विशेष महाधिवेशनले पार्टीलाई झन् कमजोर बनाउँछ : प्रवक्ता महत

पार्टीभित्र बढ्दो असन्तुष्टि र गुटगत गतिविधि भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै अब बस्ने केन्द्रीय कार्यसमिति बैठकले यस्ता समस्याहरूको निदान खोज्ने उनको भनाइ छ।

आश्विन ११, २०८२

कान्तिपुर संवाददाता

Special convention makes party more weak: Spokesperson Mahat

काठमाडौँ — कांग्रेस प्रवक्ता प्रकाशशरण महतले विशेष महाधिवेशनले पार्टीलाई झन् कमजोर बनाउने भएकाले तत्कालै उक्त अभियानलाई रोक्नुपर्ने बताएका छन्।

उनले पार्टीभित्र बढ्दो असन्तुष्टि र गुटगत गतिविधि भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै अब बस्ने केन्द्रीय कार्यसमिति बैठकले यस्ता समस्याहरूको निदान खोज्ने बताए।

काठमाडौँ उपत्यकाभित्रका केन्द्रीय सदस्यहरूको भेला बोलाएका उनले सभापति शेरबहादुर देउवाले स्वास्थ्य लाभ गरेपछि अब यथासक्य चाँडो केन्द्रीय समिति बैठक बोलाउने तयारी रहेको बताए। उनले यसअघि नेपाल विद्यार्थी संघका पूर्व पदाधिकारी, कांग्रेस निकट बुद्धिजीवी र विभिन्न तहका नेताहरुसँग पनि छलफल गरेका थिए। 

महामन्त्री गगनकुमार थापा र अर्को महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाएपछि सभापति देउवा पक्षका नेताहरू प्रतिरक्षामा खटिएका छन्।

भेलामा महतले यतिबेला पार्टीलाई अनुशासन, एकता र सहकार्यतर्फ उन्मुख बनाउनुपर्ने धारणा राखेका थिए। 'पार्टीलाई केन्द्रदेखि गाउँसम्म बलियो संरचना बनाउने हो भने मात्रै लोकतान्त्रिक आन्दोलन सशक्त हुन्छ। गुटगत गतिविधि र असन्तुष्टिपूर्ण हस्ताक्षर अभियानले पार्टी कमजोर बनाउँछ, त्यसलाई निरुत्साहित गर्नुपर्छ,' उनको भनाइ छ। 

कान्तिपुर

Link copied successfully