‘गगन–विश्वले पार्टी कब्जा गर्न जोखिम लिनुपर्छ’ [अन्तर्वार्ता]

'विद्रोह गर्ने हो। यसो गर्दा सुरुमा समानान्तर कांग्रेस बनाएजस्तो लाग्छ। तर, पल्ला भारी गगन र विश्वकै हुन्छ। चित्त नबुझ्नेहरू देउवासँगै सती जान्छन्।'

आश्विन १०, २०८२

कान्तिपुर संवाददाता

Gagan-Vishwa must take risks to capture the party [Interview]

काठमाडौँ — प्रदर्शनकारीको आक्रमणपछि सभापति शेरबहादुर देउवा घाइते भएर अस्पतालको बेडमा रहँदा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेतृत्व परिवर्तनको कुरा उठाएको भन्दै संस्थापन पक्षले उनलाई निशाना बनाइरहेको छ। यही घेराबन्दीबीच उनले विशेष महाधिवेशनको मागलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन्, जसलाई अर्का महामन्त्री विश्वप्रकाश शर्माको साथ र समर्थन छ।

थापाको यो यात्राले कांग्रेसको भविष्यलाई कस्तो दिशा दिन्छ ? यसै विषयमा केन्द्रित भएर राजनीतिक विश्लेषक प्रा. कृष्ण खनालसँग कुलचन्द्र न्यौपानेले गरेको कुराकानी :

कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टी रूपान्तरणका लागि विशेष महाधिवेशनको जुन मुद्दा अघि सारिरहेका छन्, यसलाई कसरी हेर्नुभएको छ?

जेनजी आन्दोलन अहिलेका राजनीतिक दलका नेतृत्वप्रतिको एक खालको विस्फोटन नै हो। भित्र जेजस्तो खेल भए पनि यहाँसम्म आइपुग्दा प्रणाली नै ध्वस्त बनाउने भएन। नेतृत्व मात्रै काम नलाग्ने भनेर प्रणालीलाई जोगाउने काम भयो। यो विद्रोह काठमाडौंमा मात्रै होइन, देशभर भयो। यो भनेको राजनीतिक दलका पुरानो नेतृत्वविरुद्ध देशभर प्रकट भएको विद्रोह हो। आफ्नो अलोकप्रियता चरमचुलीमा पुगेको पनि थाहा नपाउने नेताहरू कस्ता? यो विषम परिस्थितिमा पनि आफ्नो प्रतिरक्षामा लाग्ने शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल नेतृत्व बस्नु भनेको राजनीतिक दल समाप्त हुनु हो। कांग्रेसकै कुरा गर्दा, देउवासहितको कांग्रेस अब रहँदैन, समाप्त हुन्छ। कांग्रेसको आफ्नै लामो इतिहास र पृष्ठभूमि छ। मुलुकको परिवर्तनका लागि ठूलो नेतृत्व लिएको छ। नयाँ लोकतन्त्रको विचार प्रवेश गराउने इतिहास बोकेको र अहिले पनि लोकतन्त्रको कुरा गर्दा भरोसा गरिने पार्टी यही छ। अब देउवाले आफू रहँदारहँदै पार्टी समाप्त गर्ने कि, आफू पन्छिएर पार्टी जोगाउने, यी दुई विकल्प छन्।

यी दुई विकल्पमा अब कांग्रेसका महामन्त्रीहरूको भूमिका के हुन्छ र कति निर्णायक हुन सक्छन् भन्ने लाग्छ?

गगन र विश्वले मिलेर अहिले जुन सामूहिक पहल गरेका छन्, यो गर्नुपर्ने काम हो।

तर, पार्टीको संरचनामा देउवालाई तत्काल हटाउन त उनीहरूको संख्या छैन नि?

