महासचिव पोखरेलले सरकारको निर्वाचन तयारीमा दलहरूसँग संवाद नगरेको र संविधानअनुसार प्रक्रिया अघि नबढाएको आरोप लगाए।
What you should know
काठमाडौँ — नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकारले चुनाव गराउन चाहन्छ भन्नेको कुरा भ्रम मात्रै भएको बताएका छन् । बिहीबार भक्तपुरको गुन्डुमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले चुनावको वातावरण बनाउनका लागि कुनै पहलकदमी नलिएको जिकिर गरे ।
उनले सरकारले चुनाव गराउनका लागि राजनीतिक दलसँग कुरा–परामर्श नगरेको गुनासो समेत गरे । महासचिव पोखरेलले वर्तमान सरकार राजनीतिक दलहरूको परामर्श अनुसार नबनेको भन्दै आपत्ति समेत जनाए ।
उनले भने, ‘यो सरकार चुनाव गराउन चाहन्छ भन्ने कुरा पनि भ्रम मात्रै हो । किनकि सरकारले चुनावको वातावरण बनाउन कुनै प्रकारको पहलकदमी लिएको अनुभूति न नागरिकले गरेका छन्, न नेपालका राजनीतिक दलहरूले गरेका छन्, न नेपालका सुरक्षा अंगले नै सरकार शान्ति–सुरक्षाको सन्दर्भमा जिम्मेवार र प्रतिबद्ध छ भन्ने कुराको अनुभूति गर्न सकेका छन् । अर्कोतिर म तिमीहरूलाई सुनाउन चाहन्छु, २४ गतेको घटना पछि जब हाम्रो अध्यक्षले राजीनामा दिनुभयो, त्यसपछि निकासका सन्दर्भमा प्रमुख राजनीतिक दलहरू सबैले—चाहे नेकपा (एमाले)को कुरा गरौँ, चाहे नेपाली कांग्रेसको कुरा गरौँ, चाहे माओवादी केन्द्रको कुरा गरौँ—तीनवटै प्रमुख पार्टीहरूले के भने भने संविधानभित्रैबाट आन्दोलनकारीको मागलाई सम्बोधन गर्ने गरी प्रक्रिया अघि बढाउनुपर्छ, त्यसका लागि सहयोगी बन्न हामी तयार छौं । तर त्यो हाम्रो सदाशयतालाई उपेक्षा गर्ने काम भयो ।’
महासचिव पोखरेलले संविधानभित्रैबाट सरकार गठनका लागि प्रक्रिया अघि बढाउन प्रमुख राजनीतिक दलहरूले गरेको आग्रहलाई उपेक्षा गर्ने काम सह्य नहुने बताए ।
