घेराबन्दीबीच उनले विशेष महाधिवेशनको मागलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन्, जसलाई अर्का महामन्त्री विश्वप्रकाश शर्माको साथ र समर्थन छ। थापाको यो यात्राले कांग्रेसको भविष्यलाई कस्तो दिशा दिन्छ ?
काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगन थापा यतिबेला पार्टीभित्र र बाहिरबाट दोहोरो दबाबमा छन्। एकातिर, पार्टीको संस्थापन पक्षले उनलाई नेतृत्वविरुद्ध विद्रोह गरेको आरोपमा घेरेको छ भने अर्कोतिर समाज र कांग्रेसका शुभचिन्तकहरूले पुरानो संरचना भत्काएर नयाँ नेतृत्व स्थापित गर्न उनलाई दबाब दिइरहेका छन्। कतिपय शुभेच्छुकले त स्पष्ट रूपमा 'पुरानो पुस्तालाई भत्काएर अघि बढ, नभए नयाँ पार्टी बनाऊ' भन्ने दबाब दिएका छन्।
भदौ २४ मा प्रदर्शनकारीको आक्रमणपछि सभापति शेरबहादुर देउवा घाइते भएर अस्पतालको बेडमा रहँदा थापाले नेतृत्व परिवर्तनको कुरा उठाएको भन्दै संस्थापन पक्षले उनलाई निशाना बनाइरहेको छ। यही घेराबन्दीबीच उनले विशेष महाधिवेशनको मागलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन्, जसलाई अर्का महामन्त्री विश्वप्रकाश शर्माको साथ र समर्थन छ। थापाको यो यात्राले कांग्रेसको भविष्यलाई कस्तो दिशा दिन्छ ?
प्राध्यापक एवम् राजनीतिक विश्लेषक कृष्ण खनाल कांग्रेसको भविष्यका लागि दुई महामन्त्रीले अब पार्टी कब्जा गर्नुपर्ने बताउँछन्। अहिलेको नेतृत्वको निरन्तरताले कांग्रेस समाप्त हुने उनको ठम्याइ छ। 'त्यसैले गगन र विश्वले जुन कदम अघि बढाउन खोजिरहेका छन्, त्यो स्वाभाविक र गर्नुपर्ने काम हो। अब पनि देउवाले आफ्नो प्रतिरक्षा गर्नु भनेको कांग्रेसलाई समाप्त पार्नु हो,' खनालले भने, 'कांग्रेसको आफ्नै लामो इतिहास र पृष्ठभूमि छ। मुलुकको परिवर्तनका लागि ठूलो योगदान छ। लोकतन्त्रको विचार प्रवेश गराउने इतिहास बोकेको र अहिले पनि लोकतन्त्रको कुरा गर्दा भरोसा गरिने पार्टी यही हो। तर, देउवाले अब आफू रहँदारहँदै पार्टी समाप्त गर्ने कि, आफू पन्छिएर पार्टी जोगाउने यी दुई विकल्प मात्रै बाँकी छन्।'
थापाको राजनीतिक यात्रा सडक र समाजको संघर्षपूर्ण मुद्दाबाट सुरु भएको हो, नेताको चाकडी वा आशीर्वादबाट होइन। आन्दोलन र संघर्षको जगमा उभिएको उनको नेतृत्व शैलीले कांग्रेसभित्रको नयाँ पुस्तामा कसैप्रति आकर्षण छ भने उनी र अर्का महामन्त्री विश्वप्रकाश शर्माप्रति छ। तर, संस्थापन पक्षले उनलाई पार्टीको सुदृढताभन्दा व्यक्तिगत महत्वाकांक्षी नेताको रूपमा चित्रण गर्ने प्रयास गरिरहेको छ। पार्टीभित्र वैकल्पिक ध्रुव निर्माण गरेर विशेष महाधिवेशनमार्फत नेतृत्व लिने खोजिरहेको बुझाइ संस्थापन पक्षको छ।
संस्थापन पक्षले चित्रण गरेजस्तै महामन्त्री थापा विशेष महाधिवेशन आफू सभापति हुनकै लागि डाक्न खोजिरहेका हुन् त भन्ने प्रश्न पनि छ। तर, महामन्त्री थापा यस्तो प्रतिक्रिया अस्वीकार गर्छन्। पार्टी पुनर्गठन गरेर अहिलेको नेतृत्व, काम गर्ने शैली र सोच बदल्न आफू जस्तोसुकै मूल्य चुकाउन तयार भएर अघि सरेको बताउँछन्।
