कांग्रेसले भारी वर्षा र सम्भावित बाढीपहिरोको जोखिमसँग जुध्न सातबुँदे सतर्कता प्रस्ताव गरेको छ।
What you should know
काठमाडौँ — नेपाली कांग्रेसले भारी वर्षा र सम्भावित विपद्बाट बच्न सजगता अपनाउन आग्रह गरेको छ। शनिबार मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपणसँगै सरकार, राजनीतिक दल, स्वयंसेवक र सम्पूर्ण नागरिकलाई सजग रहन र विपद्को सामना गर्न तयारी गर्न अपिल गरेका हुन्।
विज्ञप्तिमार्फत् कांग्रेसले भारी वर्षा र सम्भावित बाढीपहिरोको जोखिमसँग जुध्न सातबुँदे सतर्कता प्रस्ताव गरेको छ।
पहिलो, दशैंको टीका लगाउन वा गन्तव्यमा फर्किन सडक यात्रामा रहेका लाखौं नागरिकलाई मौसमको प्रतिकूलताबारे प्रभावकारी रूपमा सूचित गर्नुपर्नेमा जोड दिइएको छ। दोस्रो, सरकार र सम्बद्ध निकायले जारी गर्ने सूचनाको अनिवार्य पालना गरी नागरिकलाई सुरक्षित रहन र अरूलाई सुसूचित गर्न आग्रह गरिएको छ।
तेस्रो, बाढीपहिरोको घोषित वा सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई केही दिनका लागि सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्थानीय तह र प्रशासनमार्फत तत्काल पहल गर्न सुझाव दिइएको छ। चौथो, भारी वर्षाले प्रभावित हुने अनुमान गरिएका पहाडी सडक मार्गहरू निश्चित अवधिका लागि अनिवार्य बन्द गर्नुपर्ने उल्लेख छ।
पाँचौं, सडक अवरुद्ध हुँदा यात्रु र स्थानीयलाई पर्ने कष्ट कम गर्न स्थानीय प्रशासन, सरकार, दल र स्वयंसेवकहरूले सहजीकरण गर्नुपर्नेमा जोड दिइएको छ। छैटौं, विपद्सँग जुध्न साधन, स्रोत र टोली तयारी अवस्थामा राखी तीन तहका सरकारको समन्वयमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने सुझाव छ। सातौं, सम्भावित जोखिम क्षेत्रमा अन्य कार्यलाई थाती राखी एकजुट भएर चुनौती सामना गर्न अपिल गरिएको छ।