गगन र विश्वले पनि निर्णायक रूपमा, आवश्यक पर्दा जोखिम मोल्न सक्नुपर्छ। खाली पार्टीभित्रको प्राविधिक संरचनाको मात्रै कुरा गरेर हुँदैन। जोखिम मोल्न सक्नुपर्छ। २००८ सालमा कांग्रेसले मातृकाप्रसाद कोइरालालाई कसरी निकाल्यो? कांग्रेसको आफ्नै इतिहास छ। बाहालवाला प्रधानमन्त्री, पार्टी सभापति, आन्दोलन र क्रान्तिको नायक, भारत र नेहरूको साथ थियो, तर कांग्रेसले मातृकालाई कसरी पन्छाएर अघि बढ्यो? अहिले देउवालाई पन्छाउन कांग्रेसका दुई महामन्त्रीले त्यही इतिहास सम्झे पुग्छ। देउवालाई अब तपाईं पार्टी सभापति हुनुहुन्न भनेर फाल्नुपर्छ। उहाँले चाहनुहुन्छ भने महाधिवेशनसम्मका लागि कसैलाई कार्यवाहक दिन सक्नुहुन्छ। एउटा विकल्प अझै हुन सक्छ। होइन, यो विकल्पमा तयार नहुने हो भने जबरजस्ती बिदा गर्नुपर्छ। जेनजी आन्दोलनले अहिलेको सत्तालाई जबरजस्ती बिदा गर्‍यो। यो भनेको कांग्रेसका देउवा र एमालेका अध्यक्ष ओलीलाई बिदा गरेको हो। अहिले पार्टीको नेतृत्व छोड्न मान्दैनन् भने त्यसरी नै बिदा गर्नुपर्छ।

पार्टी सभापतिलाई विस्थापित गर्न पनि त लोकतान्त्रिक पार्टीले कुनै विधि र प्रक्रियाको आवश्यकता पर्छ होला नि?

पार्टीमा केही विधि, विधान आवश्यक हुन्छन्। त्यहाँ चालिस प्रतिशत पुग्यो, पुगेन भन्ने कुरा होइन। दुई महामन्त्री छन्। त्यत्रो लोकप्रिय मत ल्याएका महामन्त्रीहरूले अब पार्टी हामी हाँक्छौं भनेर कब्जा गर्ने हो। देउवाले सहयोग गर्नुभएन, छोड्नुभएन भने पार्टी जोगाउने हो भने जबरजस्ती भए पनि निकाल्नुपर्छ। अहिलेको स्थिति निकै विचारणीय छ। पहिलो त, तोकिएको समयमा चुनाव हुन्छ कि हुँदैन भन्ने प्रश्न छ। अर्को, यही हालतमा कांग्रेस चुनावमा जाने हो भने ३० वर्षमुनिका कसैले पनि कांग्रेस र एमालेलाई भोट दिँदैनन्। कांग्रेसका लागि शून्य अवस्थामा पुग्छ। नयाँ मतदाता बढ्ने, पुराना मतदाता घट्ने अवस्थामा कांग्रेसलाई भोट आउँदैन। यो भनेको कांग्रेस सिद्धिने बाटो हो। कांग्रेसमा अझै पनि गगन र विश्वप्रति ठूलो आशा छ। बाटो, घाटो र सभा–सम्मेलनमा यिनीहरूप्रति आश राखेर कुरा गरेको सुन्छु। गगन आयो भने अलिकति हुन्छ कि भन्ने छ। उनीहरूप्रति जनमत पनि छ।

समाजको एउटा तप्का, पार्टीको युवा पुस्ता गगन र विश्वप्रति आशा राखेको छ, तर पार्टीको संरचनामा बलियो रहेको संस्थापन पक्ष अहिले उनीहरूकै विरुद्धमा घेराबन्दीमा छ। यो अवस्थामा गगन र विश्व कसरी अघि बढ्न सक्छन् जस्तो लाग्छ?

विद्रोह गर्ने हो। यसो गर्दा सुरुमा समानान्तर कांग्रेस बनाएजस्तो लाग्छ। तर, पल्ला भारी गगन र विश्वकै हुन्छ। चित्त नबुझ्नेहरू देउवासँगै सती जान्छन्।

भनेको समानान्तर कांग्रेस बनाउनेसम्मको जोखिम लिनुपर्छ भन्नुभएको हो?

देउवाले मानेनन् भन्दै जोखिम लिनुपर्छ। समानान्तर नै बनाउनुपर्छ भन्ने मेरो कुरा होइन। कांग्रेसको आफ्नै इतिहास छ। २००८ सालमा मातृका कोइरालालाई हटाएर बीपीले समानान्तर कांग्रेस बनाएको होइन नि। समानान्तर त देउवा समूहले बनाउने हो। बल पुगे बहुमतले हटाउने हो, बल पुगेन भने दाबी गरेर जाने हो। महाधिवेशनमा पुग्दा देउवा आफैं अल्पमतमा पुग्छन्। तर, दाबी गरेर जानुपर्छ। जोखिम लिनुपर्छ। दुई महामन्त्री मिलेपछि त पार्टी कब्जा गरेर अघि बढ्ने हो।

कान्तिपुर संवाददाता

Link copied successfully