'गएका वर्ष र दशकहरूमा हामीले जसरी समाजलाई पार्टीकरण गर्यौं, आजको गुनासोको प्रमुख कारण त्यही हो। हाम्रो दल र सरकार सञ्चालनको तरिकाले भ्रष्टाचारलाई टेवा दिने काम गर्यौं। अहिलेको पुस्ताको ठूलो आक्रोश त्यसैमा छ। हामी त्यो मार्गबाट कसरी अलग रहन्छौं भन्ने संकल्प र विश्वास सृजना गर्नुपर्ने भएको छ,' थापाले कान्तिपुरसँग भने, 'कांग्रेसले अब सबै कुरालाई सुधार गरेर नयाँ सोच र शैली बदल्नुपर्छ, नेता बदल्नुपर्छ। त्यसो गर्ने थलो चाहिन्छ। त्यो विशेष महाधिवेशन वा नियमित महाधिवेशन जे भए पनि हुन्छ। त्यसका लागि मैले नेतृत्व खोजेको छैन। म साधारण सदस्य भएर बस्न तयार छु। भुइँमा बसेर काम गर्न तयार छु।'
त्यसो त गगन–विश्वले विगतमा पनि पहल र प्रयास नगरेका होइनन्। तर, ती सार्थक र परिणाममुखी भएनन्। जेनजी आन्दोलनले ल्याएको परिवर्तनपछि कांग्रेसलाई पुनर्गठन र रूपान्तरण गर्ने अवसर फेरि यी दुई नेताको हातमा आएको अर्का विश्लेषक गेजा शर्मा वाग्ले बताउँछन्।
'यो गगन–विश्व पुस्ताका लागि अन्तिम परीक्षा हो। अब गगन–विश्वलाई विगतमा जस्तो असफल हुने छुट छैन। यदि यसपटक पनि असफल भए भने उनीहरूले अर्को परीक्षाको अवसर पाउने छैनन्,' वाग्ले भन्छन्, 'शेखर कोइराला र महामन्त्रीको भावी रणनीति अब विशेष महाधिवेशन र नयाँ नेतृत्व चयनमा केन्द्रित हुनेछ। यसपछि पार्टी र बहुसंख्यक कांग्रेसको धारणा उनीहरूले लिएको नीति र विचारमा केन्द्रित हुनेछ।'
पार्टी र सरकार सञ्चालनका बेथितिमाथि महामन्त्री थापा र शर्माले संसद् र सडकमा धेरै बोले। यसैकारण पार्टीभित्रै उनीहरूलाई ‘सदाबहार प्रतिपक्षी’ देखि सामाजिक सञ्जालको नेताको उपमा पनि दिइयो। राजनीतिक मञ्चहरूमा बोल्दा उनीहरू सधैं भन्थे, 'शेरबहादुर देउवा, केपी ओली, पुष्पकमल दाहालले विश्राम लिए भने नेपालको राजनीतिको धेरै समस्या हल हुन्छ।' १३औं महाधिवेशनदेखि नै पार्टीभित्र अहिलेको नेतृत्व विस्थापित गर्ने एजेन्डा लिएर आएका थिए। शर्माले २०७९ को निर्वाचनदेखि नै देउवा कुनै हालतमा प्रधानमन्त्री बन्नु हुँदैन भनेर सार्वजनिक मञ्चमा खुला रूपमा भन्दै आए। यी दुई महामन्त्रीका विचार र धारणाहरू राजनीतिक फाँटमा बहसको विषय मात्रै भए, कहिल्यै निर्णायक हुन सकेनन्। संस्थापनको प्रतिरोध, संगठनको कमजोरी र संख्याको अभावले पार्टीभित्र उनीहरूको हस्तक्षेपकारी भूमिका सफल हुन सकेन। भदौ २३ र २४ को जेन–जीको अगुवाईमा भएको आन्दोलन र त्यसपछिको प्रदर्शनले संख्याको नियम बदलेसँगै उनीहरूले अब पछि नफर्कने गरी रूपान्तरणका लागि अघि सरेको उद्घोष गरेका छन्।
'भदौ २३ र २४ मा जे भयो, ती सबै कुराको गुनासो हामीसँगै छ। अपेक्षा पनि छ। त्यसलाई सम्बोधन गरेर नयाँ यात्रा सुरु गर्छौं भन्नुपर्ने हो भने त्यो प्लेटफर्म कहाँ छ? नयाँ महाधिवेशन सृजना गर्न सकिन्छ, गरौं। विशेष महाधिवेशन बोलाउन सकिन्छ, बोलाऔं,' थापा भन्छन्, 'यो असफलतामा शेरबहादुर देउवा मात्रै जिम्मेवार छैनन्। हामी सबै असफल भयौं। अब यही नेतृत्वको निरन्तरता धेरै समय राख्नुहुन्न। नयाँ नेतृत्व चयन गरेर जानुपर्छ, मेरो अहिलेको छटपटाहट यसैमा हो।'
