर्न बनेको आयोग नमान्ने घोषणा गरेका छन् ।
What you should know
काठमाडौँ — एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गुन्डुमा बिहीबार आयोजित एक कार्यक्रममा दिएको अभिव्यक्तिबारे सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ । कार्यक्रममा उनले गरेका टिप्पणी असंयमित र देशलाई झन् हिंसातिर लैजाने खालको भएको भन्दै असन्तुष्टि व्यक्त भएका हुन् ।
ओलीले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनमा भएको दमन र हिंसाबारे छानबिन गर्न बनेको आयोग नमान्ने घोषणा गरेका छन् । उनले वर्तमान सरकार नेपालीको प्रतिनिधि नभएको आरोपसमेत लगाए । उनका यस्तै विवादास्पद अभिव्यक्तिले वर्तमान परिस्थितिलाई कस्तो असर पार्छ ? हामीले नागरिक समाजका अगुवाहरूसँग राय लिएका थियौँ । उनीहरूले व्यक्त गरेको राय यस्ता छन् :
'सोचेको कुरा सम्भव नदेखिएको परिणाम हो कि यो'
राजनीति गर्ने मान्छेले आफ्नो अस्तित्व र इच्छा निरन्तर होस् भन्ने चाहना राख्छ । यो स्वभाविक हो । ऊ फेरि सरकारमा र शक्तिमा आउन चाहन्छ । यस्तो भन्ने स्थिति किन आयो भन्नेचाहिँ चिन्ताजनक कुरा हो । हामीले परिवर्तन गरेर नयाँ किसिमको निकास हुन्छ भनेर सोचेका थियौँ । सोचेको कुरा सम्भव नदेखिएको परिणाम हो कि यो । उहाँहरूको आत्मविश्वास यही भएर बढ्दै गएको हो कि । अब सबै कुरा सामान्यीकरण हुन्छ । अबचाहिँ हाम्रै बोलवाला हुनुपर्छ भन्ने मनोविज्ञान यतिबेला प्रकट भएजस्तो लाग्छ । त्यस्तो प्रकट हुनु स्वाभाविक हो । यो दुई तीन हप्तामा गर्नुपर्ने कुरा थियो । तर केही पनि नगरेको परिणाम हो ।-अपूर्व खतिवडा, उपप्राध्यापक, त्रिवि
'यस्ता अभिव्यक्तिले निर्वाचनको वातावरण पनि धमिल्याउँछ'
सरकारमा आफू हुँदा ठीक अरु हुँदा सबै कुरा बेठिक भन्ने जुन पुरानो सोचबाट जसरी पहिला-पहिला दलहरू चल्थे । देशमा यति परिवर्तन हुँदा पनि सुधार नआएको उहाँको अभिव्यक्तिबाट देखिन्छ । उहाँले आयोगमाथि पनि विभिन्न खालका प्रश्नहरू उठाउनुभएको छ ।
सरकारले बनाएको आयोगमै गएर उहाँले आफ्नो कुरा राखेको भए हुन्थ्यो । सार्वजनिक टीकाटिप्पणी गर्ने कुराले जनतालाई निराश बनाउने, नकारात्मक हुने हुन्छ । यो सबै गतिविधिबाट जनता देश शान्त हुने भयो, सौहार्दपूर्ण वातावरणमा निर्वाचन हुने भयो भन्ने कुरामा विश्वस्त सक्दैनन् । यस्ता अभिव्यक्तिले निर्वाचनको वातावरण पनि धमिल्याउँछ । जेन-जी आन्दोलनको परिवर्तनलाई सबैले आत्मसात गरून् । आ–आफ्नो गल्ती रियलाइज गरुन् । त्यो गल्ती सुधार गरून् भन्ने सबैको सोच हो । त्यो गल्तीलाई रियलाइजेसन देखिएन । यो हाम्रा लागि दुर्भाग्य हो ।-राधिका खतिवडा, अधिवक्ता
'ओलीका थप कुराहरूमा टिप्पणी आफैंमा असान्दर्भिक भइसकेको छ'
ओलीको अयोग्यताले देशलाई जुन अवस्थामा ल्याइपुर्याएको छ, यो अवस्थामा ओलीका थप कुराहरूमा टिप्पणी आफैंमा असान्दर्भिक भइसकेको छ । देश यति संवेदनशील अवस्थामा छ कि, स–साना झिल्काहरूले सल्किने अवस्थामा छ । ओली जिम्मेवार हुन् भन्ने त लाग्दैन । जिम्मेवार पार्टी भन्ने गरिएको दलको नेताले जुन खालको अभिव्यक्ति दिइरहेका छन्, त्यसले समाजलाई बिगार्नेतिर लैजान्छ । ओलीका भाषण पहिले पनि मानिसहरूलाई अपमानित गराउने खालका हुन्थे । अहिले आफ्नो नेतृत्वकालमा भएका गल्तीमाथि क्षमायाचना देखिएको छैन । न जिम्मेवारीबोध देखिएको छ ।
देश कसरी द्वन्द्वतिर लैजाने भनेर अवसर कुरेर बसिरहेका मानिसहरू पनि छन् । त्यसलाई बल दिने गरी ज जसले यस्ता अभिव्यक्ति दिइरहेका छन् यसले झन् अशान्तितिर लैजान्छ । पहिले नै देशको आर्थिक वृद्धिदर ओरालोतिर लागेको छ । व्यवसायीहरू लगानी गर्न नसक्ने स्थितिमा छन् । यस्तो अवस्थामा नेताहरूले नयाँ पुस्तालाई जिम्मेवारी दिने हो कि झन् भुंग्रोमा हाल्ने हो ? ओलीमाथि लगाम लगाउने क्षमता अरु नेताले त कम से कम राख्नुपर्ने हो ।-यादव देवकोटा, लेखक
'ओलीका उत्तेजक भनाइ एमालेजनका लागि मात्र ऊर्जामय लाग्लान्'
यो देशमा पछिल्ला एक महिनामा जुन उथलपुथल भयो, त्यसको एउटा चित्र उनको मस्तिष्कमा फिट छ जस अनुसार यो सारा प्रकरणमा उनी एक पीडित मात्रै हुन्, कुनै पनि हिसाबले जिम्मेवार वा जवाफदेही हैनन् । यथार्थ र चिन्तनमा यति ठूलो अन्तर हुने अहिले सायदै अरु कोही नेपाली होला । ओलीजीको अरु पार्टीलाई प्रस्ट सन्देश छः सुध्रिने कुरा सोच्दै नसोच्नू, चुनावतिर पनि नलाग्नू । अहिलेको सरकारलाई जसरी हुन्छ फेल बनाएर पुरानो ओलीराज्य फर्काउनु ।
यो आह्वानको एउटा महत्त्वपूर्ण आयाम छः बरु विगतको पुनर्लेखन गरौं, आफ्नै महानता र बलिदानीको कथ्य स्थापित गरौं तर खुला दिलले भविष्यबारे सोच्ने र बदलिएको परिवेशमा समाजलाई कसरी अघि लैजाने भन्ने चिन्तन ठ्याम्मै नगरौं ।
जेन-जी अभियन्ता हौं भन्ने एउटा समूहको अराजकता छरपस्ट भइसकेको छ र त्यसले अहिलेको सरकारलाई धेरै अप्ठेरो पारिसकेको छ । त्यही अप्ठेरोलाई अझ गहिर्याएर सरकार ढलाउने अनि पुरानो साख र सत्ता फर्काउनेबाहेक अरु विकल्प छैन भन्नेमा ओली पुगेको देखिन्छ । एमालेमा व्यवहारतः केही अपवादबाहेक अरु कसैको मस्तिष्क नचल्ने अवस्थामा त्यो पार्टी अब त्यही रणनीतिमा अघि बढ्ने जोखिम छ ।
अबका लागि त्यो भनेको मुठभेडको बाटो हो । एमाले र सरकारबीच मुठभेड होलाजस्तो लाग्दैन किनकि अहिले सत्तामा हुनेहरू पार्टीका नेताहरूझैं त्यहाँ पुगेर बेसरी शक्ति र धन आर्जन गरौं भनेर त्यहाँ पुगेका छैनन् । जुन दिन लोकप्रिय वैधता सकिएको बोध हुन्छ, त्यही दिन सुशीलाजीको टिमले सत्ता छाड्नेछ र भयंकर राजनीतिक शून्यता सिर्जना हुनेछ देशमा ।
त्यो शून्यतामा जति स्वार्थ समूह हुन्छन्, ती सबैबीच भीषण भीडन्तमार्फत आफ्नो अधिपत्य स्थापना गर्नुको विकल्प रहने छैन । त्यस्तो मुठभेड भइहाल्यो भने भदौ २४ को महाविनाश अल्पविनाश लाग्नेछ । त्यो तबसम्म चल्नेछ जबसम्म देशको सेनाले संकटकाल लगाएर दमन सुरु गर्नेछ । त्यसपछि पनि देशमा अमनचयनको ग्यारेन्टी हुने छैन र वैदेशिक हस्तक्षेपको जोखिम यथार्थमा परिणत हुन सक्नेछ ।
धेरै देशहरूमा गृहयुद्ध सुरु हुने यसरी नै हो । जसले त्यसका लागि प्रज्वलनशील पदार्थ र आगोका झिल्काको जोहो गर्छन्, तिनलाई लाग्छः हामी यसो ज्यादती गरेर सत्ता हासिल गर्छौं अनि सब ठीक भइहाल्छ, अवस्थालाई काबुमा राख्न सकिहाल्छौं । तर त्यसो हुँदैन । आगो हुर्कन थालेपछि त्यसले कसैलाई छाड्दैन ।
तत्कालका लागि ओलीका उत्तेजक भनाइ र भावभंगिमा एमाले पंक्तिका लागि ऊर्जामय लाग्न सक्लान् । पार्टीलाई उनकै मार्गमा लागेर पुनर्जीवन दिन सकिएला कि भन्ने आश पनि लाग्ला । तर तपाईं हामी सबै जुन धरातलमा उभिएका छौं, त्यो आफैंमा ओलीको पुस्ताले सोचेको भन्दा धेरै पर सर्किसकेको छ । कसैको प्रतिकार र प्रतिशोधमा उत्रनु यसै पनि सबैभन्दा सजिलो काम हो ।-डा. जीवन क्षेत्री, लेखक/अभियन्ता