दुई महामन्त्रीप्रति संस्थापन पक्षीय नेताहरूले प्रश्नैप्रश्न तेर्साएका छन्। भदौ १९, २० गतेसम्म शेरबहादुर देउवालाई नै भावी प्रधानमन्त्री भनेर पार्टी बैठक र सार्वजनिक मञ्चमा भन्ने, तर भदौ २३, २४ पछि एकैचोटि यो नेतृत्व काम छैन भनेर अस्पतालबाट फर्कन नपाउँदै हटाउन खोज्ने? पार्टी महाधिवेशन गराउने मुख्य जिम्मेवारीमा रहेका महामन्त्रीहरूले अधिवेशनको तयारी नगर्ने र आफैं विशेष महाधिवेशन बोलाउन हस्ताक्षर गर्ने? सांघातिक आक्रमणबाट घाइते भएका सभापति अस्पतालको बेडबाट फर्कन नपाउँदै विशेष महाधिवेशनको कुरा गरेर असंवेदनशील हुने? नयाँ राजनीतिक घटनाक्रमपछि पार्टीलाई एकढिक्का बनाएर देशभरका कार्यकर्ताको मनोबल उच्च बनाउनुपर्नेमा पार्टीभित्र विवाद र विभाजन बढाउने काम गर्ने? यस्ता प्रश्नहरूको वर्षा थापा र शर्मामाथि भइरहेका छन्। तर, यी सबै प्रश्नको साझा जवाफ दिँदै थापा भन्छन्, 'भदौ २३ र २४ अघिको नेपाल र पछिको नेपाल एउटै होइन। हिजो जे थियो, त्यसरी नै चल्छ भन्ने स्थिति भदौ २३ र २४ पछिको अवस्था होइन। अब त्यसरी चल्दैन, चल्न दिइन्न। हामीले सभापतिलाई यी कुराहरू गरौं भनेर सोधेरै भनेका हौं। असंवेदनशील भएको होइन। तर एउटा कुरा पक्कै हो, सकेसम्म मनाउने हो, फकाउने हो। मान्नुभएन, फर्किनुभएन भने त्यसको आधारमा हात उठाउने होइन, अगाडि बढ्ने हो। त्यसबाहेक अर्को बाटो हामीसँग छैन।'
प्राध्यापक खनालले २००८ सालमा कांग्रेसले मातृकाप्रसाद कोइरालालाई कसरी हटाएको थियो भन्ने कुरा कांग्रेसका दुई महामन्त्रीले सम्झे पुग्ने बताउँछन्। 'बाहालवाला प्रधानमन्त्री, पार्टी सभापति, आन्दोलन र क्रान्तिको नायक, त्यसमा भारत र नेहरूको नजिकको साथ। यदि हुँदाहुँदै पनि मातृकालाई पन्छाएर कांग्रेस अघि बढ्यो, यो इतिहास दुई महामन्त्रीले सम्झे मात्रै पुग्छ,' खनाल भन्छन्, 'देउवालाई अब तपाईं पार्टी सभापति रहनुभएन भनेर फाल्नुपर्छ। महाधिवेशनसम्मका लागि कार्यवाहक दिने विकल्प छ। त्यो पनि मान्नुभएन भने जेन–जी आन्दोलनले दुई दलको सत्ता फालेझैं फाल्नुपर्छ।'
अर्का विश्लेषक वाग्ले असफलताको नैतिक जिम्मेवारी लिँदै अविलम्ब राजीनामा दिनु नै उचित हुने बताउँछन्। अब हुने विशेष महाधिवेशनले युवा पुस्तालेसमेत विश्वास गरेको लोकप्रिय, भिजनरी र स्वच्छ छवि भएको नेतृत्व छनोट हुने विश्वास उनको छ। 'अब बोलाउन खोजिएको विशेष महाधिवेशन केवल नयाँ नेतृत्व मात्रै होइन, परिवर्तित परिवेशमा पार्टीलाई मौलिक रूपमा पुनर्गठन गरी जनताको आकांक्षा अनुसार नयाँ सिद्धान्त, विचार र नीति अंगीकार गर्नुपनि हो,' उनले भने, 'हालसम्म अंगिकार गर्दै आएको सिद्धान्त र विचार पनि समयानुकूल परिमार्जन, व्याख्या र पुनर्व्याख्या गर्नु कांग्रेसमा अपरिहार्य छ।' उनले गगन र विश्वले राजनीतिक जोखिम लिएर पनि पार्टी बनाउने दिशामा अघि बढेको आभास भएको बताए।
खासगरी महामन्त्री थापाको राजनीति अहिले निर्णायक मोडमा छ। घेराबन्दी र दबाबबीच उनले पार्टीलाई नयाँ बाटोतर्फ धकेल्छन् वा वैकल्पिक बाटो रोज्छन् भन्ने प्रश्नको जवाफ दिनुपर्ने स्थिति बनेको छ। पार्टी सुधारको उनको प्रस्तावले सफलतापूर्वक संगठनलाई दिशा दिन सक्छ वा असफल भएमा उनलाई नयाँ राजनीतिक प्रयोगतर्फ धकेल्न सक्छ त? विश्लेषक खनाल भन्छन्, 'पार्टीको सान्दर्भिकता जोगाउन जस्तोसुकै जोखिम पनि मोल्नुपर्छ। देउवाले मानेनन् भने जोखिम लिएरै हटाउनुपर्छ। बल पुगे बहुमतले हटाउने हो, नपुगे जेनजी आन्दोलनबाट जसरी दुई दलको सत्ता हटाइयो, त्यसैगरी हटाउनुपर्छ।'
